लार्इन लागेर मात्रै गाडी चढ्न पार्इने, उपत्यकाका १० स्थानमा नयाँ व्यवस्था



काठमाडौँ । तपाईँ सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ ? चढ्दै हुुनुहुन्छ भने अब दौडादौड गर्नुपर्दैन,  लाम बसेर चढ्न सक्नुहुन्छ ।

सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र  सुत्केरीले सिट नपाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाम बसेर सवारी चढ्ने व्यवस्था मिलाउन लागेको हो ।

महाशाखाले आज आर्इ‍तवारदेखि काठमाडौँ उपत्यकाका १० स्थानमा लाम लागेर सवारी चढ्ने व्यवस्था मिलाएको हो । तिनमा एनएसी, रत्नपार्क, भृकुटीमण्डप, सामाखुशी, बानेश्वर, कोटेश्वर, कुपण्डोल, जडीबुटी र चाबहिल छन् ।

लाम बसेर सवारी चढ्दा जो पहिले आएको हो त्यसले पहिलो प्राथमिकता पाउनेछ । अघिल्लो सार्वजनिक यातायातमा चढ्न नपाएका यात्रु लगत्तै पछिल्लोमा जान पाउनेछन् ।

बूढानीलकण्ठ–एनएसी मार्गका माइक्रोबस चालक विवेक तामाङ लाम बस्ने व्यवस्थाले आफूहरुलाई मानिस उकाल्न तथा ओराल्न सहज हुने बताउँछन् ।

‘मानिस ओर्लन पाएको छैन यात्रुलाई चढ्न हतार हुँदा मानिस ठेलमठेल गर्न पुग्छन्, कोही त घाइते पनि हुन्छन्,’ उनले भने ।

यस्तै एनएसी– गोँगबु मार्गका माइक्रोबस चालक रुद्र खड्का लाम बसेर चढ्ने बानी बसाल्दा सवारी चालक तथा सहचालकलाई काम गर्न सहज हुने स्पष्ट पारे ।

‘मानिस एक मिनेट भए पनि चाँडो गन्तव्यस्थलमा जान खोज्दा सवारी भीड हुने गर्छ,’ उनले भने । एनएसीबाट बूढानीलकण्ठ जान लाग्नुभएकी राधिका सापकोटा बस कहाँ पाइन्छ भन्नेबारे सूचनापाटी नराख्दा अन्योलमा परेको गुनासो गर्छन् ।

‘लाइन त बस्ने भनियो, कुन रुटको गाडी कुन ठाउँमा पाइन्छ भन्नेबारे हामीले कसरी थाहा पाउनू,’ उनले भनिन् ।

यी केवल प्रतिनिधि पात्र मात्र हुन् । धेरै यात्रु सवारीमा हुने दैनिक धकेलाधकेलका कारण हिँडेर भए पनि गन्तव्यस्थलमा जान बाध्य छन् । केही महिना अगाडि मात्र काठमाडौँ खरीबोट– वनस्थली हुँदै रत्नपार्क चल्ने सवारी साधनले यात्रुलाई लाममा बसेर सवारी चढ्ने व्यवस्था मिलाएको थियो । सो कार्यक्रम अहिले पनि सञ्चालनमै छ ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनाल यात्रुले सवारी चढ्दा भोग्नुपरेको दुःखकष्टमा कमी ल्याउन महाशाखाले यस्तो अभियान सञ्चालन गरेको जानकारी दिन्छन् ।

‘यात्रु दुःख पाएर सवारीमा जानुभन्दा एकछिन संयम भएर सवारीमा सुरक्षित गन्तव्यस्थलसम्म पुग्नका लागि हामीले यो कार्यक्रम चलाएका हौँ,’ उनले भने ।

महाशाखाले सो अभियान एक हप्तासम्म प्रत्येक दिन बिहान–बेलुका कार्यालय सञ्चालन हुने समयमा चलाउने छ । शुरुको समयमा अभियान सञ्चालनमा केही समस्या परे पनि विस्तारै बानी पर्दै जाने महाशाखाले विश्वास लिएको छ । मर्यादित र व्यवस्थित ट्राफिक होस् भन्ने चाहना महाशाखाको रहेको उनको भनाइ छ ।

सो अभियानलाई सहयोग पु¥याउन महाशाखाले स्काउट र  स्वयम्सेवकसमेत परिचालन गर्नेछ । नयाँ सडकको प्रवेशद्वार एनएसीबाट मात्र काठमाडौँ उपत्यकाका ८६ स्थानमा जाने सवारी पाइन्छ । उक्त स्थानमा अभियान सञ्चालन गरे धेरै ठाउँमा सहयोग पुग्ने विश्वास महाशाखाको छ ।


क्लिकमान्डु