दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने चिनीया कम्पनीसँग १५ अर्ब लगानीको सम्झौता




काठमाडौं । लगानी बोर्ड र चिनीया कम्पनी ह्वासिन सिमेन्ट नारायणीबीच परियोजना लगानी सम्झौता भएको छ । नेपालमा अत्याधुनिक प्रविधियुक्त सिमेन्ट कारखाना स्थापना गर्नको लागि बोर्ड र कम्पनीबीच सम्झौता भएको हो ।

सो सम्झौतामा बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीको तर्फबाट कम्पनीको समुन्द्रपार विकास निर्देशक ल्यू च्याङ्गोले सम्झौतामा प्रारम्भिक हस्ताक्षर गरेका बोर्डले जानकारी दिएको छ ।

बोर्डले २०७२ साल पुस ५ गते कम्पनीले सो सिमेन्ट उत्पादनको लागि कम्पनी स्थापना गर्न लाग्ने १५ अर्ब रुपैयाँ बराबरको बैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको थियो । सो कारखनाले पहिलो चरणमा दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ ।

शतप्रतिशत चिनिया लगानीमा स्थापना हुने सो कम्पनीको कारखनाको लागि सरकारले धादिङको पानीखर्कमा चुनढुंगा खानी उत्खनन्को अनुमति दिएको छ ।

कम्पनीले परियोजना वार्ता तस्तुर स्वरुप नेपाल सरकारलाई परियोजनाको कूल लागतको ०.२ प्रतिशतले हुन आउने रकम ३ करोड रुपयाँ बुझाउने छ । कम्पनीले खुल्ला प्रतिस्पर्धाबाट नेपाल सरकारलाई ६० करोड रुपैयाँ बुझाएर सो खानी प्राप्त गरेको बोर्डको भनाइ छ । लगानी बोर्डको बैठकले सो परियोजना लगानी सम्झौतालाई स्वीकृत गरेपछि औपचारिक रुपमा हस्ताक्षर गरिने बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए ।

सो समारोहमा बोल्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले सो कम्पनीसँग भएको वाता र प्रारम्भिक सम्झौताले नेपालमा बैदेशिक लगानीको लागि अनुकुल वातावरण रहेको सन्देश दिएको भन्दै कम्पनीबाट उत्पादित सिमेन्ट आपूर्तिबाट नेपालमा गुणस्तरीय सिमेन्टको माग पूरा गर्न सहयोग पुग्ने धारणा राखे ।

यस्तै कम्पनीका समुन्द्रपार विकास निर्देशक च्याङ्गोले नेपालको विकासमा सिमेन्ट उद्योग मार्फत सहकार्य गर्ने मौका मिलेकोमा सम्बन्धित सबैलाई धन्यवाद दिए ।


क्लिकमान्डु