निर्माण सुरु भएको ९ वर्षपछि संचालनमा आयो खोटाङको जयराम पुल



काठमाडौं । जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दूधकोसी नदीमा निर्माण गरिएको मोटरेवल पक्की पुल सञ्चालनमा आएको छ ।

खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटमा निर्माण गरिएको सो पुल आज बिहानबाट सञ्चालनमा ल्याइएको हो ।

सम्झौता अबधि सकिएको पाँच वर्षपछि मात्र निर्माण कार्य सकिएको जयराम पुलमा बिहीबार एकै चोटी तीनवटा ठूला ट्रकमा १५० टनको लोड राखेर गरिएको परीक्षण सफल भएपछि सञ्चालनमा ल्याइएको ठेकेदार कम्पनीले जनाएको छ ।

यातायात सेवा सञ्चालन भएको दश वर्षपछि प्रमुख नाका दूधकोसीस्थित जयरामघाटको पक्की पुल सञ्चालनले खोटांगे जनतामा ठूलो आशा जगाएको छ ।

करिब दश करोडको लागतमा निर्माण कार्य सम्पन्न भएको पक्की पुल बिहान ९ बजेबाट सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए ।

“खोटाङ्गे जनताको लामो पर्खाइपछि पुल सञ्चालनमा आएको छ ।” उनले भने,“अहिले निर्वाचन आचारसंहिता लागू भएको छ । औपचारिक उद्घाटन गर्दा आचारसंहिताले नदिने भएकाले उद्घाटन नगरी सञ्चालन गरिएको हो ।”

दूधकोसीमा पक्की पुल निर्माण गर्ने जिम्मा विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन र दिवाकर गोल्छाको हुलास इञ्जिनियरिङ लिएको थियो । २०६८ साल असारसम्ममा सबै काम पूरा गर्ने शर्तमा दुवै कम्पनीले साझेदारीमा काम गर्नेगरी २०६६ साल भदौमा नेपाल सरकार, सडक विभागसमक्ष सम्झौता गरेको थियो ।

करिब १५० मिटर लामो मोटरेवल पक्की पुल नेपालकै नमूना भएको र निर्माणमा पनि ढिला भएको आयोजना प्रमुख इञ्जिनियर उद्धव रानामगरले बताए । “पुलका लागि आवश्यक सामग्री र प्राविधिक बाहिरबाट ल्याउनुपर्यो” उनले भन्नुभयो, “सबै कुरामा बाहिरी देश चिनकै सहयोग लिनुपरेकाले पुल निर्माणमा ढिलाइ भएको हो ।”

जयराम पुल सञ्चालनमा आएसँगै खोटाङ जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने जयरामघाटमा पुल सञ्चालन भएपछि राजधानी काठमाडौंँलगायत तराईका विभिन्न जिल्लासँग सिधा यातायात सञ्चालनमा सहज भएको यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङमाङले बताए ।

२०६४ मा हेलिकोप्टरमार्फत बोकेर ल्याइएको बेलिब्रिज जडान गरेर यातायात सञ्चालनमा ल्याएको थियो । यसरी पक्की पुल नहुँदा हिउँदको समयमा वैकल्पिक व्यवस्थाका लागि अस्थायी बेलिब्रिज जडान गरेर आवतजावत गर्ने गरिएको थियो । जयरामघाटमा अस्थायी बेलिब्रिज जडान गर्दा वार्षिक ६० लाख बढी राज्यकोषको रकम खर्च हुने गरेको थियो ।रासस


क्लिकमान्डु