चिनियाँ कम्पनीले सिमेन्ट उद्योगमा थप ५० अर्ब लगानी गर्न प्रस्ताब, थप दुई कम्पनी आउँदै



काठमाडौं । नेपालको सिमेन्ट उद्योगमा ५१ अर्ब लगानी गरेका चिनियाँ कम्पनीले थप लगानी भित्र्याउने विषयमा लगानी बोर्डसँग छलफल गरिरहेका छन् ।

दुई चिनियाँ कम्पनीले लगानी नै सुरु गरेका छन् । त्यसमध्ये होङ्सी शिवम् सिमेन्ट उद्योगले आगामी फागुनबाट सिमेन्ट उत्पादनको तयारी गरेको छ ।

सो उद्यागमा चिनियाँ लगानीकर्ताले ३६ अर्ब लगानी गरेका छन् । त्यसमा ३० प्रतिशत नेपाली लगानीकर्ताको हिस्सा रहेको छ ।

यस्तै चिनको अर्को कम्पनी ह्वासिनले पनि १५ अर्ब लगानी भित्र्याउने सम्झौता गरिसकेको छ । धादिङको पानीखर्कमा रहेको चुनढुंगा खानी प्रयोग गर्ने गरी प्रारम्भिक सम्झौता भएको लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए ।

एक पछि अर्को गर्दै सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढेपछि भारतको रिलायन्स समूहले पनि नेपालको सिमेन्ट उद्योगमा लगानी गर्ने आशयसहितको पत्र बोर्डलाई पठाएको छ ।

यस्तै थप दुई चिनियाँ कम्पनीले पनि ५० अर्ब बढीको लगानीको प्रस्ताव गरेको बताइएको छ । छलफलकै क्रममा भएकाले उनीहरुको प्रस्ताव सार्वजनिक गरिहाल्न सक्ने अवस्थामा नपुगेको बताइन्छ ।

लगानी बोर्डमार्फत आएको ह्वासिनले यही पुस ९ गते आयोजना लगानी सम्झौता गरेको हो ।

बोर्डले यसअघि गत भदौ १८ मा होङ्सी सिमेन्ट कम्पनीसँग सम्झौता गरेको थियो । होङ्सीले नेपालको शिवम् सिमेन्टसँग सहकार्य गरेर सिमेन्ट उद्योगमा प्रवेश गरेको हो ।

होङसी शिवमले दैनिक १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्नेछ । पाल्पाको ज्यामिरेमा रहेको चुनढुंगा खानीबाट चुनढुंगा आयात गर्ने तयारी गरिएको छ । ह्वासिनले दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ ।


क्लिकमान्डु