डिभी: तपाइलाई नपरे पनि भर्दिनेले कमाउँछन् मासिक ३६ लाख




काठमाडौं । डिभी भन्ने बितिकै अमेरिका जाने भाग्य चिठ्ठा भनेर बुझ्ने गरिन्छ । डिभी चिठ्ठा पर्यो भने पर्नेको भाग्य खुल्छ ।

तर, डिभीसँगै जोडिएको अर्काे तथ्य पनि फेला परेको छ । डिभी पर्नेको भाग्य खुल्छ खुल्दैन थाहा भएन, भरिदिनेको भाग्य भने खुल्ने गरेको रहेछ ।

अर्काको डिभी भरिदिने धेरै परामर्श केन्द्रहरु छन् । यस्ता परामर्श केन्द्रहरुले डिभी भरिदिए वापत प्रतिब्यक्ति १ सय रुपैयाँदेखि २ सय ५० रुपैयाँसम्म लिने गरेका पाइएको छ ।

प्रत्येक वर्ष असोजको पहिलो वा दोस्रो हप्तामा खुल्ने गरेको डिभी यो वर्ष कात्तिक १ गते साझबाट खुलेको हो । डिभी खुलेसँगै मानिसहरु प्रत्येक वर्षजसो डिभीका लागि फारम भराउन ठाउँ ठाउँमा जार्ने गर्छन् । घरमै बसेर सजिलै भर्न सकिने भएपनि कुनै निश्चित ठाँउबाट भर्दा पर्ने अन्धविश्वास वा लहडका भरमा नेपालीले प्रत्येक बर्ष ठूलो धनराशी यस्तै परामर्श केन्द्रहरुलाई बुझाउने गरेका छन् ।

न्यूरोडमा रहेको इ स्पोर्टमा डिभी फारम सुल्क प्रतिव्यक्ति २ सय २५ रुपैयाँ रहेको छ । इ स्पोर्टबाट प्रतिदिन २ देखि ३ सय जनाले फारम भर्ने गरेको काउनसिलर पासङ तामाङले बताइन् ।

‘अघिल्लो वर्ष २० हजारले डिभी भरेकोमा यो वर्ष १२ हजार जतिले भर्लान् भन्ने अनुमान छ,’ तामाङ भन्छिन् ।

अघिल्लो वर्ष इस्पटबाट भर्नेमध्ये ३ सय जनालाई डिभी परेको उनको दाबी छ । उनकै तथ्यांकलाई आधार मान्दा पनि १२ हजार जनाले २२५ रुपैयाँको दरले बुझाउँदा इस्पटले मात्रै एक महिनामा २७ लाख रुपैयाँभन्दा बढी कमाउँछ ।

बागबजारमा रहेको यारा डिजिटलबाट दिनमा ८ देखि ९ सय जनाले डिभी भर्ने गरेका छ । याराले प्रतिव्यक्ति १ सय रुपैयाँमा बिना फोटो डिभी भराइरहेको फारम भर्न बसेकी सरिता अधिकारीले बताइन् । यसरी मंसिर ६ गतेसम्म फर्म भर्दा याराले कम्तिमा २६ लाखभन्दा बढी रकम डिभी भरेर नै आम्दानी गर्नेछ ।

बागबजारमै रहेको माइक्रो डिजिटल फोटो स्टुडियोमा डिभी भर्नेको भिड यारामा भन्दा बढी देखियो । सो स्टुडियोका प्रकाश केसी भने डिभी भर्ने मानिस दिनमा २ सय जना मात्र हुने गरेको बताउछन् । यहाँ १ सय रुपैयाँमा फोटो खिच्दा सित्तैमा डिभी भर्न पाइने अफर राखिएको केसीले बताए । प्रतिदिन २ सय जनाले डिभी भर्दा अन्तिम मितिसम्ममा ७ लाख रुपैयाँभन्दा बढी रकम आम्दानी हुनेछ ।

बागबजारमा रहेको डिभी ल्याडर सर्भिसबाट दिनमा २५ जनाले डिभी भर्ने गरेको डिभी भर्न बसेका दिपेश तिमलसिनाले बताए । उनले प्रतिव्यक्ति फोटो लग्दा २ सय र फोटो नलग्दा १ सय ५० रुपैयाँमा डिभी भरिदिने गरेका रहेछन् । डिभी भरेरै एक महिनामा १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने तिमलसिनाको योजना छ ।

बागबजारमै रहेको याकमेले १ सय ५० रुपैयाँमा बिना फोटो डिभी भराइरहेको छ । सो पसलमा डिभी भर्न बसेकी सर्मिला श्रेष्ठको भनाइ फरक छ । श्रेष्ठका अनुसार अघिल्लो वर्षभन्दा यो वर्ष उनकोमा डिभी भर्न आउनेको संख्या बढेको छ ।

उनी प्रतिदिन ३० जनासम्मको डिभी भरिदिने गर्छिन् । अघिल्लो वर्ष उनले लगभग ४ सय ५० जनाको डिभी भरिदिएकी थिइन । यो वर्ष लगभग ८ सय जनाले डिभी भर्ने उनको अनुमान छ । यसरी डिभी भर्दा अन्तिम मितिसम्ममा १ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने श्रेष्ठ बताउँछिन् ।

चाबहिलको मोसन ग्राफिकमा प्रतिदिन ३० जनाले डिभी भर्ने गरेको ग्राफिक्सकी रस्मी श्रेष्ठले बताइन् । सो स्थानबाट डिभी भर्दा प्रतिव्यक्ति २ सय ५० रुपैयाँ लाग्ने र ८ वटासम्म फोटो दिइने व्यवस्था मिलाइएको छ । यहाँ कम्तिमा १ लाख रुपैयाँभन्दा बढी कमाइ हुनेछ ।

चाबहिलमै रहेको गेटवे स्टुडियोले प्रतिव्यक्ति २ सय रुपैयाँमा डिभी भरिरहेको छ । सो स्टुडियोले डिभी भर्दा १४ वटा फोटो फ्रिमा दिने छुट्टै व्यवस्था गरेको छ । यहाँबाट प्रतिदिन २० जनाले डिभी भर्ने गरेको डिभी भर्न सबेकी एलिना बुढाथोकीले बताइन् । उक्त स्टुडियो डिभी भर्ने अन्तिम दिनसम्ममा १ लाख बढी रकम संकलन गर्नेछ ।

यस्तै कोटेश्वरमा रहेको इसपोर्ट नेपालले प्रतिदिन ४० देखि ५० जनाको डिभी भर्ने गरेको छ । सो संस्थाले प्रतिव्यक्ति २ सय रुपैयाँमा डिभी भर्दै आएको डिभी भर्न बसेकी राधिका मंग्रान्तीले बताइन् । सो संस्थाले डिभीको अन्तिम दिनसम्ममा कम्तिमा २ लाख बढी रकम आमदानी गर्नेछ ।


क्लिकमान्डु