गढमा पराजय हुँदा पनि काठमाडौंले जोगायो कांग्रेसको इज्जत



काठमाडौं । देशैभर करिबकरिब पत्तासाफको स्थितिमा पुगेको कांग्रेसलाई काठमाडौंले भने केही राहत दिएको छ । बाम गठबन्धनको तीब्र प्रतिस्पर्धालाई चिर्दै काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ४ वटामा कांग्रेसले बिजय हासिल गरेको छ ।

ओखलढुंगा, मोरङ, मनाङ, मुस्ताङ, हुम्ला, सोलुखुम्बुजस्ता कांग्रेसका गढ भनेर चिनिएका जिल्लाहरुमा कांग्रेसले लज्जास्पद परायज भोगेका बेला काठमाडौंले भने कांग्रेसको इज्जत जोखाइदिएको हो ।

काठमाडौं १ मा प्रकाशमान सिंहले, ४ मा गगन थापाले, १० मा राजन केसीले र ६ मा भीमसेनदाश प्रधानले निर्वाचन जितेका छन् । जित्नेमध्ये सबैभन्दा बढी मतान्तरले युवा नेता गगनले जितेका छन् । उनले आफ्ना प्रतिस्पर्धी एमालेका राजन भट्टराईलाई ३३ सयको मतान्तरले जिते ।

त्यस्तै, दोस्रो बढी मतान्तरले राजन केसीले जितेका छन् । २०७० सालको चुनाबमा माओवादी अध्यक्ष प्रचण्डलाई जितेका केसीले अहिले एमालेको समर्थनमा उठेका माओवादीका हितमान शाक्यलाई २ हजार बढी मतान्तरले जिते ।

२०६४ को चुनाबमा एमालेका तत्कालीन महासचिव माधब नेपाललाई जितेर चर्चामा आएका माओवादी नेता झक्कु सुवेदीलाई बहालवाला रक्षामन्त्रीसमेत कांग्रेसका भीमसेनदाश प्रधानले करिब १३ सयको मतान्तरले जितेका छन् ।

काठमाडौंमा बिजयी कांग्रेसका उम्मेद्वारमध्ये प्रकाशमान सिंहले सबैभन्दा कम मतान्तरले बिजयी भए । उनले बीबीसीको जागिर छाडेर केही महिनाअघि मात्रै राजनीतिमा आएका बिबेकशील साझा पार्टीका रविन्द्र मिश्रलाई ८ सयको झिनो मतान्तरले हराए ।

काठमाडौंमा कांग्रेसले कम्तिमा ४ देखि बढीमा ६ सिटसम्म जित्ने आँकलन गरिएको थियो । क्षेत्र नं. ८ मा नविन्द्र राज जोशी ५ सयको झिनो मतान्तरले हारेका कारण कांग्रेस ४ सिटभन्दा माथि उक्लिन नसकेको हो ।

उता ललितपुर र भक्तपुरमा भने कांग्रेसको अवस्था ठीक छैन । प्रहरीको जागिर छाडेर केही महिनाअघि राजनीतिमा आएका नवराज सिलवालले बहालवाला अर्थराज्यमन्त्री उदय राणामाथि सुरुवाती चरणदेखि लिँदै आएको अग्रता अहिले झन बढिरहेको छ ।

सिलवाल बाम गठबन्धनका उम्मेदवार हुन भने राणा कांग्रेसका उम्मेद्वार हुन् ।

ललितपुर ३ मा कांग्रेसका मदन अमात्य माओवादीकी पम्फा भूषालसँग पराजय भइसकेका छन् ।

भक्तपुरमा पनि पूर्वसभामुखसमेत रहेका कांग्रेसका उम्मेद्वार दमननाथ ढुंगाना एमालेका उम्मेद्वार महेश बस्नेतसँग हार्ने निश्चि भएको छ ।

साँझ ५ बजेसम्म प्राप्त परिणाम अनुसार कांग्रेसले देशभरबाट ६ सिट जितेको छ । जसमध्ये काठमाडौंबाट मात्रै ४ सिट जितेको हो । त्यसबाहेक रसुवामा मोहन आचार्य र मोरङमा मिनेन्द्र रिजालले जितेका छन् ।


पुष्प दुलाल