कुन मोटरसाइकल चलाउँदा कस्तो हेलमेट ?



काठमाडौं । बाइक चढ्दा सुरक्षाको लागी प्रयोग गरिने हेलमेट बाइकको पर्यबाची शव्द बनेको छ । हेलमेटको प्रयोग बिना बाइक अगाडी बढ्न पनी सक्दैन जसलाई नियम तथा सुरक्षाको दृष्टिले बादिएको हुन्छ । अगाडीका बर्षहरुमा हेलमेट सुरक्षाका दृष्टि तथा लाउनै पर्ने बाध्यकारी ट्राफिक नियमलाई पच्छाउन प्रयोग गरिने हेलमेट अहिले फेसनको रुपमा प्रयोग बढ्दो छ ।

बाइक बनाउने अन्र्तराष्ट्रिय कम्पनीले महिनै पिच्छे नयाँ-नयाँ मोडलका बाईकहरु नेपाली बजारमा बिक्रिका लागी लिएर आउने गरेका छन् । जसका कारण लाखौ मुल्य पर्ने बाइकहरु सडकमा गुडेको देख्न पाइन्छ । त्यससंगै हरेक बाइक चलाउनेको टाऊकोमा आखै खाने गरी टल्कीने खालका हेलमेटको प्रयोग गरेका हुन्छन् ।

२०६२/६३ सालसम्म नेपालमा जम्मा ५ लाख सवारी साधन दर्ता भएका थिए । गत आर्थिक वर्षसम्ममा मात्र साढे २६ लाख पुगिसकेको छ । यो बीचमा १८ लाख त मोटरसाइकलमात्र थपिएका छन् ।

दुर्घटना हुनेमा पनि मोटरसाइकल नै बढी पर्छन् । हेलमेटलाई मोटरसाइकल चालकको सुरक्षाको प्रमुख कवजका रुपमा लिइन्छ । मोटरसाइकल चालक दुर्घटनामा पर्दा टाउकोमा चोट नलागोस भन्ने हेतुले हेलमेट प्रयोग गरिन्छ ।

नेपालमा धेरैजसोले सस्तो हेलमेट लगाउँछन् । त्यो सुरक्षाको दृष्टिले बलियो हुदैँन । हामी मोटरसाइकल भने महँगो रकम हालेर किन्छौं, हेलमेट भने १ हजारदेखि ३ हजारसम्म मात्रको प्रयोग गर्छाै । मोटरसाइकल प्रयोगकर्तामा आएको वृद्धिसँगै नेपालमा हेलमेटको आयात पनि बढेको छ । हाल नेपालमा भारत, चीन, थाइल्याण्ड, फ्रान्स, अमेरिका लगायातका देशबाट हेलमेट आयात हुँदै आएको छ ।

तर आयातित हेलमेट पनि विभिन्न मूल्य र गुणस्तरका छन जहाँ कम्तिमा ६ सयदेखि बढिमा १ लाख ८० हजार मूल्य सम्मका हेलमेट नेपालमा पाइन्छ जबकी सबैभन्दा महँगो हेलमेटको मूल्य केहि मोटरसाइकलको भन्दा ज्यादा हो ।

महँगा हेलमेट
हाल नेपालमा पाइने हेलमेटहरु मध्ये एजीभी सोललुना २०१६ नामक हेलमेट सबैभन्दा महँगो रहेको छ । जसको मूल्य १ लाख ८० हजार रुपैंयाँ रहेको छ । उच्च सुरक्षा गुणस्तरीय यस हेलमेट बाइक राइडरहरुको लागि उत्कृष्ट मानिन्छ । मोटो जीपी २०१६ देखि प्रयोग चर्चित ‘बाइक राइडर’ भ्यालेन्टिनो रोसीले यो हेलमेट लगाउँदैँ आएका छन् ।

यस हेलमेटको विशेषता भनेको यसको प्रयोग गर्दा श्वास प्रश्वास सहज बनाउन इन्टिग्रेटेड भेनटिलेसन सिस्टम (आइभिस) प्रणालीको प्रयोग गरिएको छ भने यसको भित्रि प्याडिङलाई झिक्न र सफा गर्न समेत सकिन्छ ।

कार्बन फाइबर सेल सुरक्षाको यस हेलमेटमा पिन लक सहितको एन्टी फग रेस भाइजर, अल्ट्रा भाइलेट रे प्रतिरोधक तथा स्कर्याच नहुने खालको रङ्गको प्रयोग भएको छ । हेलमेटस नेपाल नामक कम्पनिले बेच्ने यस हेलमेट ४ भिन्न साइजमा उपलब्ध छ ।

यसका अतिरिक्त १ लाख भन्दा बढिका नेपालमा पाइने हेलमेट १ लाख ३८ हजार मूल्यको एजीभी कोर्सा मिसानो २०१४ तथा १ लाख ३५ हजारको एजीभी पिस्टा जीपी प्रोजेक्ट ४६ २.० रहेका छन् ।

मध्यम स्तरका हेलमेट
बजारमा एजीभी सोललुना २०१६ मोडलको हेलमेट भन्दा सस्ता मोटरसाइकल बजारमा थुप्रै रहेका छन । १ लाख ८० हजारको यस हेलमेट भन्दा कम मूल्यका मोटरसाइकलहरु विभिन्न कम्पनीले बेच्दै आएका छन ।

मध्यम र सस्तो हेलमेटहरु नेपाली बजारमा ५ सय रुपयाँ देखि ८ हजार रुपयाँ सम्मका हेलमेट पाइन्छन् । अन्र्तराष्ट्रिय बजार आएका नयाँ मोडल नेपाली बजारमा पनी भित्रिने गरेको व्यवसायी बताउँछन । नेपालमा दर्जनौको नाममा बिभिन्न मोडलका हेलमेटहरुको बिक्रि भईरहेको छ । जसमा एसटिएम, योहि, इनडेक्स, एमआरसी, एलएस२, सेफ्टीमेट, भि२१, बिएम, ट्याङकेड, एरोन, एसनेल लगायतका धेरै नामका अहिले हेलमेट बिक्रिवितरण भइरहेका छन ।

कतै तपाईको हेलमेट असुरक्षित त छैन ?
हेलमेट मोटरसाइकल तथा साइकल चालकको लागि सुरक्षाको कवज मानिन्छ। टाउको शरीरको संवेदनशील अंग भएकाले यसको सुरक्षामा ध्यान दिनु अत्यन्त जरुरी छ ।

टाउकोको साइज अनुरुपको हेलमेट लगाउने
आफूलाई फिट हुने हेलमेटको प्रयोगले टाउकोको सुरक्षामा मात्र नभएर व्यक्तिको मानसिकतामा पनि सकात्मक भूमिका खेलेको हुन्छ । बजारमा प्रयोगकर्ताको टाउकोको साइज अनुसारका विभिन्न ५ प्रकारका हेलमेट उपलब्ध छन् । जसमा साना तथा ठूला टाउका भएका मोटरसाइकल चालकसम्म सबैलाई फिट हुन्छ ।

बजारमा ५३ तथा ५४ सेन्टिमिटरको ‘एक्सट्रा स्मल’, ५५ तथा ५६ सेन्टिमिटरको ‘स्मल’, ५७ तथा ५८ सेन्टिमिटरको ‘मिडियम’ ५९ तथा ६० सेन्टिमिटरको ‘लार्ज’ र ६१ तथा ६२ सेन्टिमिटरको ‘एक्सट्रा लार्ज’ साइजका हेलमेट उपलब्ध छन् ।

यी बाहेक सामान्य भन्दा निकै सानो तथा ठूला टाउका भएकालाई ५१ तथा ५२ सेन्टिमिटर को ‘एक्सट्रा एक्सट्रा स्मल’ र ६३ तथा ६४ सेन्टिमिटरको ‘एक्सट्रा एक्सट्रा लार्ज’ साइजका पाइने हुँदा आफ्नो टाउको सुहाउँदो हेलमेट छान्नुपर्छ ।

मौसम तथा तापक्रम अनुसारको हेलमेट प्रयोग गर्ने
यदी तपाई बस्नुभएको स्थानको मौसम चिसो छ भने फुल हेलमेटको प्रयोग गर्दा त्यसले अनुहार तथा टाउको दुबैलाई चिसोबाट बचाउँछ । तर गर्मीको मौसममा फूल हेलमेट भन्दा हाल्फ वा ओपन हेलमेटको प्रयोग ज्यादा मौसम अनुकुल मानिन्छ ।

हेलमेटको सर्टिफिकेसन हेर्ने
नेपालमा हेलमेटको गुणस्तरमा कुनै मापदण्ड नभए पनि भारत, युरोप तथा अमेरिकामा भने सर्टिफिकेसनको तह निर्धारण गरिएको हुन्छ ।
नेपालमा हेलमेट उत्पादन नभए पनि विदेशबाट केही कच्चा पदार्थ ल्याई नेपालमै फिटिङ गर्ने गरिएको छ। सर्टि्फिकेसनको मापदण्ड पुरा नगरिएको हुँदा हेल्मेट छनौट पनि चुनौति नै बन्ने गरेको छ । विदेशबाट आयातित भनिएका नक्कली हेलमेट पनि बजारमा पाइने हुँदा कुन देशको हेलमेट कुन गुणस्तरको हुन्छ भन्नेमा चनाखो रहनुपर्छ ।

अयातित हेलमेटमध्ये भारतको ‘आइसए सर्टिफाइड’, अमेरीकाको डर्ट सर्टिफाइड तथा युरोपको इसीएस सर्टिफाइड हुने गर्दछ ।

सवारी अनुसारको हेलमेटको प्रयोग
आफ्नो सवारी भन्दा पनि फेसन अनुसारको हेलमेट प्रयोग गर्ने विकृति बढेर गएको छ । जसका कारण लगाउँदा भद्दा देखिनुका साथै सुरक्षाको जोखिम पनि उच्च रहने गर्दछ ।

मोटरसाइकल, स्कुटर वा साइकलले आफ्नो साधनलाई सुहाउँदो तथा सुरक्षित र सवारीको सिसी क्षमता अनुरुपको हेलमेटको प्रयोग गर्न विज्ञहरुको सुझाव छ ।

समय समयमा हेलमेट धुने
विज्ञहरुका अनुसार आफूले प्रयोग गर्दै आएको हेलमेट लामो समयसम्म नधुँदा कपाल झर्ने, छालामा एलर्जी आउने, टाउको चिलाउने जस्ता समस्या देखा पर्छन् । शारिरिक मात्र नभइ मानसिक रुपमा पनि स्वस्थ रहन आफूले लगाउने कपडाझैँ हेलमेट पनि समय समयमा राम्रोसँग धुन सकिन्छ ।

६-६ महिनामा हेलमेट फेर्ने
हेलमेट व्यापारी, विज्ञ तथा बाइक राइडरको भनाइअनुसार हेलमेटमा प्रयोग भएको फाइबर, भाइजर लगायतका मेट्रियल समय समयमा सफा गर्ने तथा परिवर्तन गर्ने गर्नुपर्छ । स्वास्थ्यका दृष्टिकोणले हरेक ६­ ६महिना पछि हेलमेट फेर्नु पर्दछ । एजिएफ, सार्क, स्टड्स लगायत ब्राण्डका हेलमेट पनि पाइने गर्दछन् ।


क्लिकमान्डु