वाम एकता विरुद्धका षडयन्त्र परास्त गर्नुपर्छ- नेता नेपाल



काठमाडौँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देशमा वाम एकता हुन नदिन अहिले विभिन्न शक्ति केन्द्रबाट षडयन्त्र भइरहेको बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन, काठमाडौँ महानगर समितिले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले एकता विरुद्ध आउने सबै बाधा र षडयन्त्र परास्त गर्नुपर्नेमा जोड दिँदै चाँडोभन्दा चाँडो दुई पार्टीको एकता गर्नुपर्ने बताए ।

उनले वामपन्थीले मुलुकमा जनताको अधिकार प्राप्त गर्नका लागि गरेको संघर्षले उनीहरु खारिएको बताउँदै उनीहरुको एकता देशको विकास र समृद्धिका लागि भएकाले कसैले पनि षडयन्त्र गर्नु नपर्नेमा जोड दिए ।

नेपाली जीवन पद्धति र व्यवहारसँग जोडिएको शिक्षा नीति कार्यान्वयन गर्नुपर्ने बताउँदै नेता नेपालले त्यस्तो शिक्षाले मुलुकमा उद्यमशीलता र स्वरोजगार वृद्धि गर्ने विचार व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री नेपालले पछिल्लो समय सार्वजनिक विद्यालयले पनि निजी क्षेत्रका विद्यालयसँग गुणस्तरमा राम्रो प्रतिस्पर्धा गरिरहेको उल्लेख गर्दै भौतिक पूर्वाधार विकासका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए।

राष्ट्रियसभा गठनका लागि समानुपातिकमा दर्ता भएका दलहरु मात्र सहभागी हुने हुँदा दल दर्ता गर्न तीन दिनको समय पुग्नेमा दुई साताको समय अवधि लामो भएको विचार व्यक्त गरे।


क्लिकमान्डु