दुरसंचार प्राधिकरणका अध्यक्षको कार्यकाल सकिदै, नयाँ अध्यक्ष खोज्ने गृहकार्य



काठमाडौं । सरकारले नेपाल दूरसंचार प्राधिकरणको नयाँ अध्यक्ष छनौटको लागि समिति गठन गर्ने प्रकृया शुरु गरेको छ ।

सरकारको तर्फबाट सूचना तथा संचार मन्त्रालयले दूरसंचार प्राधिकरणको नयाँ अध्यक्ष छनौट गर्नको लागि समिति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ ।

मन्त्रालयले प्राधिकरणमा आगामी मंसिर १८ गतेदेखि खाली हुने अध्यक्षको पदमा नयाँ नियुक्तिको लागि छनौट समिति गठनको लागि प्रस्ताव पठाएको हो । मन्त्रालय स्रोतकाअनुसार सो प्रस्ताव मन्त्रिपरिषदबाट पारित भएपछि छनौट तथा सिफारिस समिति गठन गरिनेछ ।

दूरसंचार ऐन २०५३ अनुसार सूचना तथा संचार मन्त्रालयका सचिवको अध्यक्षतामा समिति बन्नेछ, जसमा एकजना विज्ञसहित मन्त्रालयका सहसचिव सदस्य सचिवको रुपमा रहनेछन् ।

दूरसंचार ऐन २०५३ को दफा ५ मा प्राधिकरणको गठनको बारेमा उल्लेख छ । सो दफाको उपदफा १ मा प्राधिकरणमा दूरसंचार सेवासंग सम्बन्धित प्राविधिक र प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण वा कानूनी क्षेत्रमा तोकिए बमोजिम योग्यता र अनुभव भएका अध्यक्ष सहित पाँचजना सदस्यहरु रहनेछन्, भन्ने उल्लेख छ ।

त्यसैगरी सोही दफाको उपदफा २ मा प्राधिकरणको अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको विषयमा उल्लेख गरिएको छ । जसमा भनिएको छ, प्राधिकरणका अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको लागि सिफारिश गर्न नेपाल सरकारले सम्बद्ध क्षेत्रका विज्ञहरू समेत रहेको एक समिति गठन गर्ने र सो समितिको सिफारिशमा नेपाल सरकारले अध्यक्ष तथा सदस्यको नियुक्ति गर्नेछ ।

‘सचिवको अध्यक्षतामा विज्ञको रुपमा कविराज खनालसहित तीन सदस्यीय छनौट तथा सिफारिस समिति गठन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाउँदैछौं, छिटै समिति बन्छ होला,’ मन्त्रालय स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

सो समिति आफैंले कार्यविधि बनाई ४५ दिनभित्र नयाँ अध्यक्ष छनौट गरिसक्नुपर्ने छ ।

कति चाहिन्छ योग्यता ?
दूरसंचार नियमावली २०५४ मा प्राधिकरणको अध्यक्ष हुनका लागि न्यूनतम योग्यता तोकिएको छ । नियमावलीमा प्राधिकरणको अध्यक्ष वा सदस्य हुनको लागि ऐनको दफा ५ को उपदफा १ मा उल्लेखित क्षेत्रमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक तहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा अध्यक्षको हकमा कम्तिमा दश वर्षको अनुभव प्राप्त गरेको नेपाली नागरिक हुनुपर्ने उल्लेख छ ।

समितिले प्राधिकरणको नयाँ अध्यक्षका लागि छनौट गरेर नियुक्तिको लागि सिफारिस गर्न सक्नेगरि आवेदन माग गर्न सूचना जारी गर्ने मन्त्रालय स्रोतले जानकारी दियो ।

समितिले छनौट गरेर ३ जनालाई अध्यक्ष पदका लागि मन्त्रिपरिषदमा सिफारिस गर्नेछ भने मन्त्रिपरिषदले छनौट भएका मध्येबाट एक जनालाई अध्यक्ष पदमा ५ वर्षका लागि नियुक्ति गर्नेछ ।

हाल प्राधिकरण अध्यक्षमा दिगम्बर झा कार्यरत रहेका छन् र उनको पदावधि आगामी मंसिर १८ गते सकिँदैछ । झालाई यसअघि २०६९ मंसिर १९ गतेदेखि काम गर्ने गरि नियुक्त गरिएको थियो ।


क्लिकमान्डु