कैलाश मानसरोवरको अदभुद् यात्रा



काठमाडौं । भगवान भोलेनाथको निवास कैलाश– मानसरोवरको दैलोमा कतिले आफनो पैदल खडा गरेर आफनो शिर टेकाए होला, त्यो सायद भोलेनाथको खातामा मात्र अंकित होला । त्यस सूचिमा मेरो पनि नाम अंकित होला भन्ने कल्पना म यति वेला गर्न पाउँदा खुशीको सीमा मसँग कोरिएको छैन । यो असिम अवसर मेरो जीवनमा भगवान भोलेनाथ कै कृपाले प्राप्त भएको विश्वास म गर्दछु ।

कैलाश मानसरोवरको पावन भुमिमा जाने अवसर गत दशैँ भन्दा केही अघि प्राप्त भयो । कैलाश मानसरोवर तीर्थको महत्व आफैमा कति छ भन्ने बुझ्न शास्त्रिय महत्व बुझेका सवैलाई यसको अवगत छँदै छ । तीर्थहरुको पनि तीर्थ अर्थात महातीर्थ भनेर चिनिने यस यात्रा कठिनाईले पनि भरिएकै छ । कैलाश मानसरोवरको यात्रापछि यो विश्वलाई पर्यटन उद्योगको अवधारणा हाम्रो पूर्विय दर्शनले दिएकोमा म शतप्रतिशत टुंगोमा पुगें । हाम्रा जति पनि तीर्थस्थलहरुलाई गहिरो गरि केलाएर हेर्ने हो भने सबैजसो हिमाल, पहाड र तराईलाई जोड्ने गरि निर्मित छन् । हवाई यातायात क्षेत्रको विकास नभएको सन्दर्भकै वेलादेखि एक ठाउँका मानिस अर्काे विभिन्न ठाउँमा यात्रा गर्ने अवधारणा कति धेरै दुरगामी रहेछ भन्ने हामी सहजै बुझ्न सक्दछौं ।

ल्हासा विमानस्थल मैले अनुमान गरे भन्दा निकै ठुलो रहेछ । त्यति उच्च हिमाली भुभागमा तीन साढे तीन सय मानिस बोक्न सक्ने वाईड वडि जहाज उड्न सक्ने विमानस्थल मैले सोचेकै थिईन ।

मेरो १५ दिनको कैलाश मानसरोवर यात्रा, काठमाडौं–ल्हासा हुँदै शुरु भयो । ३७ सय मिटर उचाई रहेको ल्हासाको मौसमको कुनै ठेगाना नहुने रहेछ । हेर्दा घमाईलो रहे पनि हावाको गतिले गर्दा जहाज ओर्लन सक्ने नसक्ने निर्धारण हुने रहेछ । अझ त्यसमाथि भर्खरै मात्र चीन र भारत बीचको डोकलाम तनावले केही मत्थरता पाए पनि जुन कुनै बेला सामान्य उडान प्रभावित हुन सक्दो रहेछ । किनकी ल्हासा विमानस्थल चीनको त्यस क्षेत्रको आधार सैनिक हवाई हड्डा रहेछ । काठमाडौंबाट उड्यौँ तर सवा एक घण्टाको उडान अवधी भएता पनि जहाज रोकिने कुनै सुरै गरेन । पछि मौसमका कारण ल्हासा ओर्लन नसक्ने भएकाले मुख्य भुमी चीनमा पर्ने छेन्दु जाने सूचित गरियो । झिलिमिली चमक धमकको प्रकाशमा छेन्दु विमानस्थल उत्रियौं ।

विहान ६ बजेको उडानबाट दुई घण्टाको उडान भर्दै ८ बजे ल्हासा पुग्दा, तातो प्रकाश बोकेर रवि हामीलाई स्वागत गर्न आतुर थियो । ल्हासा विमानस्थल मैले अनुमान गरे भन्दा निकै ठुलो रहेछ । त्यति उच्च हिमाली भुभागमा तीन साढे तीन सय मानिस बोक्न सक्ने वाईड वडि जहाज उड्न सक्ने विमानस्थल मैले सोचेकै थिईन । विमानस्थलबाट करिव ५० मिनेटको यात्रा पछि ल्हासाको केन्द्र पुगियो । त्यसदिन ल्हासामा रहेको दलाई लामाको पोताला दरवार घुम्न निस्कियो ।

भृकुटीले नेपालबाट कालिगढ लगेर यो गुम्बा निर्माण गराएको इतिहास नेपालीकालागि गौरवको विषय हो । गुम्बाको भित्रि भागमा नेपालको काठमाडौं, पाटन र भक्तपुरका कला प्रष्ट झल्किएका छन् ।

यस दरवार रातो र सेतो रंगको गरि दुई भागमा विभाजित रहेछ । दरवार पुग्न एक सय मिटर उचाई नाप्नु पर्ने रहेछ यानेकी ल्हासा बजार ३७ सय मिटर उचाईमा भने पोताला दरवार ३८ सय मिटर उचाईमा । कतिपय मानिसहरुलाई त त्यहीं लेक लाग्ने रहेछ । दरवार भ्रमण कैलाश मानसरोवार यात्रामा निस्कनेहरुकालागि एउटा अभ्यास पनि हुँदो रहेछ । हाम्रो ४१ जनाको टोलिमा चार जनाले दरवारको यात्रा गर्न सक्नु भएन । लेक लागेकाले फर्कनु भयो ।

तेस्रो दिन हामी गएको एजेन्सीका म्यानेजर र टिमले तीर्थालुलाई थप एक दिन ल्हासामा नै राख्ने निर्णय गर्नुभयो । उचाईको अभ्यास गर्न र सो अनुसार शरीरले त्यसको प्रभाव थेग्न सकोस (जसलाई अक्लोमेटाईजेशन भनिन्छ) भनि त्यसो गरेकाले त्यस दिन ल्हासाको केन्द्रमा रहेका र मुख्य गुम्बा जोखाङ्ग गुम्बा घुमाउनु भयो । यो गुम्बा नेपाली चेली भृकुटीको विवाह तिब्बतका राजा श्रङचङ्ग कम्पोसंग भएर गएपछि निर्माण गरिएको हो ।

भृकुटीले नेपालबाट कालिगढ लगेर यो गुम्बा निर्माण गराएको इतिहास नेपालीकालागि गौरवको विषय हो । गुम्बाको भित्रि भागमा नेपालको काठमाडौं, पाटन र भक्तपुरका कला प्रष्ट झल्किएका छन् । यस गुम्बालाई सवै तिब्बतीले अति नै श्रद्धापुर्वक लिने गर्दा रहेछन । आफना स–साना बालबालिकालाई आशिर्वादकालागि यहाँ ल्याउने रहेछन् । श्रद्धालुको खुव भिड लाग्ने रहेछ ।

अर्काे दिन हामी ल्हासाबाट करिव ५ सय किलोमिटरको यात्रा गरि सिगात्से पुगियो । जुन शहर नेपालको केरुङ्ग नाकाबाट नजिक पर्छ । सो दुरी ५ सय किलोमिटरको छ । फराकिलो चार लेनको सडक भएता पनि सडकको अवस्था अनुसार निश्चित गतिमा मात्र सवारी चलाउन पाईने रहेछ । ठाउँ ठाउँमा राखिएका सीसी टीभी क्यामराले हरेक सवारीको गति लिंदा रहेछन । यति तोकिएको नियम विपरित चले चालकको लाईसेन्स क्यान्सिल हुने हुँदा सीमा मिच्ने त कल्पना पनि नहुँदो रहेछ ।

सिगात्सेमा एक रात विताएर भोलीपल्ट सवेरै विहानको खाजा खाई सागा तर्फ लागियो । यस दिन एउटा ५ हजार मिटर उचाईको पास सहित अन्य ४५ मिटर उचाईका ५ वटा पास पार गरियो । यस दिन यात्रा गरेको मध्ये केही सडक मर्मत गर्न लागिएकाले यात्रा केही लामो र कठिन पनि भयो । दिन प्रति दिन उचाई बढ्दै गएकाले हामीलाई गाईडले दुई चार मिनेटको फरकमा पानीले मुख भिजाउन भनिरहेका थिए । यानेकी थोरै थोरै गरेर पानी खाई रहनु पर्ने । छिटो छिटो पानी खाए पनि पानीले निकास खोज्ने नै भयो, अनि छिटो छिटो पिसाव फेर्नुपर्ने पनि ।

साँझ अवेर सागा पुगियो । भोलीपल्ट मानसरोवर पुग्ने र पहिलो पटक आफैले प्रत्यक्ष कैलाशको दर्शन गर्न पाउने मिठो कल्पना गर्दै सागामा सुतियो । विहान सवेरै त्यहाँबाट बाटो तताईयो मानसरोवरतर्फ । अनेकौ अग्ला पास पार गर्दै अपराान्ह्र ४ बजे मानसरोवर पुगियो । मौसमले हामीलाई साथ दिएकाले त्यहीबाट पहिलो पटक कैलाशको दर्शन पनि पाईयो । सवै यात्रीमा खुशीको सिमा रहेन । कोही हर्षले ध्वा ध्वा रुँदै थिए । कोही नमस्कार गर्दै अनेक शिव मन्त्रहरु पाठ गर्दै थिए । मानसरोवर स्नान गरियो ।

त्यहाँबाट कैलाशको आधार शिविर मानिने दार्चेन तर्फ अघि बढने क्रममा राक्षस तालको नामले परिचित स्कन्द सागर हेरियो । यस तालमा कसैले पनि स्नान गर्ने रहेनछन् ।

१०५ किलोमिटर फराकिलो यस सरोवरको पानीको रंग फरक फरक हुने रहेछ । हामी करिव ५५ किलोमिटर दुरी वसबाट यात्रा गरि साँझ त्यही बसियो, त्यहाँबाट कैलाशको दर्शन अविछिन्न हुने रहेछ । भोली पल्ट सूर्याेदय सहितको दर्शन गरि विधिपूर्वक हवन गरियो । यस यात्रामा हामीलाई मौसमले अति नै साथ दिएकाले मानसरोवरको किनारामा पूर्ण विधीपूर्वक हवन गरियो ।

त्यहाँबाट कैलाशको आधार शिविर मानिने दार्चेन तर्फ अघि बढने क्रममा राक्षस तालको नामले परिचित स्कन्द सागर हेरियो । यस तालमा कसैले पनि स्नान गर्ने रहेनछन् । मानसरोवरबाट पानी यस राक्षस तालमा आउने रहेछ । र राक्षस ताल सिन्धु, ब्रम्हपुत्र, सतलज र कर्णाली नदीको मुहान हो । कैलाश पर्वतबाट आउने जल पनि यही राक्षस तालमा नै आएर मिस्सिने रहेछ । चन्द्राकार यस तालमा तन्त्र साधना गर्ने अति थोरै मानिसहरुले मात्र स्नान गर्ने गर्दछन् भन्ने सुनियो । अनि सोही दिन हामी दार्चेन पुग्यौं ।

दार्चेन पुग्नु अघि कैलाशलाई अति नै नजिकबाट र प्रष्ट देखिने स्थलबाट कैलाश, नन्दी, अष्टपद, आत्मलिंङघमको दर्शन गरियो, जुन अति नै महत्वपूर्ण रह्यो । एक रात विताएर त्यहींबाट हाम्रो कैलाशको प्रदक्षिणा आरम्भ भयो । त्यहाँबाट यमद्धार हुदै यात्रा थालियो । यमद्धारबाट कैलाशको महाकालेश्वर स्वरुप दर्शन गर्न पाईयो ।

कैलाश पर्वतबाट अविच्छिन्न रुपमा आएको हिउँ अर्थात ग्लेसियरलाई शिवको चरण मानिने रहेछ र त्यसलाई दर्शन गर्नु चरणस्पर्श ।

यमद्धारबाट सक्नेले पैदल यात्रा र नसक्नेले घोडाबाट यात्रा गर्ने चलन रहेछ । दुई जना अमेरिकन र मैले पैदल यात्रा गर्यौं । त्यसदिन २२ किलोमिटर यात्रा गरि करिव ५ हजार मिटरको देरापुक पुगियो । मान्छे उडाउला जस्तो हावा चल्ने यस स्थानमा बलियो टिनले बारेका र ठुला ठुला कोठा भएका वासस्थान बनाईएको रहेछ, हामी त्यही बस्यौं । चीन सरकारले त्यहीं ठुलो होटल निर्माण गर्दै रहेछ । एक वर्षपछि यस यात्रामा रहनेले यही होटलमा वास बस्न पाउने छन् ।

भोलीपल्ट यस यात्राको अति नै महत्वपूर्ण चरणमा हामी हिँड्यौ – त्यो थियो भगवान भोलेनाथको चरणस्पर्श । कैलाश पर्वतबाट अविच्छिन्न रुपमा आएको हिउँ अर्थात ग्लेसियरलाई शिवको चरण मानिने रहेछ र त्यसलाई दर्शन गर्नु चरणस्पर्श । ५ किलोमिटर यात्रा गरि हामी ५ हजार ४ सय मिटर उचाईमा रहेको चरणमा पुग्यौं र चरणस्पर्श गर्यौं । त्यहाँ धेरै समय बसिरहन नमिल्ने भएकाले अरु भन्दा छिटो हिडि सवैभन्दा पहिला पुगें र त्यहाँ साधना गरि टोलिको सवै भन्दा पछि त्यहाँबाट फर्किएँ । त्यस दिन ५ हजार मिटर उचाईमा हामीले दश किलोमिटर यात्रा गर्यौं र सो दिन फेरि देरापुकमा नै बस्यौं । भोलीपल्ट हामीले यस यात्राको सवै भन्दा कठिन चरण पार गर्नु थियो ।

विहान सवेरै हामीले अगाडिको यात्रा तय गर्यौ । यस दिन हामीले ५ हजार ८ सय मिटर उचाईको डोल्माला पास पार गर्नु थियो । लेक लाग्ने र यात्रा निरन्तरता हुन नसक्ने खतरा जतिवेला पनि रहने भएकाले विशेष सतर्कता आवश्यकता थियो नै । मैले ५ किलो तौल सहितको झोला पनि बोकेकै थिए । हिमाली भेगको यस उचाईमा ५ किलो तौलले ५० किलो तौल भन्दा बढि थकान दिनेवाला थियो । तथापी आफूलाई चाहिने सामानसहित थोरैमा पनि तीन लिटर पानी बोक्नु पर्ने भएकाले तीन लिटर पानी पनि साथैमा थियो ।

यस दिन मैले २२ किलो मिटर बाटो हिडें । केही क्षणको हल्का तेर्सो अनि ठाडो हुँदै डोल्माला पास नजिकको चार किलोमिटर निकै ठाडो यात्रा गरियो । जव सवै भन्दा कठिनको ५ हजार ८ सय मिटरको डोल्माला पास पुगियो यात्रालाई सफल बनाउन करिव करिव सकेकोमा खुशी हुने नै भयो । तर त्यस स्थानमा खुशीले मातिएर जथाभावी हल्लिचल्ली गरे आफैलाई समस्या आउन सक्ने भएकाले संयमता आवश्यक निरन्तर आवश्यकता पर्दछ ।

मौसम अत्यन्त अनुकुल भएकाले डोल्माला पासमा हिउँ थिएन तर नजिकै हिउँ थियो । पासमा पुग्दा खुशी साट्दै गरेका हिन्दू धर्मावलम्वी, बुद्ध धर्मालम्वी, जैन, शिख र पश्चिमी देशका यात्रालुको खुशीले उर्जा दिई राखेको थियो । हाम्रो टिममा यात्रा गर्ने १२–१५ जनाले यस यात्राका क्रममा देरापुकबाट अघि निरन्तरा दिन सक्नु भएन त्यहींबाट फर्कनु भयो ।

डोल्मालाबाट फेरि ठाडो ओरालो झरियो । ओरालो झर्दै गर्दा त्यहाँ गौरी कुण्डको दर्शन मिल्दछ । करिव ५ किलोमिटर यस ठाडो बाटोमा घोडामा यात्रा गर्नेले पनि पैदल नै हिड्नु पर्छ । किनकी यस्तो ठाडो बाटोमा घोडाले मान्छे बोक्न सक्दैन । मैले सहजै यस यात्रा पार गरैं । कैलाश यात्रा थाल्नु २ महिना अघिदेखि काठमाडौंमा विहान विहान दौडदैं गरेको अभ्यासले मलाइ यात्रामा केही सहज गरायो । हामी साँझ ५ बजे त्यस दिनको बासबस्ने ठाउँमा पुग्यौं । सवैभन्दा कठिन चरण पार गरेकोमा हामी सवै यात्रालुमा खुशी छायो ।

भोलीपल्ट विहानै हाम्रो यात्रा शुरु भयो । यस दिन फेरि १० किलोमिटर यात्रा पैदल गर्दै हामी दार्चेन आयौं । यस प्रदक्षिणामा हामीले कैलाशको ८ वटै कोणबाट दर्शन गर्न पायौं । मौसम राम्रो भएकाले कुनै पनि ब्यवधान बिना सवै दिशाबाट दर्शन गर्न पायौं । कैलाश मानसरोवरको यस यात्रा सफलतापूर्वक यात्रा गर्न सकेकोमा मनमा खुशी भयो ।

यदि तपाईहरु पनि यस यात्रामा जान चाहनु हुन्छ भने केही सावधानी अपनाउन अत्यन्त आवश्यक छ । धेरै उचाईमा जाने भएकाले गाईडले भनेको पूर्ण रुपमा पालना गर्नु अनिवार्य हुन्छ, अन्यथा जुन कुनै वेला ज्यान जान सक्छ । यो क्षेत्र अति नै चिसो र हावा चल्ने भएकाले बाक्ला ज्याकेट, पञ्जा, मोजा, जुत्ता, लट्ठी लैजानु अत्यावश्यक हुन्छ । साथै आफूलाई आवश्यक पर्ने अत्यावश्यक औषधीहरु साथमा राख्नु पर्दछ ।

चकलेट, लसुन, चुइगम, बदाम, काजु, किसमिस, क्याटवरी, स्नीकर जस्ता खाने र चपाउने सामान बोक्दा यात्रा सहज हुन्छ । सवैभन्दा ठुलो कुरा मनमा यात्रा गर्न सक्ने मनोवल आवश्यक पर्छ । भगवान भोलेनाथको दर्शन गर्ने उत्कट अभिलाषा सहित मनोवल उच्च बनाए यात्रा अवश्य सम्पन्न हुन्छ ।

कैलाशपति महादेव की जय ।


क्लिकमान्डु