पचास करोड लगानीमा टायर उद्योग शुरु, डेल्टा ब्राण्डमा सबै प्रकारका टायर उत्पादन



मोरङ । भारतको युचर ग्रुपसँगको साझेदारीमा विशाल ग्रुपले ५० करोड रुपैयाँको लगानीमा टायर उद्योग सञ्चालनमा ल्याउने भएको छ ।

मोरङको कटहरीमा सो उद्योगबाट तीन सातापछि टायरको व्यावसायिक उत्पादन शुरु हुनेछ ।

उद्योगका कर्मचारी विनित सिंघानियाँका अनुसार कटहरीमा तीन बिघा क्षेत्रफलमा फैलिएको सो उद्योगबाट सुरुमा ट्र्याक्टर, मोटरसाइकल, स्कुटी र ई–रिक्साका गरी चार प्रकारका टायर उत्पादन गरिनेछ । सो उद्योगले तत्काल वार्षिक दुई लाख थान टायर उत्पादन गर्ने लक्ष्य लिएको छ ।

पहिलो चरणमा डेल्टा ब्राण्डका टायर बजारमा ल्याइनेछ । ट्रक, बस, जिप, लरी, ट्र्याक्टरको सबै प्रकारका टायरको वार्षिक २० लाख थान उत्पादन गर्ने लक्ष्य राखेको सिंघानियाले बताए । उद्योगमा पाँच वर्षभित्रै लगानी विस्तार गरेर दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउने उनको भनाइ छ ।

विशाल समूहका निर्देशक अनुज अग्रवालले आयात प्रतिस्थापन गर्ने उद्देश्यका साथ उद्योग स्थापना गरिएको बताए । सो टायर उद्योगले कच्चापदार्थ भारतबाट आयात गरिरहेको छ ।


क्लिकमान्डु