ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्दै



मोरङ । पूर्वी मोरङमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्नेक्रम बढेको छ ।

संघीयता कार्यान्वयन हुने अन्तिम चरणमा पुगेको बेला पूर्वी मोरङको उर्लाबारीमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्नेक्रम बढेको हो । प्रान्तीयस्तरका कार्यक्रम, सभा, गोष्ठी स्थानीय ठाउँमा नै हुने पक्कापक्की भएपछि होटल तथा रिसोर्टमा लगानी बढेको व्यवसायीको भनाइ छ ।

मोरङको उर्लाबारी– ४ सिसौलीमा दुई बिगाहा क्षेत्रफलमा रोयल हेरिटज रिसोर्ट सञ्चालन गरिएको छ । पथरीका तीन जना युवा व्यवसायीले सञ्चालनमा ल्याएको रिसोर्टमा हालसम्म एक करोड ५० लाख रुपैयाँ लगानी भइसकेको छ । पूर्वाञ्चलकै ठूलो र भव्य एवं सुविधा सम्पन्न बनाउने लक्ष्यका साथ सञ्चालनमा आएको रोयल हेरिटेजले निर्माणको आधा काम सकेको छ ।

‘चिल्ड्रेन पार्क, स्वीमिङ पुल, पार्किङ र कम्पाउण्ड वाल निर्माण भइरहेको छ,’ रिसोर्टका सञ्चालक कमल हाङवाङले भने ।

निर्माण सम्पन्न भइसक्दा पाँच करोड रुपैयाँ बढी लगानी हुने हाङवाङको भनाइ छ ।

रिसोर्ट पूर्व–पश्चिम राजमार्गबाट एक किमी दक्षिण सशस्त्र प्रहरीको सुरक्षा बेश क्याम्पसँगै रहेको छ । ग्रामीण क्षेत्रको शान्त वातावरणमा स्थापना भएकाले जोकोही आएर बस्नसक्ने हाङवाङ बताउँछन् ।

हाल १२ जनाले रोजगार पाइरहेको रिसोर्ट पूर्णरुपमा सञ्चालनमा आइसक्दा २५ जनालाई राम्रो रोजगार पाउने सञ्चालकको भनाइ छ ।

दुई बिगाहा क्षेत्रफलभित्र अत्यन्तै आकर्षक घर, बगैँचा, सभाहल र २५ वटा भिआइपी आवास कोठा रहेका छन् । हाल दैनिक तीनदेखि पाँच वटा टिम होटलको अवलोकनका लागि आउने गरेको सञ्चालक कमल हाङवाङको भनाइ छ ।


क्लिकमान्डु