पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा सम्याउन शुरु



पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गा सम्याउन शुरु गरेको छ ।

डोजर, एक्साभेटर, लोडर र टिपरले जग्गा सम्याउने, माटो ओसार्नेलगायत काम गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए।

अहिले एक सयभन्दा बढी नेपाली कामदार विमानस्थलको निर्माणमा खटिएका छन् । कम्पनीका प्रमुख जेरी याङले यस वर्षको हिँउदयामभरी विमानस्थलको सबै जमिन सम्याउने र अर्को वर्षबाट टर्मिनल भवनको काम थाल्ने बताए ।

कम्पनीले  कार्यालय भवन, प्राविधिक तथा मजदुर बस्ने अस्थायी भवनको निर्माण सकेको छ ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्ने ४२ वर्षदेखिको पोखरेलीको सपना हो । मुलुककै गौरवशाली आयोजनाको रुपमा रहेको सो विमानस्थलको निर्माण सन् २०२० जुलाई सम्ममा सक्ने लक्ष्य राखिएको छ ।

विसं २०३२ मा पोखरा–लेखनाथ महानगरपालिका–१४ छिनेडाँडामा विमानस्थल निर्माण गर्न तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएको थियो । पछि थप ६२९ रोपनी जमिन अधिग्रहण गरिएको हो । चीनको एक्जिम बैंकको करिब रु २२ अर्बको ऋृण सहयोगमा विमानस्थल निर्माण गरिन लागिएको हो ।


क्लिकमान्डु