बाम घोषणापत्रः ५ बर्षमा ३ अन्तर्राष्ट्रिय बिमानस्थल र आफ्नै पानी जहाज




काठमाडौं । नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को वामपन्थी गठबन्धनले महासागरमा नेपाली झण्डा अंकित पानी जहाज चलाउने कार्यक्रम अगाडि सारेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तयार पारेको घोषणापत्रको ‘अन्तर्राष्ट्रिय सम्पर्कका लागि हवाई र जलमार्ग’ शीर्षक दिइएको उक्त बुँदामा नेपाली झण्डा अंकित पानी जहाज चलाउने विषयलाई समावेश गरिएको छ ।

घोषणापत्रको उक्त बुँदामा भनिएको छ ‘भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालन गरिने छ ।’

विशेषगरी प्रशान्त र हिन्द महासागरमा नेपाली झण्डा अंकित पानी जहाज चलाउने लक्ष्यका साथ उक्त विषयलाई समावेश गरिएको गठबन्धनले जनाएको छ ।

दुई वर्षभित्रमा भैरहवा र तीन बर्षभित्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने घोषणापत्रमा उल्लेख छ ।

यस्तै वाम गठबन्धनको उक्त घोषणापत्रमा देशका अन्य नदीमा समेत जलमार्गको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ ।
कोशी, गण्डकी र कर्णाली नदीमा आन्तरिक र वाह्य जलमार्गका सम्भाव्यता अध्ययन गरिने छ । उच्च बाँधयुक्त जलाशयमा जलमार्गको विकास गर्ने विषयलाई समावेश गरिएको छ ।

पाँच वर्षमा निजगढ विमानस्थल

गठबन्धनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विस्तार तथा स्तरोन्नती गर्दै आगामी ५ वर्षभित्र निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयलाई समावेश गरिएको छ । यस्तै दुई वर्षभित्रमा भैरहवा र तीन बर्षभित्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै विराटनगर, नेपालगञ्ज, सुर्खेत तथा धनगढी विमानस्थलहरुलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार र स्तरोन्नति गर्ने, सबै आन्तरिक विमानस्थललाई अत्याधुनिक, सुविधासम्पन्न र सुरक्षित हुने गरी विस्तार तथा आधुनिकीकरण गर्ने उल्लेख छ ।

त्यस्तै वाह्य र आन्तरिक पर्यटन र मागको प्रक्षेपणका आधारमा नेपाल वायु सेवा निगमका विमानको सङ्ख्या बढाउने र निजी क्षेत्रका हवाई सेवालाई प्रोत्साहन गर्ने नीति लिइएको छ ।


क्लिकमान्डु