३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभाको सिटको लागि मतदान सुरु



काठमाडौं । पहिलो चरण अन्तर्गत ३२ जिल्लामा प्रतिनिधि सभा र प्रदेशसभाका लागि निर्वाचनको मतदानको प्रक्रिया सुरु भएको छ ।

हिमाली र उच्च पहाडी जिल्लाका ३२ जिल्लाको ३७ वटा प्रतिनिधिसभा र ७४ वटा प्रदेशसभाको लागि निर्वाचनको मतदानको सुरु भएको हो । निर्वाचन आयोगले मतदानको लागि सबै तयारी पुरा भएको जानकारी दिएको हो ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानमा १११ जनप्रतिनिधिका लागि ७०२ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ।

प्रतिनिधिसभाका ३७ स्थानका लागि २८२ र प्रदेशका ७४ स्थानमा लागि ४२० उम्मेदवार चुनावी मैदानमा छन्। एक करोड ५४ लाख मतदातामध्ये पहिलो चरणमा ३१ लाख ९१ हजार ९४५ मतदाता सहभागी हुँदैछन्।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा चार हजारभन्दा बढी मतदान केन्द्र तोकिएका छन्। ३२ जिल्लामा दुई हजार ९१९ मतदान स्थल र चार हजार ४६५ निर्वाचन केन्द्र तोकिएका छन्।

देश नं १ का ७, प्रदेश नं ३ का ६, प्रदेश नं ४ का ६, प्रदेश नं ५ का २, प्रदेश नं ६ का ७ र प्रदेश नं ७ का ४ जिल्लामा यो निर्वाचन भइरहेको छ । चिसो मौसमका बाबजुद पनि निकै उत्साहका साथ मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगेर लामबद्ध भएर बसिसक्नु भएको तथा अहिले मतदान कार्य शुरु भइसकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था गरिएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन् र आफ्नो अमूल्य मत प्रदान गर्न निर्वाचन आयोगले सबै मतदातासँग हार्दिक अपिल गरेको छ । संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा यो निर्वाचन हुँदैछ ।

अपराह्न ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गर्नुभएका मतदाताले मात्रै मतदान गर्न पाउनु हुने हुँदा सबै मतदाताले एक दिन राष्ट्रका लागि समय प्रदान गरी मतदानमा सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई निर्वाचित गराउन निर्वाचन आयोगले आम मतदातालाई आह्वान गरेको छ । नेपालको संविधान, संघीयता र गणतन्त्र कार्यान्वयन गर्ने सिलसिलामा यो निर्वाचन हुन लागेको हो ।

मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

कुनै पनि मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान नगर्नु हुन र यदि कसैले त्यस्तो गैरकानुनी कार्य गरेमा कानूनबमोजिम सजायको भागी हुनुपर्ने जनाउँदै आयोगले सबै राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पु¥याउन अपिल गरेको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रङ्गको मसीले छापिएको मतपत्रमा रहेका चिह्नमध्ये एउटामा र प्रदेशसभाका लागि कालो मसीले छापिएका निर्वाचन चिह्नमध्ये कुनै एक चिह्नमा स्वस्तिक छाप लगाई तोकिएको मतपेटिकामा मत खसाल्नु पर्नेछ । समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यका लागि मतपत्र हल्का रातो मसीले छापिएको एउटै पानाको माथिल्लो भागको मतपत्र–१ मा तथा प्रदेशसभाका लागि मतपत्र–२ भएका चिह्नमध्ये आफूलाई मन परेको एउटा राजनीतिक दलको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्ने व्यवस्था गरिएको छ । राससको सहयोगमा


क्लिकमान्डु