महिलाको आग्रह र बालकको जिद्दीले मासिक ६० हजार कमाउने भए अशोक




काठमाडौं । पशुपतिनाथ मन्दिर घुमेर गुहेश्वरी जाने भर्याङमा प्रत्येक दिन दिउँसोतिर निकै भिड देखिन्छ । त्यो भिड कुनै जादु हेर्न अथवा हात देखाउन लागिरहेको हुँदैन ।

त्यो भिड फेस स्केच कोर्न बसेका अशोक थपलियासँग आफ्नो स्केच बनाउन बसेकाहरुको हो । कोही उनले बनाएको स्केच हेर्न पनि बसेका हुन् ।

झन्डै १९ वर्षको उमेरमा चित्र कोर्न सिकेका उनी सुरुमा एउटा आर्ट पसलमा चित्र बनाउने काम गर्थे । यसरी पसलमा ६ महिनासम्म चित्र बनाउने काम गरेका उनलाई पसलका मालिकले तलब दिन नसक्ने अवस्था आएपछि उनले त्यस कामलाई त्यही छाडेका थिए ।

यसरी आफ्नो भएको काम छुटे पछि पशुपतिनाथको मन्दिर वरिपरी बसी मन्दिर र जङगलहरुको चित्र कोरेर समय गुजार्ने गरेका अशोकलाई एक दिन एक जना महिलाले आफ्नो पनि स्केच तयार गर्न आग्रह गरेकी थिइन् । उनलाई आफुले मानिसको स्केच गर्दा नराम्रो हुने हो कि भन्ने डरले आफूलाई मानिसको स्केच गर्न नआउने बताएका थिए ।

त्यसको भोलिपल्ट फेरि त्यही स्केच कोरिरहेको समयमा एक बालकले मान्छेको नि स्केच गरिन्छ भनेर सोध्दा उनले त्यस बेला भने आफुलाई आउने बताएका थिए ।

मान्छेको स्केच बनाउन सक्छु भन्ने आत्मविश्वास उनमा अझै थिएन । र, फेरि अक्मकाउदै खै फेरि राम्रो स्केच नबन्लाकी भनि उनले टार्न खोजेका थिए ।

‘टार्न त खोजेँ नि, तर, ती बालकका पिताले आफ्नो बच्चाको स्केछ बनाइदिन आग्रह नै गर्नुभयो, अनि मान्छेको फेसको स्केच दोस्रो पटक ती बालकको बनाएको थिए,’ उनी सम्झन्छन् ।

उनलाई आफ्नो छोराको स्केच बनाउन आग्रह गर्ने ब्यक्ति मनोज गिरी सांसदसमेत रहेछन् । त्यस फेस स्केच बापत उनले थपलियालाई १ सय रुपैयाँ दिएका थिए ।

उनले बनाएको दोस्रो फेस स्केचलाई सबैले आहा कति राम्रो भनेर प्रशंसा गरे पछि उनलाई आफ्नो फेस स्केचप्रति केही भरोसा हुन थाल्यो । त्यसपछि मात्रै उनी अब भने मानिसहरुको स्केच बनाउन सक्ने कुरामा र्निधक्क भएका थिए । त्यसै दिन एक जना युवाले उनलाई फेस स्केच बनाउन भने । उक्त व्यक्ति हेर्दा गाजा खाने जस्तो देखिने भए पनि उनले सहर्ष स्विकारी उक्त व्यक्तिको स्केज तयार पारे । उक्त व्यक्तिले फेस स्केचको मूल्य सोध्दा थपलियाले अघिल्लो व्यक्तिले १ सय रुपैयाँ दिएको बताए । तर, त्यस व्यक्तिले आफुसँग ५० रुपैयाँ मात्र भएकोले ५० रुपैयाँ लिन भनेका थिए । फेरि त्यस ५० रुपैयाँबाट २० रुपैयाँ गाडी भाडा चाहिने भनेकाले ३० रुपैयाँमात्र लिन भनेका उक्त व्यक्तिले थपलियासँग खुद्रा पैसा नभएकाले चेन्ज गरि ल्याउने भन्ने निहुँमा त्यो पैसासमेत नदिइ गरेको घटना उनले स्मरण गरे ।

अघिल्लो दिनसम्म यस्ता अनौठो अनुभव गरेका उनले आफ्नो घरमा परिवार सबैसँग सल्लाह मागे । त्यसपछि भोलि पल्टदेखि १० वटा फोटोकपी पेपर, २ वटा पेन्सिल र १ इरेजर लिएर उनले एउटा फोटो स्केचको १० रुपैयाँ भनेर लेखेर त्यहाँ बस्न थाले ।

यसरी ५० रुपैयाँ खर्च गरेर सुरु गरेका उनले अहिलेसम्म ७ हजार बढी स्केच कोरिसकेका छन् । स्केज सुरु गर्दा स्केज बोर्ड भने उनले किचेनमा तेल लाग्ला भनि भित्तामा राखेको काठलाई बनाएका सुनाए । उनी अहिले एउटा स्केच बनाएको ३ सय देखि ७ सय रुपैयाँसम्म लिने गर्छन् ।

उनी मानिसलाई नै अगाडि राखेर बनाएको स्केचलाई ३ सय देखि ४ सय रुपैयाँ लिने गर्छन भने फोटो हेरेर स्केच बनाएको ७ सय रुपैयाँ लिने गर्छन् ।

अरु समय बिहानै ३ बजेदेखि पशुपतिको भर्याङमा बस्ने गरेका थपलिया आजभोलि भने जाडोका कारण ९÷१० बजे तिर मात्र आउने गर्छन् । यसरी बेलुकी ७ बजेसम्म फेस स्केच बनाउने उनी दिनमा ७ वटासम्म स्केच बनाउने गर्छन् ।

सुरुमा एउटा फोटो हेरेर फेस स्केच बनाउँदा ३ घण्टा लगाउने उनी अहिले ४५ मिनेटमा नै स्केच बनाउने गर्छन् । मान्छे नै अगाडि राखेर फेस स्केच बनाउदा भने ३० मिनेट लाग्ने थपलियाले बताए ।

डाँचे घर भएका उनले यसरी स्केच बनाउन थालेको १२ वर्ष बितिसकेको छ । उनी यस बाहेक स्कुलमा ड्रइङ सिकाउने काम पनि गर्ने गर्छन् । दिनमा १५ सय देखि २ हजार रुपैयाँसम्म फेस स्केच बनाएरै आम्दानी गर्ने गरेका उनी आज भोलि भने आफ सिजन भएको बताउछन् ।

उनी भन्छन् ‘आज भोलि मानिसहरु सबै चुनावका लागि गाउँ गएकोले खासै धेरै आउने गर्दैनन् । नत्र दिनमा २ हजारसम्म कमाइ हुन्थ्यो ।’

बिदेशीले स्केच बनाउन खासै चासो नदेखाउने उनको भनाइ छ । पशुपति दर्शनार्थीहरुले नै बढी स्केच बनाउन दिने गरेको बताउने थपलिया मासिक ६० हजार रुपैयाँ कमाउने गर्छन् ।

उनी भन्छन् ‘श्रीमती सहकारीमा काम गर्छिन् । म हप्तामा एक दिन स्कुल र अरु समय यतै बिताउछु ।’


क्लिकमान्डु