गुडभेली उद्योगबाटै कमाउँछन मासिक ५० हजार रुपैयाँ
कञ्चनपुर । जग्गा भाडामा लिएर कञ्चनपुरको देखतभूली– ६ का सोमविर चौधरीले गुडभेली उत्पादन गरी मासिक ५० हजार रुपैयाँ भन्दाबढी आम्दानी लिँदै आएका छन् ।
चार वर्ष अघि तीन लाख ५० हजार रुपैयाँमा उखु पेल्ने मेसिन खरिद गरी चौधरीले गुडभेली उद्योग सञ्चालन गर्दै आएका छन् । मेसिन खरिद गर्दा लागेको पूरै रकम उद्योगमा उत्पादन भएको गुड बेचेर चुक्ता गरेको उनले बताए।
कामदारको तलब, उखु खरिद, ढुवानी र गुडभेली उत्पादनमा गरी वार्षिक रुपमा १० लाख रुपैयाँ जति खर्च लाग्ने गरेको छ । वर्षमा छ महिना सञ्चालन हुने उद्योगले मासिकरुपमा दुई हजार क्विण्टल उखु क्रसिङ गरी १० देखि १५ क्विण्टल गुडभेली उत्पादन गर्दैआएको छ ।
उत्पादन भएको गुडभेली प्रतिकिलो ६० रुपैयाँमा उद्योगबाटै बिक्री हुने गरेको छ । उद्योगमा आठ जनाले रोजगारी पाएका छन् । उत्पादित गुडभेलीको माग अधिक भएकाले मागअनुरुप उत्पादन गर्नका लागि उखुको अभाव हुने गरेको छ ।
नजिकै दुईवटा ठूला चिनी उद्योग सञ्चालनमा आएपछि यहाँका गुडभेली उत्पादन गर्ने साना उद्योग सञ्चालकले उखुको अभाव झेल्नु परेको छ । उखुको तौल गर्ने विद्युतीय स्वचालित मेसिनको व्यवस्था नहुँदा उखु उत्पादक किसानले तौलको झण्झटले चिनी मिलमै उखु बेच्ने गरेका छन् ।
उखुकै अभावमा देखतभूलीका वीरबहादुर चौधरी र रामप्रवेश रानाले सञ्चालन गरेको गुडभेली उद्योग यस वर्ष सञ्चालनमा आएको छैन ।
यहाँ उत्पादित गुडभेली स्थानीय उपभोक्तासँगै सीमावर्ती भारतीय बजारलगायत धनगढी, महेन्द्रनगर, बुटवल, भैरहवा र नेपालगञ्जसम्म आपूर्ति हुने गरेको छ ।
यहाँका श्रीपुर, परासन, त्रिभुवनवस्ती, देखतभूली, रामपुर विलासीपुर, बेलडाँडी र चाँनदेउ क्षेत्रमा गुडभेली बनाउने उद्योग सञ्चालनमा छन् । गुडभेलीको प्रयोग मदिरा बनाउन, गाई गोरुलाई खुवाउन र विभिन्न प्रकारका मिठाई बनाउन प्रयोग हुने गरेको छ । यहाँका सञ्चालनमा रहेका गुडभेली साना उद्योगले वार्षिकरुपमा दुई करोड रुपैयाँ बढीको कारोबार गर्दै आएका छन् ।