इन्टरप्राइज नेपाल बिजनेस एक्सेलेरेटर प्रोग्रामको तेस्रो संस्करण समापन



काठमाडौं । उद्यमशीलता प्रवर्धन गर्ने उदेश्यले संचालन गरिएको इन्टरप्राइज नेपाल बिजनेस एक्सेलेरेटर प्रोग्रामको तेस्रो संस्करण समापन भएको छ |

इन्टरप्राइज निजी क्षेत्रले संचालन गरेको नयाँ अवधारणाको कार्यक्रम हो | यस कार्यक्रममार्फत नेपाली कम्पनीहरूलाई नयाँ अनि सिर्जनात्मक तरिकाले वस्तु उत्पादन, सेवा प्रवाह तथा लगानीका लागि पूँजी संकलन गर्न सिकाइन्छ | यो कार्यक्रमले सहभागी कम्पनीहरूको व्यापार व्यवसायलाई थप नयाँ उचाइमा पुर्याउन मद्दत गर्दछ | अन्ततः युवा पुस्तामा उद्यमशीलता प्रवर्धन गरि रोजगारी मार्फत मुलुककै अर्थतन्त्रमा योगदान पुर्याउन सकुन् भन्ने उदेश्यले यस कार्यक्रम संचालन गरिएको आयोजकले जानकारी दियो |

इन्टरप्राइज बिजनेस एक्सेलेरेटरको तेस्रो संस्करणमा देश भरका १००० भन्दा बढी कम्पनी तथा तिनका प्रवर्द्धकले सहभागी हुने इच्छा राखेका थिए | यी मध्येबाट सबैभन्दा उपयुक्त ५ वटा कम्पनीहरू छानिएका थिए |  एमिनेन्स वेज प्रा. लि., भूमि फुड प्रोडक्ट्स, कस्टमाइज्द फर्निचर, सोर्स कोड प्रा. लि. र द फिजिक वर्कशप यस कार्यक्रममा सहभागी हुन छानिएका कम्पनीहरू हुन् |

बुधवार १२ हप्तासम्म सिकेका सैद्धान्तिक एवं व्यवहारिक ज्ञानका बारेमा प्रस्तुतीकरण (डेमो) गरेर इन्टरप्राइज कार्यक्रमको तेस्रो संस्करण पुरा गरिएको हो |

‘डेमो डे’ का रूपमा होटेल र्याडिसनमा २०० जना भन्दा बढी लगानीकर्ता तथा सरोकारवालाको उपस्थितिमा सहभागी कम्पनीहरूले कार्यक्रमका उपलब्धिलाई संक्षिप्त रूपमा प्रस्तुतीकरण गरेको आयोजकले जनाएको छ |

इन्टरप्राइज नेपालको लगानी, परामर्श तथा व्यवस्थापनको छेत्रमा काम गर्ने संस्था – True North Associates को लगानी तथा व्यवस्थापनमा संचालन भइरहेको कार्यक्रम हो | यो कार्यक्रम नेपाल युवा उद्यमी मंच (एन. वाई. ई. एफ.) को पहलमा ओक्लोहोमा विश्वविध्यालय अन्तर्गतको द रोनी के इरानी सेन्टर फर द क्रिएसन अफ इकोनोमिक वेल्थ (आई-सीसीईडब्लु)को साझेदारीमा सुरुवात भएको हो |


क्लिकमान्डु