वाम घोषणापत्र: देशैभर निशुल्क वाइफाई, मिडियामा विदेशी लगानी निषेध




काठमाडौं । आगामी ५ वर्षभित्र देशभर नै निशुल्क वाई फाई उपलब्ध गराउने महत्वाकाक्षी कार्यक्रम सार्वजनिक गरिएको छ ।

वामपन्थी गठबन्धनमा आवद्ध नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र)ले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तयार पारेको घोषणापत्रमा सो विषयलाई समावेश गरिएको छ ।

‘सूचना प्रविधि र प्रेस स्वतन्त्रता’ शीर्षक दिइएको घोषणापत्रमा भनिएको छ ‘सबै विद्यालय, प्रशासनिक भवन, सभाभवन, स्वास्थ्य चौकी, हुलाक कार्यालय र सेवाकेन्द्रमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने छ ।’

यस्तै आगामी ५ वर्षमा देशभरी नै वाइफाई सुविधा निःशुल्क गराइने छ । सामाजिक सञ्जाल र अनलाइन मिडियालाई आमजनताको संचेतना अभिवृद्धिका निम्ति सदुपयोग गरिने, सूचना प्रविधिलाई आम नागरिकको पहुँचमा पुर्याइने समेत घोषणापत्रमा उल्लेख छ ।

सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधिमा आवद्ध गरी छिटो छरितो, गुणस्तरीय, पारदर्शी र चुहावट रहित तुल्याइने छ । सूचना प्रविधिमा नवप्रवर्तनलाई प्रोत्साहन गरिने, सबै स्थानीय तहका केन्द्र र तराई-मधेस तथा पहाडी जिल्लाका स्थानीय तहको वडा केन्द्रसम्म दुई बर्षभित्र ब्रोडब्याण्ड इन्टरनेट सुविधा पुर्याउने र हुलाक व्यवस्थालाई आधुनिकीकरण गरी नागरिक सेवा संस्थाको रुपमा विकसित गर्ने समेत गठबन्धनको घोषणापत्रमा समावेश छ ।

पूर्ण प्रेस स्वतन्त्रता सहितको लोकतन्त्र’ लागू गर्ने, आमसञ्चार माध्यमलाई निष्पक्ष, व्यवसायिक, उत्तरदायी र जिम्मेवार उद्योेगका रुपमा विकास गर्ने, मिडियामा प्रत्यक्ष वा परोक्ष रुपमा विदेशी लगानी निषेध गर्ने, सूचनाको हकसम्बन्धी ऐनलाई पूर्ण रुपमा लागू गर्ने, आधुनिक सूचना तथा सञ्चार प्रविधिमा आम जनताको पहुँच स्थापित गर्ने विषयलाई घोषणापत्रमा समावेश गरिएको छ ।


क्लिकमान्डु