जनकपुर उडानका लागि बुध्द एयरले थप्यो नयाँ एटिआर-७२ जहाज



काठमाडौं । बुध्द एयरले धार्मिक नगरी जनकपुरमा उडान भर्न थालेको छ । जनकपुरधामको पर्यटन प्रवद्र्वन गर्ने उदेश्यले बुध्दले एटिआर-७२ विमानबाट उडान सुरु गरेको हो ।

सन् २००८ देखि जनकपुरधाम उडान भर्दै आएको बुध्द एयरले कात्तिक १५ गते बुधबारदेखि एटिआर-७२ विमानबाट आफ्नो सेवा विस्तार गरेको हो । यसअघि बीचएयर क्राफ्ट १९०० डी र एटीआर-४२ बाट उडान भरिदैं आएको थियो ।

जनकपुरधाममा आयोजित एक समारोहमा बुध्द एयरका स्टेशन प्रमुख विजय सिंहले एटीआरको आवागमनसँगै विमानस्थलका पूर्वाधारहरुमा सुधार तथा विस्तार हुनुपर्ने बताए ।

‘रात्रिकालिन अवतरण तथा उडानका लागि पनि आवश्यक तयारी गर्नुपर्छ’, उनले भने ।

जनकपुर नागरिक उड्डयन प्राधिकरणका प्रमुख मुरारीप्रसाद पौडेलले पनि यात्रु संख्यामा वृद्धि भएकाले यात्रुकक्ष, सुरक्षा जाँचका लागि एक्सरे मेशिन, दमकल तथा नियमित विजुलीका लागि जेनरेटर लगायत सुविधा पनि विस्तार हुनुपर्नेमा जोड दिए ।

बुध्द एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले तत्काल बिहानको उडान एटीआर ७२ र दिउँसो बीचएयरक्राफ्टबाट हुने जानकारी गराए ।

बुध्दले यहि आउँदो जनवरीमा थप एटीआर-७२ जहाज भित्र्याउन लागेको र यसको सञ्चालन मार्च महिनादेखि हुने उनले बताए ।

‘त्यसपछि जनकपुरमा दुवै उडान एटीआर जहाजबाट हुनेछ’, उनले भने, ‘यसबाट जनकपुरधामको पर्यटनमा थप टेवा पुग्ने आशा गरेका छौं ।’


पुष्प दुलाल