काठमाडौं ५ को निर्वाचनः ‘कौडी सम्पत्ति नभएका’ पोखरेल र महत भिड्दै




काठमाडौं । प्रतिनिधिसभा र प्रदेसभाको निर्वाचनको मिति नजिकिदै गइरहेको छ । यसै सन्दर्भमा नेपाली जनताले आफ्नो मतद्वारा आगामी पाँच वर्षका लागि आफ्नो प्रतिनिधि छान्न गइरहेका छन् ।

यसै क्रममा काठमाडौँ क्षेत्र नं ५ को चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ । सो निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल र नेपाली काँग्रेसका प्रभावशाली नेता डा प्रकाशरण महतबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

सम्पत्तीको आधारमा पोखरेल र महत दुवै जना समान हैसियतका नेता देखिएका छन् । त्यो समानता के हो भने पोखरेल र डा. महत दुबै जनासँग कौडी सम्पत्ति छैन । दुबै जना नेता श्रीमतीको सम्पत्तिले आफ्नो गुजारा टारिरहेका छन् ।

कति सम्पत्ति छ पोखरेलसँग ?
२०४६ सालपछि राजनीतिमा उदाएका पोखरेलले तत्कालीन कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सहयोगीको रुपमा काम गरेका थिए ।

पोखरेल र डा. महत दुबै जनासँग कौडी सम्पत्ति छैन । दुबै जना नेता श्रीमतीको सम्पत्तिले आफ्नो गुजारा टारिरहेका छन् ।

तत्कालिन राजा ज्ञानेन्द्रले जनप्रतिनिधिको सरकारलाई अपदस्त गरेर आफैले सत्ता हत्याएको बेलामा प्रतिगमन आधा सच्चियो भन्दै एमाले पनि तत्कालिन राजा ज्ञानेन्द्र नेतृत्वको सरकारमा सहभागी भएको थियो । सो सरकारमा बाणिज्य तथा आपूर्तिमन्त्रीको हैसियतमा पोखरेल सहभागी थिए ।

पोखरेल र उनको परिवारको नाममा रहेको सम्पत्ति हामीले सोही बेला उनले सार्बजनिक गरेको सम्पत्ति विवरणबाट लिएका हौं । त्यसयता पोखरेल सार्बजनिक पदमा छैनन् । त्यसैकारण उनको सम्पत्ति थपिने कुरै भएन । तर उनकी श्रीमती मिरा ध्वजु सांसद भएका कारण उनको सम्पत्ति भने बढेको हुन सक्छ ।

पोखरेल मन्त्री बनेको बेलामा सार्बजनिक गरेको विवरण अनुसार उनकी श्रीमती ध्वजुको नाममा वसुन्धारामा तीन तले घर छ । हालको मूल्यअनुसार उक्त घरको मूल्य मात्रै चार करोड रुपैयाँ भन्दा बढी हुने बताइन्छ ।

यस्तै मनमोहन अस्पतालदेखि विभिन्न बैंक तथा वित्तीय संस्थामा समेत पोखरेलको सेयर रहेको बताइन्छ । तर, उनले यसको पुष्टी गरेका छैनन् । एमाले महासचिव पोखरेल डा. बाबुराम भट्टराई नेतृत्वको सरकारको बेलामा १३ दिन उपप्रधानमन्त्री र थप २ पटक मन्त्री बनिसकेका छन् ।

उनले आफ्नो नाममा कुनै पनि सम्पत्ति नरहेको र सबै श्रीमतीको माइतीले दाइजोमा दिएको बताउने गरेका छन् ।

दुई पटक नेपाली काँग्रेसका नेता नरहरि आचार्यसँग पराजित भएका महासचिव पोखरेल यस पटक पनि सोही क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरेका छन् ।

प्रकाशशरणसँग कति छ सम्पत्ति

नुवाकोटको सामान्य परिवारका डा. महत नेपाली काँग्रेसका नेता एवम् पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महत काठमाडौँ चोभारस्थित फुफूको घरमा बसेर अध्ययन गरेका थिए ।

प्रकाशशरण महतले भारतीय सरकारको छात्रवृत्तिमा उच्च शिक्षा लिएका हुन् भने अमेरिकाको विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् ।

उर्जामन्त्री, परराष्ट्रमन्त्री समेत भइसकेका महतको ३० तोला सुन, १२ सय तोला चाँदीलाई ‘विवाहबाट प्राप्त भएको’ भनी लेखेका छन् । प्रचन्ड नेतृत्वको सरकारको परराष्ट्रमन्त्री रहेका डा महतले केही बैंक तथा वित्तीय संस्थामा सेयर रहेको समेत उनी मन्त्री भएको बेलामा सार्बजनिक गरिएको सम्पत्ति विवरणमा उल्लेख छ ।

महतले झापा तोपगाछी–५ मा रहेको ५ बिघा ४ कट्ठा जमिनसमेत श्रीमतीको ‘माइतीबाट प्राप्त भएको’ विवरणमा उल्लेख गरेका छन् ।

काठमाडौँमा रहेको घर समेत उनले श्रीमती बिना महतको नाममा रहेको पछिल्लो पटक पेस गरेको सम्पत्ति विवरणमा उल्लेख छ । यसअघि सधै समानुपातिक निर्वाचन प्रणाली मार्फत सांसद भएका डा महत यस पटक भने काठमाडौँ क्षेत्र नं ५ बाट चुनावी प्रतिस्पर्धामा छन् ।


क्लिकमान्डु