विद्युतीय कार उत्पादनमा उच्च प्रतिस्पर्धा, फक्सवागनले ४० अर्ब डलर लगानी गर्ने



काठमाडौं । युरोपकै ठूलो कार निर्माता कम्पनी फक्सवागनले आफ्नो सम्पूर्ण ध्यान विद्युतीय कारण उत्पादनमा लगाउने घोषणा गरेको छ । कम्पनीले आगामी पाँच वर्ष अर्थात् २०२२ सम्ममा विद्युतीय कार, अटोनोमस सवारी र डिजिटलाइजेसनमा ३४ अर्ब युरो अर्थात् ४० अर्ब डलर खर्चिने घोषणा गरेको हो ।

अटोमोटिभ उद्योगमा देखापरेको प्राविधिक परिवर्तनको चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा फर्मको बोर्डमा भएको परामर्श कार्यक्रमपछि यो निर्णय गरिएको जनाइएको छ ।

फक्सवागनका प्रमुख कार्यकारी अधिकृत माथियास मुइलरले यो बृहत् आकारको लगानी कार्यक्रमले आफ्नो कम्पनीलाई विद्युतीय सवारीमा विश्वकै नम्बर १ बनाउने विश्वास व्यक्त गरेका छन् ।

योजनाका अनुसार फक्सवागनको जुइकाउमा रहेको प्लान्ट ‘ई–मोबिलिटी प्लान्ट’ रुपमा आउनेछ । लोकप्रिय पासाट लाइनको उत्पादन आगामी २०१८ देखि इमडेनमा केन्द्रित हुने र गल्फ फेमिलीका कारहरू वल्फबर्गमा उत्पादन गरिनेछ ।

फक्सवागनले अगामी २०२५ सम्ममा ८० भन्दा बढी मोडलका नयाँ विद्युतीय कार सार्वजनिक गर्ने लक्ष्य निर्धारण गरेको छ । २०३० देखि कम्पनीले प्रत्येक ३ सय कारमा एउटा विद्युतीय कार ल्याउने इच्छा व्यक्त गरेको छ ।

यो अटोमोटिभ उद्योगले बढ्दो अवस्थाको चिनियाँ बजारलाई विद्युतीय सवारीको केन्द्रमा राखेर काप गर्ने योजनाको पनि घोषणा गरेको छ । यो लक्ष्यप्राप्तिका लागि आगामी ७ वर्षको अवधिमा चीनमा १० अर्ब युरो लगानी गर्ने पनि फक्सवागनले जनाएको छ ।

फक्सवागन चीन विभागका प्रमुख जोचेन हिजम्यानले आगामी २०२० देखि चिनियाँ बजारमा प्रत्येक वर्ष ४ लाख विद्युतीय सवारी बिक्री गर्ने लक्ष्य राखेका छन् ।


क्लिकमान्डु