खानी खन्न र खोज्न ११ कम्पनी छानिए, तीनवटै चिनिया कम्पनी




काठमाडौं । खानी तथा भूगर्भ विभागले नेपालका विभिन्न स्थानमा रहेका खानी उत्खनन् तथा अन्वेषण गर्ने कम्पनीको टुङुगो लगाएको छ ।

२०७३ चैत १ गते नेपालका १५ वटा खानी उत्खनन् तथा अन्वेषणका लागि स्वदेशी तथा विदेशी कम्पनीहरुबाट विभागले प्रस्ताव माग गरेको थियो । १५ मध्ये १२ वटा अन्वेषण तथा ३ वटा उत्खनन् थिए ।

विभागले प्रस्ताव गरेको १५ वटा खानीमध्ये ११ वटामा मात्र प्रस्ताव आएको थियो । जसमा ९ वटा अन्वेषण र २ वटा उत्खनन् छन् ।

विभागको आन्तरिक मुल्याङकन समितिले खानी अन्वेषण र उत्खनन्का लागि प्रस्ताव पेश गर्ने उत्कृष्ट ११ कम्पनीलाई छनोट गरेका विभागका सिनियर मेकालोजिकल इन्जिनियर दिलिप झाले जानकारी दिए ।

‘खानी अन्वेषण र उत्खनन्का लागि छनोट भएका कम्पनीलाई मंसिर १२ गते चिठी पठाएर जानकारी गराइसकिएको छ, प्रस्तावकमध्ये उत्कृष्ट कम्पनीलाई सम्झौताको लागि चिठी पठाएको हो,’ झाले क्लिमाण्डूसँग भने ।

उनका अनुसार ती कम्पनीहरु एक महिना भित्रमा विभागसँग सम्झौताका लागि सम्पर्कमा आउनु पर्ने हुन्छ ।

‘एक महिना भित्रमा कम्पनीहरु सम्झौताका लागि सम्पर्कमा नआए दोश्रो उत्कृष्ट कम्पनीसँग सम्झौता गरिन्छ । विभागले प्राविधिक, आर्थिक र कार्य क्षमताको आधारमा खानी अन्वेषण र उत्खनन्का लागि कम्पनी छनोट गरेको हो,’ उनले भने ।

आन्तरिक मुल्याङकनमा उत्कृष्ट भएका कम्पनी सम्झौताका लागि इच्छुक नभए दोश्रो उत्कृष्ट कम्पनीसँग सम्झौता गरिने पनि उनले प्रस्ट पारे ।

३ विदेशीसहित ११ कम्पनी
नेपालका खानी उत्खनन् तथा अन्वेषणका लागि ३ विदेशी सहित ११ कम्पनी छनोट भएका हुन् । विदेशी कम्पनी ३ वटै चिनियाँ भएको र ती अन्वेषणका लागि छनोट भएको विभागले जनाएको छ ।


क्लिकमान्डु