विकास तथ्यांकसम्बन्धि भिडियोहरू सार्वजनिक



काठमाडौं । केन्द्रीय तथ्यांक विभागको प्राविधिक सहयोगमा विकास उद्यमीले नेपालको विकास क्षेत्रका विभिन्न पक्षहरूलाई समेट्ने भिडियोहरू सार्वजनिक गरेको छ । ति भिडियोहरूले उपलब्ध भएका डाटा र तथ्यांकहरूको माध्यमबाट कसरी डाटा साक्षरता र नीति निर्माणको क्षेत्रमा काम गर्न सकिन्छ भन्ने बारेमा प्रकाश पारेका थिए ।

नेपाल इन डाटा इभिनिङ नामक एक कार्यक्रम आयोजना गरी ति भिडियोहरू सार्वजनिक गरिएको हो । भिडियोहरूको निर्माण दि एसिया फाउन्डेसनले अन्य विकास अभियानहरू र युके डिपार्टमेन्ट फर इन्टरनेसनल डिभलपमेन्ट मार्फत लागु गरिएको ‘नेपालको विकासको लागि डाटा’ कार्यक्रममार्फत बनाइएको हो ।

कार्यक्रममा वक्ताहरूले नेपालमा डाटा साक्षरताको महत्वको बारेमा बोल्दै प्रविधिको प्रयोग मार्फत साक्षरता फैलाउनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा देखाइएका भिडियोहरूले नेपालको समकालीन मुद्धाहरू जस्तै गरिबी र असमानता, जनसांखिकिय लाभांस, सचेतकको रूपमा मिडिया, उर्जा, उत्पादन, महिला हिंसा, जलवायु परिवर्तनको असर जस्ता विषयहरू समेटेका आयोजकले जानकारी दिएको छ।

भिडियोहरू विश्व चर्चित तथ्यांकशास्त्री तथा ग्यापमाइन्डर फाउन्डेसनका संस्थापक हान्स रोसलिङका भिडियोहरूबाट प्रभावित छन् । कार्यक्रममा ग्यापमान्डर फाउन्डेसन स्वीडेनबाट आएका फरनान्डा ड्रुमोन्ड र मिस्टर ओलभले सत्यतामा आधारित दृष्टिकोण कसरी बनाउने भन्ने बारेमा लेक्चर दिएका थिए ।

लेक्चर सुरु हुनुभन्दा पहिला दर्शकहरूलाई नेपालको विकास र यसका विभिन्न पक्षहरूको बारेमा के कति जानकारी र ज्ञान छ भन्ने जाँच्न प्रश्नहरू पनि सोधिएको थियो । कार्यक्रममा सहभागी हुनेहरूलाई डिजिटल डिभाइसमार्फत प्रत्यक्ष सहभागी समेत गरिएको थियो ।

समग्रमा नेपालमा डाटा र तथ्यांकको माध्यमबाट तथ्यमा आधारित नीति निर्माणमा भूमिका खेल्ने लक्ष्य लिएको छ ।


क्लिकमान्डु