नेपाल पहिलो पटक ग्लोबन बोर्डमा निर्वाचित



काठमाडौं । नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को ग्लोबल बोर्ड सदस्यमा निर्वाचित भएको छ ।

मलेसियाको क्वालालमपुरमा १४ देखि १७ नोभेम्बरसम्म भएको ग्लोबल कंग्रेस तथा आइसीएको साधारण सभाबाट राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्ल १५ सदस्यीय ग्लोबल बोर्ड सदस्यमा निर्वाचित भएकी हुन् ।

नेपाल सन् १९९७ देखि आइसीएको सदस्य भएको भए पनि पहिलो पटक ग्लोबल बोर्ड सदस्यमा निर्वाचित भएको राष्ट्रिय सहकारी महासंघले जनाएको छ ।

राष्ट्रिय सहकारी महासंघ देशभरि रहेका ३४ हजारभन्दा बढि सहकारी संघ÷संस्था र ६० लाखभन्दा बढि सहकारीकर्मीको साझा संगठन हो ।

मल्ल अन्तर्राष्ट्रिय सहकारी महासंघ(आइसीए) को ग्लोबल बोर्ड सदस्यमा निर्वाचित भएपछि राष्ट्रिय सहकारी महासंघले नेपालको सहकारी अभियानका लागि यो ठूलो उपलब्धी भएको बताएको छ ।

विश्व सहकारी अभियानसँग नेपालको सहकारी अभियानलाई जोड्ने अवसरका रुपमा यो विजयीलाई लिएको महासंघका महाप्रबन्धक रामभजन शाहले बताए ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ विश्व सहकारी अभियानको छाता संगठन हो । विश्वका ९५ भन्दा बढि देशका सहकारी अभियानका शिर्ष निकायहरु यसमा आवद्ध छन् । विश्व सहकारीको मुल्य, मान्यता र सिद्धान्तको प्रतिपादन अन्तर्राष्ट्रिय सहकारी महासंघले गर्दछ ।

पूर्व सांसद् तथा सविधानसभा सदस्य मल्ल लामो समयदेखि सहकारी अभियानमा क्रियाशिल छन् । उनी राष्ट्रिय सहकारी महासंघकी पहिलो महिला उपाध्यक्ष समेत छन् ।


क्लिकमान्डु