जुत्ता चप्पल व्यापार मेला शुरु, स्वदेशी उद्योगलाई आगामी सरकारले प्रोत्साहन गर्ने



विराटनगर । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लालवावु पण्डितले राष्ट्र निर्माण तथा स्वदेशमा रोजगारी सिर्जना गर्ने उद्योगलाई आगामी सरकारले सहुलियत प्रदान गर्ने बताएका छन् ।

विराटनगरको जैन भवनमा आजदेखि आयोजित ‘जुत्ता चप्पल व्यापार मेला–२०७४’ को उद्घाटन गर्दै उनले निर्यातमुखी उद्योग स्थापना गरी व्यापार घाटा न्यूनीकरण गर्न उद्यमीसँग आग्रह गरे ।

नेपाल जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले सरकारले जुत्ता चप्पल उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थमा पाँच प्रतिशत मात्र भन्सार महशुल लिनुपर्ने विचार व्यक्त गरे ।

उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले आगामी दिनमा विराटनगरमा विद्युतीय सामग्री र सूचना प्रविधि मेलाको आयोजना गर्ने बताए।

कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष पवन शारडा, शिखर शुजका रामकृष्ण प्रसाईँलगायतले स्वदेशी उद्योगका उत्पादन प्रयोग  गर्न आग्रह गरे ।

एक महिनासम्म संचालन हुने मेलामा स्वदेशी छ वटा जुत्ता चप्पल उद्योगका दुई हजार किसिमका उत्पादन बिक्रीका लागि राखिएको छ । व्यापार मेलाबाट पाँच करोड रुपैयाँको कारोबार हुने लक्ष्य लिइएको छ ।

नेपालमा वार्षिक सात अर्बको जुत्ता चप्पलको कारोबार हुने गरेकामा ६० प्रतिशत  स्वदेशी उत्पादन रहेको कार्यक्रममा बताइयो ।


क्लिकमान्डु