मोबाइल सेवाको गुणस्तरमा गुनासो आएपछि नियमित परीक्षण गरिदै




काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवाको गुणस्तरको बारेमा गुनासो आएको भन्दै गुणस्तर परीक्षण गराउने भएको छ । प्राधिकरणले मोबाइल सेवाको गुणस्तर वृद्धि गराउनका लागि नियमितरुपमा परीक्षण गर्न लागेको हो ।

प्राधिकरणले केही दिनअघि नेपालमा मोबाइल सेवा संचालन गरिरहेका सेवा प्रदायक कम्पनीहरुसँग मोबाइल सेवा गुणस्तर सुधारको बारेमा छलफल गरेको छ । मोबाइल सेवा प्रदान गर्ने सबै कम्पनीहरुसँग गुणस्तर मापन नियमितरुपमा गर्ने प्रकृयाको बारेमा छलफल गरिएको प्राधिकरणका निर्देशक विजयकुमार रायले जानकारी दिए ।

‘हामीले क्वालिटि अफ स्ट्याण्डर्डको लागि नियमितरुपमा ड्राइभ टेस्ट गराउनका लागि आधारभूत मापदण्ड बनाउँदैछौं, त्यसको लागि कम्पनीहरुसँग छलफल गरिएको हो,’ निर्देशक रायले क्लिकमाण्डूसँग भने ।

यस्तो परीक्षण नियमितरुपमा विभिन्न स्थानहरुमा तोकेर गर्नुपर्ने छ भने सबैभन्दा धेरै मोबाइल प्रयोग हुने समय अर्थात पिक आवरमा परीक्षण गरिनेछ । प्राधिकरणले नेपाल टेलिकम, एनसेल, स्मार्टसेल र यूटिएलका अधिकारीहरुसँग ड्राइभ टेस्ट गराउनका लागि बनाउन लागिएको स्ट्याण्डर्ड अपरेसन प्रोसेड्यूरको बारेमा छलफल गरेको हो ।

विहान ९ बजेदेखि ११ वजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्मको अवधिमा मोबाइल सेवा अत्यधिक प्रयोग हुने हुँदा पिक आवरको रुपमा लिने गरिन्छ । यस्तो पिक आवरको समयमा मोबाइल सेवाको गुणस्तर न्यून भएको गुनासो आउने गरेको प्राधिकरणका निर्देशक रायले बताए ।

‘मलाई नै व्यक्तिगतरुपमा पनि मोबाइलको क्वालिटिको बारेमा कम्प्लेन आएका छन्, त्यस्ता कम्प्लेन संस्थागतरुपमा पनि आईरहेको छ, त्यसैले ड्राइभ टेष्ट गर्न लागेका हौं,’ उनले भने ।

हाल सबै मोबाइल सेवा प्रदायक कम्पनीहरुले ड्राइभ टेष्ट गर्ने गरेपनि त्यो टेष्ट नियमितरुपमा नहुने र आफ्नो आवश्यकताअनुसारको समय र दिनमा हुने गरेको छ । तर, नयाँ नियम लागू गरेपछि भने कम्पनीहरुले नियमितरुपमा ड्राइभ टेष्ट गरेर प्राधिकरणलाई जानकारी दिनुपर्ने हुन्छ ।

नियमित ड्राइभ टेष्ट गरेर मोबाइल सेवाको गुणस्तरलाई सुधार गर्न सकिने प्राधिकरणका निर्देशक रायको ठहर छ ।


क्लिकमान्डु