रामपुर नगरपालिकामा सिटी बस सेवा शुरु



पाल्पा । पाल्पाको रामपुरमा बुधबारदेखि सिटी बस सञ्चालनमा आएको छ । रामपुर क्षेत्रका जनतालाई सर्वसुुलभ सेवा प्रदान गर्न र यातायातमा सबैको पहुँच पुर्याउनका लागि रामपुर यातायात व्यवसायी समितिले सिटी बस सञ्चालनमा ल्याएको हो ।

सिटी बस सेवा शुभारम्भ गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले यातायात विकासको मुख्य पूर्वाधार रहेको बताउँदै अन्य विकासका पूर्वाधार निर्माणको लागि यातायात सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

उनले सडक विस्तार र स्तरोन्नतिका लागि नगरपालिकाले सहयोग गर्ने र नगरपालिका भित्रको बसपार्क व्यवस्थित गर्ने प्रक्रिया शुरु भइरहेको जानकारी दिए ।

रामपुर यातायात व्यवसायी समितिले हाल २५ वटा बस र ३१ वटा जिपमार्फत काठमाडौँसहित विभिन्न स्थानमा यातायात सेवा दिँदै आएकामा नगरपालिकाको मुख्य बजार बेझाड केन्द्रित गरेर वडा नं। १० को गेझादेखि वडा नं १ को स्यालीबजारसम्म पनि सिटी बस सञ्चालन गर्ने भएको छ ।

सिटी बस सञ्चालनमा आएपछि हर्षित स्थानीयबासी सहितका जनप्रतिनिधि, समितिका पदाधिकारी, प्रशासन प्रमुखलगायत सरोकारवालाले पेट्रोलपम्पबाट बसपार्क हुँदै बेझाड बजार परिक्रमा गरेका थिए ।

रामपुर यातायात व्यवसायी समितिका अध्यक्ष राजन पोखरेलले जिपमार्फत सेवा प्रवाह गर्दै आए पनि रामपुरको बढ्दो शहरीकरण र जनघनत्वका कारण थप सेवाको महसुस गरी सिटी बस सञ्चालनमा ल्याएको बताए । उनले आगामी दिनमा रामपुर नगरपालिकासहित गण्डकीबेसी क्षेत्रमा सिटी बस सेवा थप गर्दै लैजाने योजना रहेको बताए ।


क्लिकमान्डु