उपत्यकाका केबल टेलिभिजन अनुगमन हुँदै, क्रमिक रुपमा एनालग सेवा बन्द हुने



काठमाडौं । सूचना तथा संचार मन्त्रालयले सरकारले शहरी क्षेत्रमा संचालनमा रहेका एनालग केबल टेलिभिजन सेवा आजबाट क्रमिकरुपमा बन्द गराउने भएको छ ।

केहि दिनअघि मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै २७ गतेसम्म सबै केबल टिभिहरुलाई एनालगबाट डिजिटलमा रुपान्तरण गर्ने अन्तिम मौका दिएको थियो । सोहि सूचनाको आधारमा सरकारले कात्तिक २८ गतेदेखि महानगर, उपमहानगर र नगरपालिका क्षेत्रमा संचालित एनालग केबल टिभि बन्द गराउन लागेको हो ।

मन्त्रालयका अनुसार आज कात्तिक २८ गतेदेखि सबै केबल टिभीहरुको अनुगमन सुरु भएको छ ।

एनालग प्रशारण बन्द गराउनका लागि मन्त्रालयले नेपाल केवल टेलिभिजन महासंघ र नेपाल केवल टेलिभिजन व्यवसायी महासंघलार्इ पत्र पठाउँदै यस विषयको सूचना प्रशारणमा सहयोग गर्न समेत अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले भने गएको वैशाख १५ देखि नै डिजिटलाईजेसनको प्रकृया शुरु भईसकेको छ । सबै केवल टिभि क्रमशः डिजिटलमा रुपान्तरित हुन्छन् ।

‘हामीले अनुगमन सुरु गरिसकेका छौं । अब क्रमिकरुपमा एनालग बिस्थापन हुन्छ । अहिले एउटा खोल्सा वारी नगरपालीका र खोल्सापारी गाउँपालीका छ त्यसले चुनौति थपिएको छ । तर, यो आर्थिक बर्ष भित्र पूर्ण डिजिटलाईजेसन हुन्छ ।’ उनले क्लिकमाण्डूसँग भने ।

ढकालकाअनुसार हाल महानगर, उपमहानगर र नगरपालिका क्षेत्रमा सेवा दिईरहेका केवल टिभि सेवा प्रदायकहरुमध्ये केहि डिजिटलमा गईसकेको र केहि जाने क्रममा रहेका छन् ।

हालसम्म करिब ७० वटा केवल टिभि सेवा प्रदायक कम्पनीहरुले डिजिटलमा जानको लागि मन्त्रालयमा आवेदन दिईसकेका छन् ।

नेपालभर हालसम्म ८५२ वटा केवल टिभि सेवा प्रदायकले अनुमति पत्र लिएको मन्त्रालयको तथ्यांकमा छ ।


क्लिकमान्डु