वैशाख दोस्रो सातादेखि १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव आयोजना हुने



काठमाडौं । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आगामी वैशाख दोस्रो सातादेखि राजधानीमा ‘नेपाल १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ आयोजना हुने भएको छ ।

वैशाख १४ देखि १८ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा आयोजना हुने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।

स्वाधिन र समृद्ध अर्थतन्त्र निर्माणको अभियान सञ्चालन गर्ने उद्घोषका साथ हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन र यस पश्चात गठन हुने केन्द्र र प्रदेश सरकारको मुख्य कार्य मुलुकको समृद्धितर्फ केन्द्रित हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै ३ लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गरिने महासंघका अध्यक्ष गिरीले बताए ।

नेपाल जस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहकका रुपमा रहेका भएतापनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेको हुँदा आकर्षक प्रतिफल दिन नसकिरहेको भन्दै उनले परिणामतः यस्ता उद्योगहरूमा पुस्ता हस्तान्तरण हुन नसकिरहेको बताए ।

यस्तै पक्षलाई सम्बोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था महासंघले धेरै अगाडि देखि नै नियमित रुपमा राष्ट्रिय तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनीहरु आयोजना गर्दै आएको छ र यसरी १३ वटा राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना भइसकेका छन् । गतवर्ष देखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गर्न शुरु गरेको सन्दर्भमा यो प्रदर्शनी यस वर्ष ‘नेपाल १४औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ को नाममा आयोजना हुँदैछ ।

तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने प्रदर्शनीले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि–आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुने महासंघले जनाएको छ ।

प्रदर्शनीमा नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ ।

२५० वटा स्टलको व्यवस्था हुने र ५ दिनसम्म चल्ने प्रदर्शनीमा २ लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने र ५ करोड रुपैयाँ भन्दा बढीको प्रत्यक्ष र १० करोड रुपैयाँ बराबरीको अप्रत्यक्ष कारोबार हुने प्रक्षेपण महासंघले गरेको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने मेलाको सह–आयोजकको रुपमा नेपाल सरकार, उद्योग मन्त्रालय–लघु, घरेलु तथा साना उद्योग विकास कोष, बाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला तथा बालबालिका मन्त्रालय–राष्ट्रपति महिला उत्थान कार्यक्रम, विज्ञान तथा प्रविधि मन्त्रालय रहने छन् । त्यसैगरी अन्य सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाहरु यसका प्रवद्र्धक र सहयोगी रहनेका छन् ।


क्लिकमान्डु