कुन प्रदेशमा कति जलाशययुक्त जलविद्युत् आयोजना (सूचीसहित)



काठमाडौं । जलाशययुक्त विद्युत् आयोजनाका दृष्टिमा मुलुकका ७ मध्ये ४ वटा प्रदेश सबभन्दा धनी र २ नं. प्रदेश सबभन्दा गरिब देखिएको छ । बाँकी दुई वटा प्रदेश भने समान्य नै रहेको छ ।

तथ्यांकअनुसार प्रदेश नं ४ मा जलाशययुक्त आयोजनाबाट मात्र ८ हजार ८५८ मेगावाट बिजुली उत्पादन हुनेछ ।

तल्लो चुरेबाहेक पहाडी भाग नपर्ने तराई-मधेसका ८ जिल्ला ओगटेको २ नं. प्रदेशमा जलायुक्त आयोजनाबाट सबभन्दा कम २ सय मेगावाटमात्र बिजुली उत्पादन हुने राष्ट्रिय योजना आयोगले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

कुन प्रदेशमा कति जलाशययुक्त आयोजना भन्ने शीर्षकमा तयार पारिएको प्रतिवेदनअनुसार ४ नं. प्रदेशका प्रस्तावित, अध्ययनका क्रममा रहेका र निर्माणाधीन १४ वटा जलाशययुक्त आयोजनाबाट ८ हजार ८ सय ५८ मेगावाट बिजुली उत्पादन हुनेछ ।

दोस्रो बढी जलाशययुक्त आयोजना भएकामा १ नं. प्रदेश पर्छ, यसमा १० वटा जलाशययुक्त आयोजनाबाट ७ हजार २८८.४ मेगावाट बिजुली उत्पादन हुने अनुमान छ ।

ऊर्जा मन्त्रालयले १० हजार ८ सय मेगावाटको प्रस्तावित कर्णाली चिसापानी जलविद्युत् आयोजना दुइटा प्रदेशमा राखेकाले दुवैमा उत्पादन हुन सक्ने बिजुली बढी देखिएको छ ।

प्रदेश नं ७ मा प्रदेशमा सीमा नदी महाकाली पञ्चेश्वर आयोजनाको उत्पादन हुने ६ हजार ४ सय मेगावाट विद्युत् उत्पादन हुनेछ ।

यस्तै ३ नं. प्रदेशमा १२ वटा आयोजनाबाट ६ हजार ५२८ र ६ नं. प्रदेशमा ८ वटा आयोजनाबाट ४ हजार ३४० मेगावाट बिजुली उत्पादन हुने छ ।

प्रदेश नं. ४ का जलाशययुक्त आयोजनामा आँधीखोला (१८०), आँधीखोला-२ (१८०), बूढीगण्डकी (१२००), कालीगण्डकी-१ (१६००), कालीगण्डकी-२ (१६००), मादी-वेगनास-रूपा (७७), मादी-ईशानेश्वर (१३३), मस्र्याङदी स्टोरेज (७४०), सप्तगण्डकी (७००), सेती-२ (१६०), सुरना गाड (३८), त्रिशूल गंगा (१५००), अपर सेती (१४०) र उत्तर गंगा (३००) मेगावाट छन् । यसमध्ये उत्तरगंगा ४ र ६ नं., बुढीगण्डकी तथा सप्तगण्डकी ४ र ३ नं. दुवै प्रदेशतिर पर्छन् ।

प्रदेश नं. १ का आयोजनामा कन्काई (८४), सप्तकोसी उच्च बाँध (३४८९), तमोर (७६२), दूधकोसी-१ (३००), दूधकोसी-२ (३००), माई (६१.४), सुनकोसी-१ (१३५७), अपर माई (५३), तमोर-१ (६९६) र तमोर-३ (१८६) छन् । कन्काई बहुउद्देश्यीय आयोजनाबाट हिउँदयाममा झापा, मोरङ र सुनसरीको ६७ हजार ४५० हेक्टरमा सिँचाइ उपलब्ध हुनेछ ।

प्रदेश नं. ३ का आयोजनामा कुलेखानी पहिलो, दोस्रो र तेस्रो (१०६), सुनकोसी-२ (१११०), सुनकोसी (५३६), बूढीगण्डकी (१२००), खिम्ती शिवालय (१०००), इन्द्रावती (९३), कोखाजार (१११), लामटांम (२२१), सप्तगण्डकी (७००), तामाकोसी (१२६), तामाकोसी-३ (१२००) र तामाकोसी-४ (१२६) मेगावाट छन् । कुलेखानी पहिलो र दोस्रोबाट ९२ मेगावाट बिजुली उत्पादन भइरहेको छ भने १४ मेगावाटको कुलेखानी तेस्रो सम्पन्न हुँदैछ ।

प्रदेश नं. ५ का आयोजनामा नौमुरे (२४५), कर्णाली चिसापानी (१०८००), शारदा-बबई (९३), भालुवाङ (१०७), लोअर बडिमार्ड खोला (३८०), मादी रोल्पा (१४२), रिडी खोला (४३), लोवर जिमरुक (१९९) र उत्तरगंगा (३००) मेगावाट छन् । नौमुरे आयोजना बनिसकेपछि त्यसबाट ८० हजार ३ सय ५० हेक्टर जमिनमा सिँचाइ हुनेछ ।

कर्णाली चिसापानी आयोजनाबाट कैलाली, बर्दिया र बाँकेको १ लाख ९१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउन सकिनेछ । कर्णाली चिसापानी ५ र ७ नं. प्रदेशमा, उत्तरगंगा ५ र ४ नं. प्रदेश, शारदा बबई ५ र ६ प्रदेश दुवैमा पर्नेछ ।

प्रदेश नं. ६ का आयोजनामा भेरी-३ ए (१९७), भेरी-३ बी (११९२), भेरी-४ (९६४), भेरी-५ (१२६९), भेरी-१ (१४८) र लोहारे (६७), नलसिंगाड (४१०), शारदा(बबई (९३) मेगावाट रहेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश नं. ७ का आयोजनामा महाकाली पञ्चेश्वर (६४००), रूपाली गाड (२४०), कर्णाली चिसापानी (१०८००), सेती(एसआर ६ (९६६) र पश्चिम सेती (७५०) मेगावाट रहेको जनाइएको छ ।


क्लिकमाण्डू