उद्योग सचिवले ढाँटिन्, एक महिनामा पुग्दैन सेजमा विजुली




काठमाडौं । नेपाल आर्थिक पत्रकार समाजले बुधबार राजधानीमा आयोजना गरेको ‘औद्योगिक नीति र व्यापार प्रवद्र्धन’ विषयक अन्तरक्रियामा बोल्दै उद्योग सचिव यामकुमार खतिवडाले अबको एक महिना भित्र भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा विद्युत् उपलब्ध हुने बताएकी थिइन् ।

उनले अन्य सबै काम सकिएको र विद्युत् उपलब्ध भएपछि आर्थिक क्षेत्र सञ्चालनमा आउने दावी समेत गरेकी थिइन् । निर्वाचनको समयमा राजनीतिक दलका नेताले जसरी भाषण गरेकी सचिवको सूचना कहितसम्म हावादारी रहेछ भन्ने पुस्टि भएको छ ।

उनले भनेकी थिइन् ‘दुई महिना भित्रमा नेपाल विद्युत् प्राधिकरणले विजुली दिन्छौ भनेका छन् । एक महिना बितीसक्यो, अब एक महिनामा विजुली पुग्छ ।’

तर, प्राधिकरणका अधिकारीले भने एक महिना भित्र सेजमा विद्युत् उपलब्ध गराउन नसकिने प्रतिक्रिया दिएका छन् । स्थानीय जोगीकुटीदेखि धकधही सवस्टेशनको बीचको क्षेत्रमा पर्ने वनवाटिका सामुदायिक वन क्षेत्रको करिब ५ किलोमिटर क्षेत्रमा प्रसारण लाइन तान्ने काममा स्थानीयबासीले अवरोध गरेका छन् । वन क्षेत्रको जग्गा प्रयोग गर्ने विषयमा स्थानीयबासी र प्राधिकरणबीच समस्या समाधानको पहल भए पनि कुनै निष्कर्ष भने निस्कन सकेको छैन ।

तत्कालीन उद्योग मन्त्री महेश बस्नेत, सोमप्रसाद पाण्डे र नविन्द्रराज जोशीले पालैपालो सेजको उद्घाटन गरेका थिए । उनीहरुले सेज चाँडै सञ्चालनमा आउने समेत बताएका थिए । तर हालसम्म सेज सञ्चालनमा आउन सकेको छैन ।

प्राधिकरणको बुटवल क्षेत्रीय कार्यालयका प्रमुख सुरेश क्षेत्रीले आगामी एक महिनाभित्र सेजमा विद्युत् उपलब्ध गराउन प्राविधिक रुपमा कठिनाई भएको बताए ।

उनले भने ‘हामी प्रयासरत छौं, तर १ महिनामा बिजुली दिन भने सकिदैन । त्यसका लागि कम्तिमा पनि ३ महिना समय लाग्छ ।’

यस्तै सेज भित्र प्राधिकरणले सवस्टेशन बनाउने काम समेत सुरु भएको छैन । सवस्टेशन नभएपनि सोझै ३३ केभी क्षमताको प्रसारण लाइन मार्फत सोझै बिजुली दिन भने सकिन्छ । तर, वन क्षेत्रमा देखिएको विवाद समाधान गर्दै प्रसारण लाइन निर्माण र पोल ठड्याउने काम गर्नै साँढे दुई महिना भन्दा बढी समय लाग्ने क्षेत्रीको भनाइ छ ।

सेज परियोजनामा प्राधिकरण र एसियाली विकास बैंकले काम गरिरहेका छन् । तर, उद्योग सचिव खतिवडाले कसरी र कुन आधारमा एक महिना भित्र विद्युत् उपलब्ध हुन्छ भनेर प्रतिक्रिया दिइन्, त्यसको बारेमा भने प्राधिकरणका बुटवल क्षेत्रीय कार्यालयका प्रमुख क्षेत्री भने अनविज्ञ छन् ।

उनी काम भइरहेको भएपनि एकै महिनामा सबै काम पूरा हुन्छ भन्ने अवस्था नभएकाले गलत सन्देश जाने गरी जिम्मेवार निकायबाटै प्रतिक्रिया आउनु भने स्वभाविक नभएको बताउँछन् ।

संरचना खडा गर्ने विषय प्राविधिक र व्वहारिक रुपमा समेत मिलाउनुपर्ने भएकाले त्यसमा आफूहरु क्रियाशील रहेको र सेजलाई विद्युत् उपलब्ध गराउन आतुर समेत रहेको प्रमुख क्षेत्रीको भनाइ छ ।

वन क्षेत्रमा देखिएको विवाद समाधान नभईकन यसै हुन्छ भनेर भन्न सकिने अवस्था नभएको र समस्या समाधानका लागि स्थानीय जनप्रतिनिधिसहित छलफल जारी रहेको उनको भनाइ छ ।

सरकारले औद्योगिक वातावरण बनाउने भन्दै भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) को अवधारणा अगाडि सारेको हो । सरकार बदलिएपछि नियुक्त हुने उद्योग मन्त्रीले पालैपालो सेजको उद्घाटन गर्ने र प्रचार गराउने गरेको भएपनि काम हुने देखिने गरी भएको छैन । तत्कालीन उद्योग मन्त्री महेश बस्नेत, सोमप्रसाद पाण्डे र नविन्द्रराज जोशीले पालैपालो सेजको उद्घाटन गरेका थिए । उनीहरुले सेज चाँडै सञ्चालनमा आउने समेत बताएका थिए । तर हालसम्म सेज सञ्चालनमा आउन सकेको छैन ।


क्लिकमान्डु