खनिज उत्खनन् गर्न १२९ कम्पनीलाई दिइयो अनुमति, यी हुन् उत्खनन् हुने खानी



काठमाडौं । खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले देशभरका १२९ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ ।

महाशाखाले देशका विभिन्न भूभागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उक्त संख्यामा उत्खनन गर्न व्यक्ति तथा कम्पनीलाई अनुमति प्रदान गरेको हो ।

अनुमति दिएका खानीमध्ये चुनढुंगा ५२, क्वार्ज ४, रातोमाटो ५, कोइला १४, सिसा ३, टल्क १२, फलाम ३, डोलोमाइट १, मार्बल ३, स्ल्याब ८, म्याग्नेसाइट १, जिङ्क १, कायनाइट ९, क्याल्साइट १ र टुर्मालिनका १२ रहेका छन् ।

महाशाखाका प्रमुख रामप्रसाद घिमिरे खनिजका लागि महाशाखाले ३६४ स्थानमा अध्ययन गरेपनि जम्मा १२९ स्थानमा मात्र उत्खननका लागि अनुमति दिएकोे बताए । “सबै खोजतलास गरेका ठाँउमा खनिज हुन्छ भन्ने हुँदैन, खनिज पत्ता लागेको ठाउँमा मात्र उत्खनन गर्ने हो”– उनले भने ।

नेपालमा उत्खनन गर्न लागेका खनिजमध्ये अधिकांश स्वदेशी लगानीमै उत्खनन भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चार खनिजको उत्खनन भारतीय र तीन खनिजको उत्खनन चिनियाँ कम्पनीले गर्न लागेका छन् ।

नेपालमा उत्खनन गरिएका खनिजलाई अति महत्वपूर्ण, महत्वपूर्ण र साधारण गरी तीन भागमा छुट्टाइएको छ । तीमध्ये अति महत्वपूर्णमा सुन, चाँदी, हीरालगायतका बहुमूल्य धातु पर्छन् । महत्वपूर्णमा चुनढुंगा, काइनाइट, फलाम र साधारणमा रातोमाटो, गिट्टी, बालुवालगायत पर्दछन् ।

मुलुकमा उत्पादित काइनाइट, टुर्मालिन र क्वार्जजस्ता खनिज पदार्थलाई मूल्य अभिवृद्धि र प्रविधिको अभावका कारणले २ वर्षदेखि विदेशमा निकासी गर्न नसकिएको महाशाखा प्रमुख घिमिरेले जानकारी दिए । रासस


क्लिकमान्डु