भिण्डी, सिमी र अकबरे खुर्सानीमा सबैभन्दा धेरै विषादी प्रयोग



काठमाडौँ । नेपालीहरुको दैनिक भान्छामा पाईने तरकारीहरुमा सबैभन्दा धेरै विषादी प्रयोग हुने गरेको बाली संरक्षण निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार सबैभन्दा धेरै विषादी तरकारी खेतीमा प्रयोग हुने गरेको छ, जसमध्ये सबैभन्दा धेरै विषादी धादिङ्गको भिण्डी(रामतोरिया), सर्लाहीको हिउँदे सिमी तथा मकवानपुरको अकबरे खुर्सानीमा देखिएको छ ।

ती उत्पादनहरुमा परिक्षण गर्दा ४५ प्रतिशतभन्दा बढि विषादी देखिएको निर्देशनालयले जनाएको छ ।

‘घातक विषादी मुक्त संसार, स्वास्थ्य जीवन र पर्यावरणको आधार’भन्ने नाराका साथ देशभर आयोजना गरिने विषादी सप्ताहको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निर्देशनालयले सो जानकारी दिएको हो ।

निर्देशनालयकाअनुसार ८६३ वटा नमूना परिक्षण गर्दा भिण्डी, सिमी र अकबरे खुर्सानीमा सबैभन्दा धेरै विषादी पार्इएको हो ।

यसैबीच बाली संरक्षण निर्देशनालय, निर्देशक समिति र मातहतका जिल्ला कृषि विकास कार्यालयको संयुक्त आयोजनामा सो सप्ताह आयोजना हुन लागेको हो ।

पुस १७ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न जिल्लामा फरकफरक कार्यक्रम गरिने बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक अच्युतप्रसाद ढकालले आर्इतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

ढकालले विकसित मुलुकहरुको भन्दा नेपालमा विषादी प्रयोगको मात्रा निकै कम भएपनि त्यसको असर गंभिर हुने भन्दै जनचेतनामूलक कार्यक्रम गरिँदै आएको बताए ।

‘विषादी प्रयोग नै नगरि उत्पादन बढाउने हाम्रो उद्धेश्य होईन तर पनि घातक विषादीको प्रयोग नगर कृषि उत्पादन गर भनेको हो,’ उनले भने ।

विषादीले मानव स्वास्थ्य र वातावरणमा विभिन्न समस्या उब्जाएको जानकारी दिर्इयो ।

मौरीको संख्यामा कमी, जलचर एवं सरीसृप (माछा, गोही, गडेउला, सर्प भ्यागुता) लगायतका जीवको विनासलाई रोकी वातावरण जोगाउन मद्दत पु¥याउने उद्देश्यले विषादी सप्ताह गर्न लागिएको हो ।

संसारमा हरेक वर्ष चार करोड मानिसमा विषादीले कतै न कतै र कुनै न कुनै रुपमा स्वास्थ्यमा असर गरेको अनुमान छ । विश्वमा विषादीकै कारणबाट वार्षिक तीन लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको बाली संरक्षण निर्देशनालयले जनाएको छ ।

नेपालले विषादी आयातको लागि गत वर्ष ६४ करोड रुपैयाँ र यस वर्ष ६९ करोड रुपैयाँ खर्च गरेको छ  भने नेपालमा अधिकांश विषादी छिमेकी मुलुक भारत र चीनबाट आयात हुन्छ ।

सरकारले दिगो कृषि विकास, सुरक्षित वातावरण, सामाजिक संरचनामा सुधार तथा कृषिको विविधिकरण, व्यवसायीकरण र औद्योगिकीकरणका नाममा विभिन्न योजना ल्याए पनि विषादीको प्रयोगमा भने कमी देखिँदैन ।

सन् १९५२ मा मलेरिया नियन्त्रण गर्न झिकाइको बोट बिरुवामा प्रयोग हुने विषादीसमेत सोही वर्षबाट आयात भएको बताइन्छ ।

नेपालमा करिब एक हजार ४०० प्रकारभन्दा माथि विषादी पञ्जीकृत गरिए पनि १६ थरी क्रमशः क्लोरडेन, डिडिटि, डाइअल्ड्रिन, इन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, टोकसाफेन, बिएचसी, लिन्डेन, फस्फामिडन, अर्गेनोमर्करी, मिथायलपाराथायन, मेनोक्रोटोफस र इण्डोसल्फान र फोरेटलाई भने  निषेध गरिएको छ ।

नेपालमा ५७४ टन खास विष आयात भएको तथ्यांकमा उल्लेख छ, जसमा कीटनाशक १८१ टन, रोगनाशक २४८ टन, झारनासक १३४ टन र अन्य ११ टन  छ ।

हाल प्रयोगमा आएका ९५ प्रतिशतभन्दा बढी विषादी लक्षित समस्या समाधान गर्नेभन्दा मानव, वन्यजन्तु, पानीका स्रोत, माटो तथा हावामा समाविष्ट भइरहेको छ ।


क्लिकमाण्डू