साइबर आक्रमणबाट बच्न सूचना प्रविधिमा लगानी गर्न आग्रह



काठमाडौं । नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सूचना प्रविधिको क्षेत्रमा गरिने लगानीलाई संस्थाको विकासको आधारको रुपमा लिनुपर्नेमा खर्चको रुपमा लिने गरिएको र पर्याप्त मात्रामा लगानी नहुँदा नक्कली (पाईरेटेड) सफ्टवेयरहरु तथा उपकरणहरुको प्रयोगले साइबर आक्रमणको जोखिमलाई बढाएको इन्र्फमेसन सेक्यूरिटी रेस्पोन्स टिम नेपाल (इन्फोसेक नेपाल)ले जनाएको छ ।

बैंकिङ्ग क्षेत्रमा भएको साइबर आक्रमणले नेपालको सूचना प्रविधिको क्षेत्र अझै कमजोर अवस्थामा रहेको प्रस्ट भएको भन्दै यस्ता प्रकारका साइबर आक्रमणलाई रोक्न समयमा नै आवश्यक कदम चाल्नुपर्ने भएको संस्थाले उल्लेख गरेको छ ।

‘यस्तो समस्यालाई समाधान गर्दै भविश्यमा हुने क्षति रोक्नका लागि जनचेतना अभिवृद्धि गर्दै आवश्यक प्राविधिक शिक्षा प्रदान गर्नुपर्ने हुन्छ । त्यसैगरि संघ संस्थाहरुले तोकिएका नीति नियमहरुको उचित पालनाका गर्नुका साथै प्रयोगमा रहेका सफ्टवेयर र हार्डवेयर प्रयोगमा दिईएको ‘स्ट्याण्र्डड डकुमेन्टेसन’को पालना गर्नु आवश्यक रहेको छ,’ संस्थाको विज्ञप्तिमा उल्लेख छ ।

सूचना प्रविधि सूरक्षाको लागि नियमितरुपमा गरिने ‘इन्र्फमेसन सेक्यूरिटी अडिट’ लाई नियमानुसार र निरन्तर गरिनुपर्ने र यसको लागि नियमितरुपमा सम्बन्धित संस्थाहरुसँगको सहकार्यमा विज्ञहरुको नेतृत्वमा तालिम तथा क्षमता अभिवृद्धिको काम गरिनु पर्ने संस्थाको भनाई छ ।


क्लिकमान्डु