मुग्लिन-नारायणगढ सडक चुनावसम्म २४सै घण्टा खुल्ने



काठमाडौं । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरेर २४ घन्टा खुल्ला गरिएको मुग्लिन-नारायणगढ सडक अव चुनावसम्म बन्द नहुने भएको छ । संघिय र प्रदेशको चुनाव अगामी मंसिर १० गते पहिलो चरण र मंसिर २१ गते दोस्रो चरणमा हुदैंछ ।

सरकारले सो समयमा यात्रुलाई समस्या नपार्नका लागि सडकखन्ड २४ घन्टा खुलाउन लागएिको हो । विस्तारका क्रममा रहेको सो सडकमा पहिरो खस्ने समस्या बढेपछि सुरक्षाका कारण गत असार २५ गतेदेखि रातका समयमा सडक रोकिँदै आएको थियो ।

मुग्लिनतर्फबाट आउने सवारीलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म तथा नारायणगढतर्फबाट जाने सवारीलाई दासढुंगामा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म रोकिँदै आएको थियो ।

छठसम्मलाई खुल्ला गर्ने भनेता पनि चुनावसम्मका लागि २४ घन्टा खुल्ला गर्न लागिएको हो । सौराहका पर्यटन व्यवसायी तथा चितवन होटल संघका अध्यक्ष सुमन घिमिरेका अनुसार चुनावसम्म बन्द नगर्ने भएपछि सौराहमा पर्यटन सिजनमा समस्या नहुने बताए ।

सौराहमा हालको सिजनमा आन्तरिक तथा बाह्य पर्यटकहरु बढी मात्रमा जाने गरेका छन् । सडक कारण मार खेपेका पर्यटन व्यवसायीहरु दशैं यता भने पर्यटकको चाप सौराहमा बढेको बताउँछन् ।

नारायणगढ-मुग्लिन सडक आयोजनाले पछिल्लो समय सडकमा ग्रेडर लगाएर खाल्डाखुल्डी पुर्ने, धुलो उड्ने स्थानमा पानी छर्कने, गाडी बिग्रिएमा तत्काल हटाउने, पहिरो खसेमा पन्छाउने लगायत तयारी गरिएको छ । सोका लागि प्रहरीसमेत परिचालन गरिने भएको छ ।


क्लिकमान्डु