अर्बपति विनोद चौधरीले एमाले छाडे, कांग्रेसबाट समानुपातिकको उम्मेद्वार



काठमाडौं । २०६४ सालको संविधान सभाको निर्वाचनमा नेकपा एमालेबाट समानुपातिक सांसद् रहेका नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी नेपाली कांग्रेसबाट समानुपातिक उम्मेद्वार बनेका छन् ।

कांग्रेसले आइतबार निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचिमा विनोद चौधरीको नाम रहेको कांग्रेस संसदीय बोर्डका सदस्य अर्जुननरसिंह केसीले बताए ।

‘व्यवसायिक रुपमा सफल मानिएको कारण विनोद चौधरीलाई समानुपातिकको उम्मेद्वार बनाइएको हो,’ केसीले क्लिकमाण्डूसँग भने ।

नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी एमालेसँग निकट थिए । उनले आत्मकथामा उद्योग वाणिज्य महासंघको निर्वाचनमा एमालेले सहयोग गरेको बताएका थिए ।

कांग्रेसबाट उनलाई अर्जुननरसिंह केसीले सहयोग गरेको उनको आत्मकथामा उल्लेख छ । एमालेसँग निकट भएपनि कांग्रेसले लिएको आर्थिक उदारिकरण नीतिको उनले स्वागत गर्दै आएका थिए ।

त्यसैगरी, कांग्रेसले बिराटनगरका व्यवसायी महेश जाजूलाई पनि समानुपातिकको सूचिमा राखेको केसीले जानकारी दिए ।


क्लिकमान्डु