खर्बपति चौधरीलाई चुनाबी सभामा भाषण गर्न भ्याइनभ्याइ




काठमाडौं । अरु चुनाबहरु भन्दा यो चुनाब अलि फरक देखिएको छ । यसअघिका चुनाबमा जनताले नेताको मात्रै भाषण सुन्न पाउँथे ।

तर, यसपटक भने नेपालकै सबैभन्दा धनी अर्थात् फोर्ब्स म्यागेजिनले डलर अर्बपति (खर्बपति) मा सूचिकृत गरेका पहिलो नेपाली बिनोद चौधरीको भाषण पनि सुन्न पाइएको छ ।

जिबनभर व्यापार/व्यवसायमा लागेका खर्बपति चौधरी पहिलोपटक नेपाली राजनीतिमा सक्रिय भएर लागेका छन् । उनी चुनाब आउनु केही साताअघि नेपाली कांग्रेस प्रवेस गरेका थिए ।

चौधरीले अब पूर्णरुपमा सक्रिय राजनीतिक जिबन बिताउने र कांग्रेसबाटै राजनीति गर्ने उद्घोष गरिसकेका छन् । र, त्यो उदघोषलाई कार्यान्वयन गरेर पनि देखाइरहेका छन् ।

कांग्रसबाट समानुपातिक सांसदको सूचीमा परेका चौधरीलाई देशब्यापीरुपमा कांग्रेसका चुनाबी सभामा भाषण गर्न भ्याइनभ्याई छ । यतिसम्म कि उनको चुनाबी सेड्युल शीर्ष नेता (शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड) को भन्दा कम छैन ।

संभवत सक्रिय राजनीतिक जिबनमा आएको छोटो समयमै यति व्यस्त राजनीतिक सेड्युल हुने पहिलो व्यक्तिमा पर्छन् चौधरी । लोकतन्त्रमा मात्रै आर्थिक विकास र कांग्रेसले मात्रै लोकतन्त्र जोगाउने निष्कर्षसहित आफू कांग्रेसको सक्रिय राजनीतिमा लागेको उनले बताउँदै आएका छन् ।

कांग्रेसको चुनाबीसभामा चौधरी पहिलोपटक कात्तिक २८ गते नवलपरासीमा देखिए । उनले नवलपरासीको क्षेत्र नं. १ बाट कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फका सांसदको उम्मेद्वार डा. शशांक कोइरालालाई भोट मागे ।

‘राजनितिमा चासो राख्दै आएपनि सक्रिय थिइँन, आजैदेखि मेरो जिवन कांग्रेसको सक्रिय राजनितिमा सर्मपर्ण गर्दछु,’ उक्त सभामा चौधरीले भनेका थिए ।
२०४६ सालको परिवर्तनपछि नेपाली कांग्रेसले लिएको उदार अर्थनीतिका कारण देश अहिलेसम्म संचालन भइरहेको बताउँदै चौधरीले सम्मृद्ध आर्थिक नीतिले मात्रै लोकतन्त्र बलियो हुने जिकिर गरे ।


कात्तिक २९ गते पनि उनी नवलपरासीकै अर्को चुनाबी सभामा सहभागी भए । त्यहाँ उनले कांग्रेसले आफ्नो समेत सल्लाहमा गतिलो आर्थिक नीति लिएका कारण २०४८ सालदेखि ०५० सालसम्म देशमा धेरै कलकारखाना खुलेको र रोजगारीको अबसर सिर्जना भएको तथ्यांक नै सुनाए । यो दुई वर्षलाई चौधरीले देशले नै स्वर्ण वर्षकोरुपमा मनाउनुपर्ने बताए ।

त्यसपछि मंसिर ३ गते एकैदिन चौधरीले ३ जिल्लाका चुनाबी सभालाई सम्बोधन गरे । हेलिकप्टर चढेर चौधरीले रामेछाप, गोर्खा र लमजुङमा भएका कांग्रेसका चुनाबी सभामा सम्बोधन गर्न भ्याए । गोर्खा पुगेर चौधरीले लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार डा.बाबुराम भट्टराईलाई भोट मागे । बाबुरामसँग देश बनाउने प्रष्ट भिजन भएको र उनको चरित्र पनि लोकतान्त्रिक भएकाले उनलाई अत्यधिक बहुमतले जिताउन गोर्खाली जनतासँग आग्रह गरे ।

राष्ट्रको सम्मृद्धिको पहिलो आधार स्थीर सरकार भएको र १ सय ५४ स्थानमा एक्लैले प्रत्यक्षको उम्मेद्वारी दिएको कांग्रेसले बहुमत ल्याउने बताए । कांग्रेसले बहुमत ल्याएमात्रै मुलुक सम्मृद्ध हुने उनको निष्कर्श छ ।

त्यसपछि मंसिर ५ गते उनी सोलुखोम्बु गए । सोलुखुम्बुको नाम्लुङमा आयोजित सभामा चौधरीले नेपालमा अब राजनीतिक एजेण्डा बाँकी नरहेकाले आर्थिक सम्मृद्धि हासिल गर्ने दिशामा अघि बढ्नुपर्ने र आर्थिक सम्मृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्नसक्ने दाबी गरे । कांग्रेसले बहुमत ल्याएर बनाएको सरकारले मात्रै मुलुकलाई द्रुत गतिमा विकासतर्फ लैजाने उनले पटकपटक ठोकुवा गरे ।

मंसिर ६ गते बुधबार चौधरीले ओखलढुंगा पुगेर कांग्रेसका उम्मेद्वार रामहरि खतिवडालाई भोट माग्ने कार्यक्रम छ । पार्टीले यसपछिका आमसभाको निक्र्यौल गरिनसकेकाले चौधरीको चुनाबी सभालाई सम्बोधन गर्ने सेड्युल छैन ।

‘पार्टीले बुधबारपछिका चुनाबी कार्यक्रम सार्वजानिक गरेको छैन, पार्टीले सार्वजानिक गर्नेवित्तिकै उहाँ यसरी नै सक्रिय भएर हिँड्नुहुने छ,’ चौधरीका एक सहयोगीले क्लिकमाण्डूसँग भने ।

चौधरीले आफ्ना हरेक भाषणहरुमा अबको युग आर्थिक विकासको भएकाले आफू मुलुकको सम्मृद्धिका लागि सक्रिय राजनीतिमा अएको बताउँदै आएका छन् । लोकतन्त्रमा मात्रै आर्थिक स्वतन्त्रता र सम्मृद्धि हुने देखेर आफूले कांग्रेस पार्टी रोजेको उनको भनाई छ ।
आफूसँग देश बनाउने प्रष्ट खाका रहेको उनले बताउँदै आएका छन् ।

‘आगामी ५ वर्षमा नेपाललाई कस्तो बनाउने भन्ने प्रष्ट खाका मसँग छ,’ चौधरीले भने, ‘कांग्रेसले बोकाउने जस्तोसुकै नीतिगत भारी बोकेर त्यसलाई पूरा गर्न लाग्नेछु ।’

चौधरीको क्रेज बढ्दै

कांग्रेस नेताहरुका अनुसार चुनाबी सभामा चौधरीको क्रेज दिनानुदिन बढिरहेको छ ।

‘उहाँले राजनीतिक कुरा नगरी विकास र सम्मृद्धिका कुरा मात्रै गर्ने भएपछि जनताले केही फरक टेस्ट पाएकाले विभिन्न जिल्लाहरुमा हुने चुनाबी सभामा उनको माग हुन थालेको छ,’ कांग्रेसका एक नेताले भने, ‘अहिले त चौधरीलाई हामीलाई भन्दा भ्याइनभ्याई छ ।’

चौधरीले प्रष्टसँग आर्थिक विकासका कुरा राख्ने गरेका छन् । खासगरी उनले लोकतन्त्र र आर्थिक विकास कसरी एकअर्कासँग अन्तरसम्बन्धित छन् भनेर जनताले बुझाउँदै हिडेका छन् ।

चौधरीलाई कांग्रेसको जिम्मेवारी

समानुपातिक सांसदको उम्मेद्वार बनाएर कांग्रेसले चौधरीलाई अबसर दियो । तर, यो अबसरसँगै कांग्रेसले उनलाई विभिन्न किसिमका जिम्मेवारीहरु पनि दिएको छ ।

कांग्रेसले उनलाई ७५ सदस्यीय केन्द्रिय चुनाब प्रचार प्रसार समितिमा मात्रै राखेको छैन, आर्थिक सम्ृद्धि र विकास उपसमितिको संयोजक पनि बनाएको छ ।

त्यतिमात्रै होइन, कांग्रेस महामन्त्री डा. शकांक कोइरालाले त अबको मुलुकको विकास गर्ने जिम्मा कांग्रेसले बिनोद चौधरीलाई दिनेसमेत बताइसकेका छन् ।

जिबनभर उद्योग/व्यवसायमा लागेका चौधरीमो सक्रिय राजनीतिमा प्रवेस अबसर र चुनौति दुबै हुनेछ । बाम गठबन्धनले बहुमत ल्याएर स्थायी सरकार सञ्चालन गरे भने राजनीतिक रुपमा त चौधरीलाई खासै चुनौति नहोला । तर व्यावसायिकरुपमा भने ठूलै चुनौतिको सामन गर्नुपर्ने देखिन्छ ।

तस्बीरहरु उनको ट्वीटरबाट लिइएको हो ।


क्लिकमान्डु