काठमाडौं उपत्यकामा नयाँ सहर बनाउन ५ विदेशी र ७ नेपाली कम्पनी इच्छुक




काठमाडौं । काठमाडौं उपत्यकाको ३ स्थानमा नयाँ सहर बनाउका लागि ५ विदेशी र ७ स्वदेशी कम्पनीले इच्छा देखाएका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले नयाँ सहर बनाउन प्रस्ताव मागेपछि यी कम्पनीले इच्छा देखाएका हुन् ।

प्राधिकरणले उपत्यकाको १ लाख २० हजार रोपनी क्षेत्रफलमा नयाँ सहर बनाउनका लागि ५ वटा विदेशी कम्पनी र ७ वटा स्वदेशी कम्पनीबाट ‘रिक्वेस्ट फर प्रपोजल ( आरएफपी)’ प्राप्त गरेको छ ।

प्राधिकारणले काठमाडौं जिल्लाको १ लाख रोपनी जग्गामा नयाँ सहर बनाउनका लागि अन्तराष्ट्रिय कम्पनीहरुको लागि टेण्डर मागेको थियो । यस्तै भक्तपुर र ललितपुर जिल्लाको १०/१० हजार रोपनी जग्गामा बन्ने नयाँ सहरका लागि स्वदेशी कम्पनीबाट टेण्डर माग गरिएको थियो ।

काठमाडौं जिल्लाको १ लाख रोपनी जग्गामा नयाँ सहर बनाउनका ५ वटा विदेशी कम्पनी टेण्डर प्रक्रियामा थिए । प्राधिकारणको आन्तरिक मुल्याङकन समितिले ५ वटै विदेशी कम्पनी छनोट गरेको थियो ।

समितिबाट छनोट भएका ५ वटै विदेशी कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनका लागि आरएफपी पठाएको उपत्यका विकास प्राधिकारणका सहरी योजना विज्ञ भागवतभक्त खोखालीले जानकारी दिए ।

‘काठमाडौंमा नयाँ सहर बनाउनका लागि ५ वटा विदेशी कम्पनीले आरएफपी पठाएका छन्, एउटा फिनल्याण्डको र धेरै भारतीय कम्पनी छन्,’ खोखालीले क्लिमाण्डूसँग भने ।

यस्तै, भक्तपुर र ललितपुर जिल्लाको १०/१० हजार रोपनी जग्गामा नयाँ सहर बनाउनका लागि ७ वटा स्वदेशी कम्पनीले आरएफपी बुझाएको खोखालीले जानकारी दिए ।

स्वदेशी कम्पनीले कात्तिक २६ गते र विदेशी कम्पनीले कात्तिक ३० गते आरएफपी बुझाएका प्राधिकरणको भनाइ छ ।

प्राधिकारणले ३ वटै सहरका लागि छुट्टाछुट्टै प्रस्ताव माग गरेको थियो ।

हाल ३ सहरमध्ये ललितपुर जिल्लाको आरएफपीको आन्तरिक मुल्याङकन चलिरहेको छ । ललितपुरपछि भक्तपुर र काठमाडौं जिल्ला आरएफपीको अध्ययन गरिने खोखालीले बताए ।

‘आरएफपी पठाउने कम्पनीहरुको प्राविधिक, आर्थिक र कार्य क्षमता आन्तरिक मुल्याङकनमा हेरिन्छ, न्युन मुल्यमा स्तरीय काम गर्ने कम्पनीलाई समितिले डीपीआर बनाउने जिम्मा दिन्छ,’ खोखालीले भने ।

नयाँ सहर बन्ने स्थान

(क) काठमाडौं ईसान (पूर्व-उत्तर) नयाँ सहर विस्तार क्षेत्र

पूर्वः भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म ।

पश्चिमः जोरपाटी क्रिकेट स्टेडियम, मुलपानी, गोठाटर हँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटो ।

उत्तरः साँखु बजार र साँखु जाने मुल सडक ।

दक्षिणः भक्तपुर पुरानो बाटो (नेपाल सैनिक प्रतिष्ठान-खरिपाटी, देवोमिबा इतापाके जग्गा एकिकरण आयोजना, सिन्टीटार जग्गा एकिकरण आयोजना र दिव्यश्वरी जग्गा एकिकरण आयोजना बाहेकको क्षेत्रहरु मात्र) भित्रको करिब १ लाख रोपनी क्षेत्रफल जग्गामा नयाँ नगरको भौतिक विकास योजना तर्जुमा गर्ने ।

(ख) काठमाडौं आग्नेयः (पूर्व–दक्षिण) काठमाडौं उपत्यकाभित्र भक्तपुर जिल्लाको नयाँ सहर विस्तार क्षेत्र ।

निम्न सिमानाभित्रको कटुन्जे, गुण्डु, दधिकोट, शिरुटार, बालकोट भित्रको जग्गाहरु ।

पूर्वः अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि सुर्यविनायक मन्दिर अगाडी वनलाई बाहिर पार्दै फेदको बाटो ।

पश्चिमः खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्याकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्ग सिमान ।

उत्तरः अरनिको राजमार्गको सिमाना ।

दक्षिणः भक्तपुर जिल्लाको सिनामंगल, रानीकोट जंगल छेउ, अनन्तलिगेश्वर फेदी, तर्खगाल, पात्लेटार, विरुवा हुँदै खहरेसम्म करिब १० हजार रोपनी क्षेत्रफल ।

(ग) काठमाडौं तैऋत्यः (दक्षिण-पश्चिम) ललितपुर जिल्लाको नयाँ सहर विस्तार क्षेत्र ।

निम्न सिमानाभित्रको साविको खोकना (१, २, ३, ४, ५, ६, ७, ८) र बुङमती (१ नम्बर वडाको भैंसिपाटी छम्पी जाने मुख्यबाटोबाट बस्ती तर्फ मात्र, र २, ३, ४, ५, ६ को सबै) नगरपालिकाका जग्गाहरु ।

पूर्वः छेयासीकोटदेखि साविक सैवु गाविसको सिमान हुँदै फसिडोल, वाग्मती नदीको झोलगे पुलसम्म ।

पश्चिमः बागमती नदी सिमना ।

उत्तरः साविक सैंबु गाविसको सिमाना ।

दक्षिणः बागमती नदीसम्म करिब १० हजार रोपनी क्षेत्रफल ।

(घ) काठमाडौं उत्तरः काठमाडौ जिल्लाको नयाँ हरित सहर विस्तार क्षेत्र ।

पूर्वः सामाकोसी, टोखा रोड हुँदै बाइपास ।

पश्चिमः काभ्रेस्थली बाइपास जाने मुल सडक ।

उत्तरः सपनातिर्थ मालुङ हुँदै काभ्रेस्थली ।

दक्षिणः ग्रीनल्याण्ड चोकदेखि मनोरथ हुँदै महादेव खोला काभ्रेस्थलीको मुल सडक पुलसम्म करिब १० हजार रोपनी क्षेत्रफल ।


क्लिकमान्डु