जुत्ता, चप्पल तथा छालाजन्य बस्तुहरुको प्रदर्शनी शुरु, खरिदमा १५ प्रतिशतसम्मको छुट



काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले आयोजना गरेको १४औं जुत्ता चप्पल तथा छालाजन्य बस्तुहरुको औद्योगीक प्रदर्शनी बिहिवारदेखि भृकुटिमण्डपमा शुरु भएको छ ।

स्वदेशी जुत्ता चप्पलहरुको व्यवसायीक प्रदर्शन तथा स्वदेशी उद्योगलाई प्राथमिकतामा राख्दै शुरु भएको सो प्रदर्शनी उद्घाटन गर्दै अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले स्वदेशी उद्योगलाई सरकारले प्राथमिकता दिँदै निर्यातमुखी अर्थतन्त्र बनाउनुपर्ने बताए ।

आफूले स्वदेशी जुत्ता चप्पल उद्योगको विकासको लागि आवश्यक पर्ने सबै उपायहरु अपनाउने अर्थमन्त्री कार्कीले स्पष्ट पारे ।

उनले अर्थतन्त्रलाई सबल बनाउन जुत्ता चप्पल उद्योगले आशलाग्दो कार्य गरिरहेको भन्दै निर्यातजन्य उद्योगको रुपमा विकास गर्नका लागि सहयोग गर्ने बताए ।

‘यो उद्योगको उन्नतीको लागि के गर्नुपर्दछ त्यसको लागि म तपाईँहरुको साथमा रहेको छु,’ उनले भने ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले निर्यातलाई रोक्न नेपाली जुत्ता चप्पल व्यवसायीहरु सक्षम भएको बताए । उनले नेपाली अर्थतन्त्रका धेरै चुनौती भएको भन्दै नेपालको निजी क्षेत्रसँग मुलुकभित्र उद्योग गर्न सक्ने आत्मविश्वास भएको दाबी गरे ।

सरकारले निजी क्षेत्रलाई विश्व बजारमा प्रतिस्पर्धी हुनु भनेर भन्छ तर अझै धेरै चुनौतीहरुले गर्दा लगानीमैत्री हुन सकेको छैन्, उनले भने ।

एशोसिएशनका अध्यक्ष रविन कुमार श्रेष्ठले जुत्ता उद्योगको विकासको लागि फूटवेयर जोनको विकास गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले न्यून बिजकीकरणसहित विदेशी जुत्ताहरु आयात हुने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए ।

“आत्मनिर्भरताको आधार, स्वदेशी बस्तुको प्रयोग” मूल नारा रहेको ६ दिनसम्म संचालन हुने १४औं जुत्ता चप्पल तथा छालाजन्य बस्तुहरुको औद्योगीक प्रदर्शनीमा स्वदेशी ब्राण्डहरुले आफ्ना नयाँ उत्पादनहरु प्रदर्शन तथा बिक्रीका लागि उपलब्ध गराएका छन् ।

प्रदर्शनी अवधिभर हरेक जुत्ता चप्पलको खरिदमा ग्राहकहरुलाई १५ प्रतिशतको छुट दिईएको प्रदर्शनीका संयोजक नानिराज घिमिरेले जानकारी दिए । संयोजक घिमिरेकाअनुसार नयाँ डिजाइनका जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरु अवलोकनका लागि राखिने छ भने प्रदर्शनीहल भित्रै फेशन शोको आयोजना गरिने छ ।

के के छन प्रदर्शनीमा

प्रदर्शनीमा देशभरि छरिएर रहेका साना, मझौला एवं ठुला उद्योगहरुद्वारा उत्पादीत जुत्ता चप्पल तथा छाला जन्य बस्तुहरुको सवै उत्पादनहरु एउटै छानामुनि पेभिलियनसहित १३५वटा स्टलहरु प्रतिस्पर्धात्मक रुपमा राखिएको आयोजकले जानकारी दिएको छ ।

प्रदर्शनी अवधिभर उपभोक्ताहरुले स्वःस्फूर्थरुपमा प्रदर्शनीमा राखिएका बस्तुहरु अवलोकन गरि मूल्याङ्कन एवं तुलनात्मक रुपमाछनौट गरि सुपथ मुल्यमा बस्तुहरु खरीद गर्ने अवसर पाउने आयोजकको भनाई छ । औद्योगीक प्रदर्शनीमा उद्योगहरुले प्रयोग गर्ने कच्चापदार्थहरु समेत प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा न्यूनतम ३ सय रुपैयाँदेखि १२ हजार रुपैयाँसम्मका उत्पादनहरु प्रदर्शनीमा राखिएको छ । जसमा, महिला, पुरुष, बालबालिकादेखि वृद्धवृद्धाहरुलाई समेत हुने उत्पादनहरु राखिएका छन् । प्रदर्शनीमा क्याजूअल, अफिसियल, बुट, स्पोर्टस शुज, कलेज तथा स्कूलका लागि हुने जुत्ताहरु, फेल्टका जुत्ता चप्पलहरु, स्लीपरलगायतका उत्पादनहरु राखिएका छन् ।

प्रदर्शनीका बीचमा प्रतिस्पर्धा

प्रदर्शनीमा उत्कृष्ट स्टल सजावट गर्ने उद्योगहरु मध्ये बाट उत्कृष्टहरुलाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ । यस्तो सम्मान पहिलो पटक हुन लागेको एशोसिएशनका अध्यक्ष श्रेष्ठले जानकारी दिए । सम्मान हुनेमा उत्कृष्ट पेभिलियन सजावट गर्नेप्रायोजकहरु मध्ये बाट एउटा उद्योग रहने, २ वा सो भन्दा बढी स्टलमा उत्कृष्ट पेभिलियन सजावट गर्ने मध्ये बाट एउटा उद्योग र एउटा मात्र स्टल लिएर सहभागी भएका उद्योगहरु मध्येबाट उत्कृष्ट सजावट गर्ने एउटा उद्योगलाई उत्कृष्ट सजावटको प्रशंसा पत्र एवं मायाको चिनो प्रदान गरिने जानकारी दिईयो ।

सामूहिक डिस्प्ले

प्रदर्शनीमा सामुहिक डिस्प्लेको पनि ब्यवस्था मिलाईएको छ, जसमा सवै सहभागी ब्राण्डहरुको प्रदर्शीत बस्तुहरु मध्येबाट उत्कृष्ट डिजाईनका जुत्ताचप्पल तथा छालाजन्य बस्तुहरु प्रदर्शनीमा राखिएका छन् । जसमा जेन्टस तथा लेडिज फूटवेयर मध्ये बाट १/१ वटाडिजाइन र छालाजन्य बस्तुहरु मध्ये बाट १ वटा डिजाइन लाई उत्कृष्टको रुपमा छनौट गरिने र यसरी उत्कृष्टहुन सफल ब्राण्डलाई उत्कृटताकोे प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गरिने जानकारी आयोजकले दिएको छ ।

नेपाली जुत्ता चप्पल र छालाजन्य वस्तुहरुको वर्तमान अवस्था

नेपाली जुत्ताचप्पल उत्पादन क्षेत्र बारे अनसन्धान प्रतिबेदन २०७४अनुसार ठूला तथा मझौला उद्योगहरु कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका २२९, घरेलु तथा साना उद्योग विभाग र समितिअन्तर्गत दर्ता भएका ९३२, लेडिज चप्पल उत्पादकहरु १४०, फेल्ट तथा परम्परागत शिपमा आधारित अनुमानित २०० गरि कुल १५ हजार १ उद्योगहरु रहेका छन । यी उद्योगहरुमा ५० हजारको हाराहारीमा प्रत्यक्ष रोजगारी सिर्जना भएको छ, त्यसमध्ये १६ हजार (३२ प्रतिशत) महिला कामदार रहेका छन ।

यी उद्योगहरुमा करिव १९ अर्व ९४ करोड रुपैयाँ बरावरको लगानी रहेको छ ।

यी उद्योगहरुको बार्षिक उत्पादन क्षमता ११ करोड १९ लाख ७१ हजार जोर रहेता पनि हाल बार्षिक ४ करोड ३९ लाख ५८ हजार ७०० जोर मात्र उत्पादन भएकोे छ । देशमा बिद्यमान प्रतिकुल बातावरणका कारणले उद्योगहरुले आफ्नो पूर्णक्षमतामा उत्पादन गर्न असमर्थ भएका छन्, तसर्थ कुल उत्पादन क्षमताको ३९.२६५ मात्र उत्पादन भएको देखिन्छ । त्यस मध्ये स्कूल, कलेज, सेक्यूरीटी गार्ड मा प्रयोग गरिने जुत्ता चप्पल अधिकांश स्वदेशी नै प्रयोग गरेको पाईन्छ ।

आ.व. ०७२/०७३को तथ्याङ्क अनुसार नेपालको बजारमा ७ करोड ६२ लाख ४४ हजार १ सय ८६ जोर जुत्ता चप्पल खपत भएको थियो, जसमध्ये ३ करोड ८२ लाख ९४ हजार ७ सय ९३ जोर नेपाली जुत्ता चप्पल खपत भएको थियो । तसर्थ स्वदेशी उत्पादनले कुल खपतको ५०.२२५ हिस्सा ओगटेको देखिन्छ । तर यो कुल उत्पादन एव खपतको प्रतिशत बिनाशकारी भकम्प एंव नाकाबन्दी अगाडी ६५∞ रहेकामा सो बिनाशकारी भुकम्प एव नाकाबन्दी पश्चात स्वदेशी उत्पादन ५०.२२% मा खुम्चन पुगेको थियो ।


क्लिकमान्डु