बिपीलाई ७५ हजार दिँदा सूर्यबहादुरलाई २१ लाख चन्दा दिन्थे ब्यापारी



अघिल्लो रातको सल्लाहअनुसार भोलिपल्ट पीताम्बर दाइ (पिताम्बर दाहाल, ठाकुरराम बहुमुखी क्याम्पसमा प्राध्यापन गराउनु हुन्थ्यो) ले शंकर केडियाको गद्दीमा पुर्याउनुभयो । शंकर केडियाँ नाउँ चलेका वीरगन्जका व्यापारी थिए ।

उनी व्यापार उद्योग सबै गर्थे । राजनीति र पत्रकारितादेखि समाजिक कार्य गर्ने सबैसँग समान पहुँच राख्थे । उनका बारेमा मैले यस्ता कुरा सुनेको थिएँ । भेट भएको थिएन । पीताम्बर दाइले केडियाबाट नियमित विज्ञापनको व्यवस्था म मिलाइदिन्छु, अखबारमा केही मद्दत गर्नुपर्छ भन्नुभयो ।

मैले केही पनि भनिनँ । उहाँसँगै केडियाको गद्दीमा पुगेँ । पीताम्बर दाइ पुग्नासाथ गद्दीमा बसिरहेकाहरु उठेर ‘माड्साब’ भन्दै नमस्कार गर्न थाले । उहाँको राम्रो पहुँच रहेछ । हामी पुगेको खबर तत्काल शंकरजीसामु पुग्यो र बोलाहट पनि आयो । शंकरजीले उठेर पीताम्बर दाइलाई नमस्कार गरे । अनि दाईले मेरो परिचय गराउँदै भन्नुभयो, ‘यिनी मेरो भाइ पुरुषोत्तम दाहाल हुन् । राष्ट्रपुकारमा काम गर्दै थिए, छाडेर अब नेपालवाणी प्रकाशित गर्न लागेका छन् । शंकरबाबुले सहयोग गर्नुपर्यो ।’

शंकर केडियाले चिया मगाए । त्यसै समय पन्चायतको कुनै सहायकमन्त्री त्यहाँ आएको खबर पुग्यो । उनले आफ्नो ‘मुन्सी’लाई भन े‘दुई हजार दिएर पठाउनु मलाई भेट्नु छैन ।’

म छक्क परे । सहाकयमन्त्री २ हजार लिन शंकर केडियाकहाँ पुग्दा रहेछन् र त्यति ठूलो अपमानित भएर पैसा लिन हिच्किचाउँदा रहेनछन् ? धत् म मनमनै पञ्चायती र पञ्चचरित्रमाथि धिक्कार गर्दै थिए ।

शंकरजीले हामीपट्टि फर्केरक भन्दै थिए, ‘मन्त्रीहरु र अञ्चलाधीहरुलाई महिनावारी नभरी हुँदैन । २÷४ हजार वेट र काम हेरेर दिनुपर्छ ।’ अनि उनले राष्ट्रपुकार र होमनाथ दाइ (होमनाथ दाहाल) को प्रशंसा गर्दै भने, ‘दाहालजीले मेराविरुद्ध खुब लेख्नुभयो, तर, केही माग्नुभएन उहाँ इमानदार हुनुहुन्छ ।’

‘सुर्यबहादुरलाई २१ लाख चन्दा दिएपछि मैले कोरियन एन्कर दूधको लाइसेन्स लिएँ । जसबापत झण्डै १ करोड २५ लाखभन्दा बढी कमाइ भयो । २१ लाख घटाउँदा १ करोड ४ लाख हात पर्यो । यो त व्यापार थियो । विपीलाई दिएको ७५ हजारको त मैले केही फाइदा लिइन ।’

र, उनले थपे, ‘म पनि कांग्रेस हुँ नि । मैले २०३६ सालको जनमत संग्रहमा विपी बाबु (विश्वेश्वर प्रसाद कोइराला) आउनुहुँदा ७५ हजार चन्दा थिएको थिएँ । उहाँ खुसी हुनुभयो । के गर्नु बहुदलले जितेन ।’

शंकर केडियाको कुरा सुनेर मलाई रमाइलो गर्न मन लाग्यो । मैले सोधे, ‘प्रधानमन्त्री सूर्यबहादुर थापाले चाहिँ तपाईसँग निर्दललाई जिताउन चन्दा मागेनन् ?’ उनले साउतीको र उपेक्षाको स्वरमा भने, ‘किन नमाग्नु ? थोडासा पिचिक्क दिएको थिएँ ।’

मैले फेरि सोधेँ, ‘कति दिनुभयो ?’ सम्झना होला नि । एकछिन यस्तै जिरह गरेपछि उनले सुर्यबहादुरलाई ‘२१ लाख मात्र दिएँ’ भने । म छक्क परे । निर्दल जिताउन २१ लाख चन्दा दिएको थोरै भयो र बिपीलाई ७५ हजार दिएको धेरै भएर शंकरजी कांग्रेस भएको महुसस गर्दछन् कसरी ?

मेरो यो प्रशनको उत्तर झन रमाइलो थियो । शंकरजीको उत्तर थियो, ‘सुर्यबहादुरलाई २१ लाख चन्दा दिएपछि मैले कोरियन एन्कर दूधको लाइसेन्स लिए । जसबापत झण्डै १ करोड २५ लाखभन्दा बढी कमाइ भयो । २१ लाख घटाउँदा १ करोड ४ लाख हात पर्यो । यो त व्यापार थियो । विपीलाई दिएको ७५ हजारको त मैले केही फाइदा लिइन ।’

उनको यस्तो तर्क सुनेपछि मैले केही भन्ने ठाउँ बाँकी नै रहेन । यो संवाद पीताम्बर दाइलाई त्यति मन परेको थिएन । उहाँमा शंकरजी रिसाउँछन् कि भन्ने चिन्ता थियो ।

पत्रिका चलाउने कुरा चल्यो र सहयोगको सन्दर्भ उठ्यो । शंकरजी त्यसबेला पाम आयल सम्बन्धी मुद्दा खेपिरहेका थिए । मिति काटेको विषाक्त पाम आयल भित्र्याएको अभियोग उनलाई थियो । उनले सिधै पत्रिकाबाट बचाउ गर्न प्रस्ताव गरे ।

‘भन्सारमा आयलका ड्रमहरु छन् । तेल त बजारमा पुगिसक्यो । ड्रम विरुद्ध मुद्दा चलाएर सरकार बसेको छ । अब म तेल नभएको भन्दै खाली ड्रम देखाएर क्षतिपूर्तिका लागि मुद्दा दायर गर्नेछु ।’ यसो भन्दै उनी मरीमरी हाँसे ।

उनको तर्क थियो, ‘मिति सकिनु एक दिन बाँकी हुँदा भित्रिएको भए ठीक हुने मिति सकिएको ठीक एक दिनपछि मात्रै आउँदा बेठीक हुने कसरी हुन सक्छ ?’ उनको तर्क ठिकै थियो । तर, मैले सोधे, ‘आयल चाहिँ कहा छ ?’ उनले हास्दै भने, ‘भन्सारमा आयलका ड्रमहरु छन् । तेल त बजारमा पुगिसक्यो । ड्रम विरुद्ध मुद्दा चलाएर सरकार बसेको छ । अब म तेल नभएको भन्दै खाली ड्रम देखाएर क्षतिपूर्तिका लागि मुद्दा दायर गर्नेछु ।’ यसो भन्दै उनी मरीमरी हाँसे । उनको त्यो हाँसो त्यस बेलाको राजनीतिक आर्थिक भष्ट्राचारको एक प्रत्यक्ष प्रमाण र कुरुप साक्षी थियो । आयल जति भन्सारबाट बजारमा पुगिसकेको थियो । त्यसमा कर्मचारी, प्रहरी, पञ्च, अञ्चलाधीश सबै अंसियार थिए । खाली ड्रमले मुद्दा खेप्दै थियो ।

अब शंकरजी तेल हराएको वा चुहेर सकिएको भन्ने नाउँमा सरकारबाट क्षतिपूर्ति भराउने दाउमा लागेका थिए । त्यो सुनेपछि मैले केही भनिनँ । मलाई यिनका कुरा छापौं जस्तो लाग्यो । तर उपयुक्त लागेन । उनले काठमाडौंको कालिमाटीस्थित कार्यालयबाट सामाग्री लिएर छाप्न र बिल भुक्तानी गर्न भने । म हाँस्दै निस्किएँ र पीताम्बर दाइलाई भने, ‘म उनको पक्षमा लेख्न सक्तिनँ ।’
बरिष्ठ पत्रकार दाहालको ‘मेरो पत्रकारिता’ पुस्तकबाट साभार


क्लिकमान्डु