टेलिकमको मोबाइल सेवा सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका दुर्गम स्थानमा
काठमाडौं । नेपाल टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर र सुनकोशी तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा कात्तिक १९ गतेदेखि जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।
पहिले कुनै पनि मोबाइल सेवाको पहुँच नभएका यी स्थानका सेवाग्राहीले अब जिएसएम मोबाइलमार्फत सञ्चार सम्पर्क गर्न सक्ने भएका छन् ।
नेपाल टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका अन्तर्गत वाफलमा जिएसएम मोबाइलको बिटिएस टावर स्थापना गरी सेवा सञ्चालन गरेको हो । यसबाट सो क्षेत्रका करिब ३ हजार सेवाग्राहीले सेवा प्राप्त गर्नेछन् ।
सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाअन्तर्गतका दानसे, लिसंखु, वाफल र अत्तरपुर, सुनकोशी गाउँपालिका अन्तर्गत ठोकर्पा र कामेखोला तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका अन्तर्गत सिम्थली, बेकसिम्ले, मुलाबारी र भिमसेनस्थानका सेवाग्राही यसवाट लाभान्वित हुने टेलिकमले जनाएको छ ।