७ सय ९९ रुपैयाँमा प्रिमियर इन्स्योरेन्सको एफपिओ किन्नु कत्तिको उचित होला ?




काडमाडौं । प्रिमियर इन्स्योरेन्सले आगामी पुस १६ गतेदेखि ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपिओ सेयर जारी गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँमा ६ सय ९९ रुपैंयाँ प्रिमियम मूल्य जोडेर प्रतिकित्ता ७ सय ९९ रुपैंयाँ एफपिओ सेयर जारी गर्न लागेको हो ।

एफपिओको कुल आकार ५२ करोड ६९ लाख रुपैंयाँको हुनेछ ।

एफपिओ छिटोमा पुस १९ गते र ढिलोमा माघ १५ गते बन्द हुने कम्पनीले जनाएको छ । इच्छुक लगानीकर्ताले घटिमा १० कित्ता र बढिमा ३ हजार २ सय ९० कित्ता सेयर आवेदन दिन सक्नेछन् ।

कम्पनीको चुक्ता पुँजी ४४ करोड ८५ लाख रुपैंयाँ रहेको छ भने प्रमोटर र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व अनुपात ६०ः४० छ । कम्पनीले उक्त अनुपात ५१ः४९ मा झार्नको लागि एफपिओ जारी गर्न लागेको हो । एफपिओ पछि कम्पनीको चुक्ता पुँजी ५१ करोड ४४ लाख रुपैंयाँ पुग्नेछ । बीमा समितिले तोके बामोजिम ०७५ साल असारसम्म १ अर्ब रुपैंयाँ चुक्ता पुँजी पुर्याउन कम्पनीले थप ४८ करोड ५६ लाख रुपैंयाँले पुँजी बढाउनुपर्नेछ ।

कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म २ करोड १२ लाख रुपैंयाँ खुद नाफा गरेको छ । गत आर्थिक बर्षको सोहि अबधीसम्म कम्पनीले २ करोड ४ लाख रुपैंयाँ खुद नाफा गरेको थियो ।

कम्पनीले कुल प्रिमियमबाट अघिल्लो सालको १९ करोड ४ लाख रुपैंयाँबाट बढाएर यो साल २१ करोड २२ लाख रुपैंयाँ आम्दानी गरेको छ । यसैगरी पहिलो त्रैमाससम्म कम्पनीले पुर्नबीमा कमिसनबाट ४ करोड ५७ लाख रुपैंयाँ आम्दानी गरेको छ । अघिल्लो बर्ष सोहि अबधीसम्म कम्पनीले पुर्नबीमा कमिसनबाट ३ करोड ८० लाख रुपैंयाँ आम्दानी गरेको थियो ।

चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय बिवरणका अनुसार कम्पनीको प्रतिसेयर आम्दानी १८.९५ रुपैंयाँ रहेको छ ।

अन्तिम कारोबार मुल्य प्रतिकित्ता १४ सय ४४ रुपैंयाँ रहेको कम्पनीको मुल्य आम्दानी अनुपात ८५.९५ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २ सय १२ रुपैंयाँ रहेको छ भने प्रतिसेयर कुल सम्पत्तिको मुल्य ४ सय ६३ रुपैंयाँ रहेको छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म बीमा शुल्क २२ प्रतिशतले बढाएको कम्पनीको समग्र वित्तीय स्थिति सन्तोषजनक नै देखिन्छ । यद्यपि बीमा बजारमा बिद्यमान स्वस्थ—अस्वस्थ प्रतिस्पर्धा र बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गरिरहेको ब्याजदरमा कटौती भइ रहेको अवस्थामा कम्पनीको लगानी प्रतिफलमा केहि प्रभाव पर्ने देखिन्छ ।


क्लिकमान्डु