बागमती नदीको सभ्यतालाई संग्रालयमा राखिने




काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यता र धार्मिक महत्वको नदी बागमती संग्रालय निर्माण हुने भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिले बागमती संग्रालय निर्माण गर्ने भएको हो ।

बागमती संग्रालय पशुपति विकास कोषसँगको सहकार्यमा निर्माण गर्न लागिएको अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिका उप– आयोजना प्रमुख योगेन्द्र चित्रकारले जानकारी दिए ।

‘संग्रालय बागमती किनारमा निर्माण हुन्छ, समितिसँग उपयुक्त जमिनको अभाव भएकाले पशुपति विकास कोषले उपलब्ध गर्ने जग्गामा संग्रालय निर्माण गर्न लागिएको हो,’ चित्रकारले क्लिकमाण्डूसँग भने ।

चित्रकारका अनुसार कोषले गुहेश्वरीको सेतोसटल नजिकको ३ रोपनी जग्गा संग्रालय निर्माणका लागि दिने कुरा भएको छ ।

कोषले २ हप्ता भित्रमा संग्रालय निर्माणका लागि जग्गा दिने अपेक्षा गरिएको उनले बताए ।

‘कोषले जग्गा उपलब्ध गराएसँगै संग्रालय निर्माणका लागि टेण्डर आव्हान गरिने छ, टेण्डर प्रक्रियोसँगै निर्माणको कामले गति लिनेछ,’ उप–आयोजना प्रमुख चित्रकारले भने ।

संग्रालय निर्माणका लागि चालु आर्थिक बर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन भईसकेको छ । बजेट विनियोजन तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संग्रालयको शिलान्यास गरेका थिए भने चालु बर्षबाटै संग्रालय निर्माणको काम सुरुहुने समितिले जानकारी दिएको छ ।

संग्रालयको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) तयार नभईसकेकाले संग्रालय यस्तो किसिमको हुन्छ भनेर अहिले भन्न सकिने अवस्था नभएको चित्रकारको भनाई छ ।

बागमतीको सभ्यता र धार्मिक महत्व झल्कने चित्र, हस्तकला वा पुस्ताकालयको संग्रालह हुनसक्ने उनी बताउँछन् ।

संग्रालयमा बागमतीको सभ्यता र धार्मिक महत्वको अध्ययन गर्न सकिनेछ । जसका माध्यमबाट मानिसहरुमा नदीप्रतिको आस्था र विश्वास बढ्ने अपेक्षा गरिएको छ । बागमतीलाई स्वच्छ र सुन्दर बनाउने समितिको योजनामा टेवा उनले बताए ।


क्लिकमान्डु