तरकारीको मूल्य दोब्बर बढ्यो, दर्के पानीले बिरुवा मासेपछि महंगियो भन्सा




काठमाडौं । काठमाडौं उपत्यका भित्रको तरकारीको सबैभन्दा ठूलो थोक बजार कालिमाटीमा एकाएक तरकारीको मूल्य आकाशीयको छ । काठमाडौंमा छठ सकिए लगतै तरकारीको मूल्य बढेको हो ।

तरकारीमध्ये गोलभेडा, काउली, बन्दा, घिउसिमी, परवल, हरियो फर्सी, बरेला, प्याज, भन्टा, तिते करेला, लौका, बोडी र धनियाको मूल्य अत्याधिक वृद्धी भएको हो ।

कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका उपनिर्देशक तथा सुचना अधिकृत बिनय श्रेष्ठले वर्षाले तरकारीका बिरुवाहरु नष्ट भएको र उत्पादन राम्रो हुन नसेकाले मूल्य बढेको बताए ।

‘यो पटक तरकारी उत्पादन कम भएको छ, अफसिजन भएका कारणले पनि बोडी, परवल र गोलभेडा जस्ता तरकारीहरुमा मूल्य वृद्धी भएको हो,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

कालिमाटी फलफूल तथा तरकारी बजारको मूल्यसुची अनुसार गोलभेडा, बरेला, धनिया, हरियो फर्सि र परवलको मूल्य सबैभन्दा बढी वृद्धी भएको छ । एक साताअघि प्रतिकेजी ६२ रुपैयाँदेखि ७३ रुपैयाँमा पाइने गोलभेडा कात्तिक २० गते प्रतिकेजी ९२ रुपैयाँदेखि ९५ रुपैयाँमा विक्री भैरहेको छ ।

कालिमाटीमा नै गोलभेडाको मूल्य यसरी बढ्दा कालिमाटी बाहिरका तरकारी पसल तथा खुद्रा बजारमा गोलभेडा प्रतिकेजी १ सय २० रुपैयाँसम्म पुगेको विक्रेताको भनाइ छ ।

हरियो धनियाँको मूल्य कालिमाटी बजारमा दोब्बर वृद्धी भएको छ । एक साताअघि १ सय २५ रुपैयाँ प्रतिकेजीमा विक्री हुने धनिया अहिले प्रतिकेजी २ सय ५० रुपैयाँमा विक्री हुँदैछ । परवलमा २७ रुपैयाँ वृद्धी भएको छ । एक साताअघि परवल ५३ रुपैयाँ प्रतिकेजी विक्री भैरहेकोमा अहिले कालिमाटीमै ८० रुपैयाँमा विक्री हुँदैछ ।

हरियो फर्सी फल्ने सिजन नै भए पनि एक साता यता २२ रुपैयाँ मूल्य वृद्धी भएको छ । केही साताअघि कालिमाटीमा नै ३८ रुपैयाँ प्रतिकेजीको दरमा विक्री भैरहेको हरियो फर्सी अहिले ८० रुपैयाँ प्रतिकेजीमा विक्री भैरहेको छ ।

तितेकरेलामा प्रतिकेजी २१ रुपैयाँ मूल्य वृद्धी भएको छ । एक साताअघि ७४ रुपैयाँ प्रतिकेजी विक्री भैरहेको तिते करेला अहिले ९५ रुपैयाँ प्रतिकेजी विक्री भैरहेको छ ।

यस्तै बरेलामा प्रतिकेजी १९ रुपैयाँ मूल्य वृद्धी भएको छ । एक साताअघि २१ रुपैयाँ प्रतिकेजी विक्री हुने गरेको बरेला अहिले ४० रुपैयाँ प्रतिकेजी विक्री भैरहेको छ ।

भान्टाको मूल्यमा प्रतिकेजी १३ रुपैयाँ वृद्धी भएको छ । एक साताअघि ५२ रुपैयाँ प्रतिकेजी विक्री भैरहेको भान्टा अहिले कालिमाटीमा नै ६५ रुपैयाँ प्रतिकेजी विक्री हुन थालेको छ ।

काउली र बन्दाको मूल्य प्रतिकेजी १२ रुपैयाँ वृद्धी भएको छ । एब साताअघि ५८ रुपैयाँ प्रतिकेजी मूल्य रहेको काउली र बन्दा अहिले कालिमाटी बजारमा ७० रुपैयाँ प्रतिकेजी विक्री भैरहेको छ ।

घिउसिमीमा प्रतिकेजी ११ रुपैयाँ मूल्य बढेको छ । केही समयअघि ७४ रुपैयाँ प्रतिकेजी विक्री भैरहेको घिउसिमी अहिले ८५ रुपैयाँमा विक्री भैरहेको छ ।

साता अघि लौका ५३ रुपैयाँ प्रतिकेजी रुपैयाँ थियो भने आज ५० रुपैयाँ छ । प्याज कालिमाटीमा नै एक साताअघि ६५ रुपैयाँ प्रतिकेजी विक्री हुने गथ्र्यो भने आज ६८ रुपैयामा विक्री भैरहेको छ । बोडी १२५ रुपैयाँ प्रतिकेजी विक्री हुने गरेकोमा आज १ सय ३० रुपैयाँमा पुगेको छ ।


क्लिकमान्डु