नेपाल र नाइजेरियाबीच कृषि क्षेत्रमा सहकार्य गर्ने सम्झौता



काठमाडौं । नाइजेरियाको ओसुन राज्यको कृषि मन्त्रालय र नेपाल खाद्य बैंक लिमिटेडबीच नोभेम्बर २२ तारिखमा कृषिबाट मानिसहरुको जिवनस्तर उकास्न सहकार्य गर्ने विषयमा सम्झौता भएको छ ।

खाद्य सुरक्षा र कृषिको क्षेत्रबाट मानिसहरुको जिवनस्तर उकास्न दुइ राष्ट्रका संस्थाबीच काम गर्ने कुरा उक्त सम्झौतामा उल्लेख गरिएको छ । नाइजेरियाको खाद्य सुरक्षा तथा कृषि मन्त्रालयमा भएको सम्झौतामा नेपाल खाद्य बैंकका अध्यक्ष रामराजा श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौतामा ओसुन राष्ट्रका कमिस्नर एडेकुन्ले इगे, कृषि तथा खाद्य सुरक्षा मन्त्रालयका संयोजन निर्देशक डा.आइस्याक, मन्त्रालयका निर्देशक तेजुदेन अयान्तोए लगायत उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । सम्झौता समारोहमा वल्र्ड इन्स्टिच्युट फर पिसका पदाधिकारीहरुको पनि सहभागिता रहेको स्टेट अफ ओसुनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

ओसुन राज्यका कृषि तथा खाद्य सुरक्षा मन्त्रालयका संयोजन निर्देशक डा.आइस्याकले सम्झौता पश्चात बोल्दै नेपाल र नाइजेरियाको सहकार्यले कृषि तथा खाद्य सुरक्षामा महत्वपुर्ण उपलब्धी गराउन सकिने बताए ।

खाद्य बैंकका अध्यक्ष श्रेष्ठले हजारौ युवाहरुलाइ रोजगारी दिदै आधुनिक प्रविधिहरुको प्रयोगमा देश र समाज समृद्ध बनाउन काम गर्ने बताए । नाइजेरिया र नेपालबीच विभिन्न महत्वपुर्ण सहकार्य गरि कृषि, प्रविधि र अर्थतन्त्रमा सुधार गर्न सकिने उनले बताए ।

यस अघि नाइजेरिया तथा ओसुन सरकारका मन्त्री तथा उच्च अधिकारीहरुसँग भएको छलफल र सम्झौता अनुसार एक हजार बढि युवाहरुलाई तत्काल रोजगारी दिनेगरी काम सुरु भएको श्रेष्ठले बताए ।

नुवाकोटमा मुख्य कार्यालय रहेको नेपाल खाद्य बैंक नेपालको खाद्य सुरक्षा र कृषिमा विगत केहि वर्षदेखि काम गरिरहेको संस्था हो । अध्यक्ष रामराजा श्रेष्ठको एक टोली सो सम्झौता गर्नेगरी नाइजेरिया सरकारसँग मिलेर काम गर्न एक महिना अघि नाइजेरिया प्रस्थान गरेको थियो ।

ओसुन राज्यमा सुरु गर्ने कृषि परियोजनाले ५ हजार बढि युवाहरुलाई प्रोत्साहन गर्दै विभिन्न स्तरको कार्यक्रममा सहभागी गराउने बताइएको छ ।


क्लिकमान्डु