नेताले देखाएका सपनाले पेट भरिन्न, भारत नआएर के गर्नु ?



शांकेतिक तस्बिर

नयाँदिल्ली । ‘नेताले देखाएका सपनाले पेट नभरिने रैछ, त्यसैले परदेशमा आउनुपर्यो ।’अछामका रामबहादुर विष्टको यो गुनासो हो ।

नयाँदिल्लीको कनार्टप्लेसमा भेटिएका उनले भने, ‘धेरै पटक चुनाव भयो, जान पाइएन, गएको भए पनि नेता जितेर जहाज चढेर काठमाडौँ जान्थे, हामी चाँही फेरी झोला बोकेर परदेशिनु पर्थ्यो ।’

खेल्ने उमेरमै बुबाको हात समातेर कमाउन भारत आएका विष्ट उमेरको पचासौँ दशकमा पनि पहिलेकै स्थितिमा छन् । काम गर्न बचपनमा भारत पसेका धेरैको बुढ्यौली पनि भारतमा काम गर्दागर्दै बित्छ ।

‘कहिले मुम्बई, कहिले दिल्ली, कहिले राजकोट गर्दै आधा जीवन बित्यो, बाल्यकाल यही गयो, जवानी पनि आए गएको पत्तै भएन तर आफ्ना देशमा कहिले काम गरेर दुई छाक खान पुग्ने दिन आउला ।’

घरमा दुई पैसा कमाउने कोही नभएपछि छिमेकीको पछि लागेर भारत आएका बझाङका तप्त शाहीले भने, ‘मेरा बाआमाले यही काम गरेर जीवन बिताउनुभयो, अब उहाँहरु बिरामी भएर काम गर्न नसक्ने भएपछि म आएँ, खासै कमाइ हुन्न, केही बचत भए अर्को देश जान्थेँ अलि पैसा हुन्थ्यो होला ।’

स्वदेशमा आम्दानीको स्रोत नभएपछि धेरै नेपाली भारतका विभिन्न ठाउँमा कामका लागि आएका छन् । भारतीय सेनादेखि होटलका भाँडा सफा गर्ने अनि सरकारी कार्यालयका महत्वपूर्ण पदमा काम गर्ने पनि नेपाली भेटिन्छन् दिल्लीमा तर भारत पसेकाको ठूलो संख्या भने सानोतिनो काममै अल्झेका छन् ।

‘कति श्रम शोषणमा पर्छन्, कतिलाई अन्याय पर्छ कति लुटिन्छन्, कुटिन्छन् त्यसको हिसाब कसैसँग छैन, अर्काको देश हो, सहनुको अर्को विकल्प हुन्न’, पर्वतका विष्णु भट्टराई भन्छन् ।

कुराकानीका क्रममा भेटिएका उनिहरू नयाँदिल्लीका विभिन्न होटलमा काम गर्छन् ।

तनहँुका जितबहादुर थापा भन्छन्, ‘मैले भारतको आयुर्वेदिक औषधि उत्पादन गर्ने कम्पनी एमिलमा काम गरेको २८ वर्ष भयो । दाइले यहाँ लगाइदिनुभएको थियो, मलाई निकै राम्रो छ ।’

एमिलका उपाध्यक्ष नरेश शर्मा जितबहादुर कम्पनीका एक विश्वास पात्र हुन् प्राय नेपालीहरु काममा इमान्दर, अनुशासित र मेहनती भएको आफूले पाएको बताए ।

उनि भन्छन्, ‘जितबहादुर हाम्रा विश्वास पात्र हुन् उनको लगनशीलताले नै लामो समयसम्म पनि सबैको प्रिय व्यक्तिरुपमा चिनिएका छन् ।’

पहिलेजस्तो पछिल्लो समयमा भारतमा रोजगारीका लागि आउने युवाको संख्या घटेको जितबहादुरको अनुभव छ । उहाँ भन्नुहुन्छ, ‘आजकल भिसा लगाएर धेरै खाडी मुलुक जान्छन्, यहाँ आउने त उही पहिलेदेखि उमेर पुगेका, विदेश जान पर्याप्त पैसा नभएका व्यक्ति मात्र छन् ।’

आफ्ना सन्तानलाई भने अर्काको देशमा काम नगराउने चाहना नभएको भन्दै उहाँले १८ र १६ वर्षका छोरा र श्रीमतीलाई नेपालमै राख्नुभएको छ । जितबहादुरले काम गर्ने एमिलको नयाँदिल्ली कार्यालयमा अन्य आठजना नेपाली कार्यरत छन् ।

नयाँदिल्लीमै स्थायी घरवासको व्यवस्था गरिसक्नुभएका दाङ लमहिका दुर्गा कुमाल भन्नुहुन्छ, ‘देशका सबै युवा बाहिर भएपछि कसरी विकास हुन्छ, नेपालमै राम्रो रोजगारीको विकास गर्न सके त देशमै घरपरिवार छाडेर को विदेश पस्छ होला र ।’

कामका सिलसिलामा मुम्बई जाने शिलशिलामा दिल्लीमा आफन्त भेट्न पस्नुभएका अछामका बज्जिसिंह राउत अहिले नेपालमा बसेर घर व्यवहार चलाउन कठिन भएकाले बिदेशिनु बाध्य हुनुपरेको पिडा पोख्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘चार छोराछोरी छन्, छोरोलाई जसोतसो सिएमए पढाएँ तर जागिर मिलेको छैन, उसलाई काम गर्न भारत आउन नपरोस् भनेर दुःखले पढाएँ, छोरीको बिहे भयो, ३५ वर्ष भयो भारत आउन जान थाल्या अझै कति वर्ष यतै बित्ने हो ।’

आफ्नो देशमा साँझ बिहानको छाक टार्न समस्या भएपछि धेरै नेपाली कामका लागि भारत जाने आउने गर्छन् । कोही लामो समय उतै बसेर कहिलेकाहीँ आउँछन् भने कोही छ महिना भारत छ महिना नेपाल गर्छन् ।

देशमा स्थानीय, प्रदेश र संघको निर्वाचन भइसकेको अवस्थामा देशभित्रै विकास भई रोजगारी सिर्जना हुन सकेमा भारत र तेस्रो मुलुकमा पसिना बगाउन नपर्ने उनिहरुको चाहना छ । रासस


क्लिकमाण्डू