निगमलाई घाँडो बनेको चिनियाँ जहाज पुनः दुई थान आउँदै



काठमाडौं  । नेपाल वायुसेवा निगमलाई घाँडो बनेको चिनियाँ जहाज पुनः दुई थान नेपाल आउने भएको छ । नेपाल ल्याउन बाँकी दुई थान चिनियाँ जहाँज ल्याउने तयारी नेपाल वायुसेवाले गरेको छ ।विगत चार वर्ष देखि खरिद प्रक्रिया रहेको ६ थान चिनियाँ जहाज मध्ये चार थानले भने उडान भरिरहेका छन् ।

जहाज भएर पनि अधिकांस समय ग्राउन्डेड भइरहेका जहाज चिनियाँ जहाजले निगमलाई हरेक वर्ष घाटामा लगिरहेको छ ।१७ सिट क्षमताका वाई–१२ ई जहाज केही महिना भित्रै नेपाल ल्याउने गरी निगम व्यवस्थापनले प्रक्रिया सुरु गरेको छ ।

नेपालमा हाल ५६ सिट क्षमताका एमए–६० दुई थान र वाई १२ ई दुई थान जहाजले उडान भरिरहेका छन् । नेपालमा दुर्गम क्षेत्रमा उडान भर्न भन्दै ल्याइएको वाई १२ ई जहाजले पनि सुगम क्षेत्रमानै उडान भरिरहेको छ ।

पाइलट र स्पेयर्स पार्ट्स सधै अभाव खेपी रहेको चिनियाँ जहाज व्यवस्थापनमा निगमलाई विगत पाँच वर्ष देखि हम्मे पर्दै आएको छ । ‘विगत देखिकै समस्या अझै समाधान नभएको अवस्था छ, तर पनि जहाज ल्याउनु पर्ने बाध्यता निगमलाई रहेको छ,’ नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले भने । र्दुर्गम क्षेत्रमा उडान भर्न ल्याएको वाई १२ ई जहाज अझै पनि सुगममै उडान भर्नुपर्ने बाध्यता रहेको कंसाकार बताउँछन् ।

नेपाल सरकार र चीन सरकाबीचको कुटनैतिक सम्बन्धसंग जहाज खरिद प्रक्रिया जोडिन पुगेपछि सरकारले जुनसुकै हालतमा जहाज ल्याउने योजना बनाएको थियो ।

नेपालले खरिद गर्ने भनेको चिनियाँ जहाज एभिक इन्टरनेसनल होल्डिङ कम्पनीले नेपाललाई जहाज दिन ४ वटै जहाज तयार गरिसकेको र ७० प्रतिशत रकम समेत नेपालले पठाइसकेकोले जहाज जसरी पनि ल्याउनै पर्ने अवस्थामा निगम पुगेको थियो । दुई थान जहाज गत वर्ष नेपाल ल्याइएको थियो । भने दुई थान जहाज भने चीन सरकारले अनुदान स्वरुप नेपाललाई दिएको थियो ।

सरकारले एक एमए–६० र तीन वटा वाई–१२ ई जहाज खरिदको लागि मन्त्रीपरिषद्मा लगिएको थियो । मन्त्रीपरिषद्ले निर्णय गर्न नमानेपछि पुनः निगम व्यवस्थापले बाँकी चार थान जहाज ल्याउने निर्णय गरेको थियो । चार थान मध्ये दुई थान जहाज गत वर्षनै नेपाल ल्याइएको छ ।

चार वर्ष अगाडीनै चीनले एक एमए–६० र एक वटा वाई–१२ ई जहाज अनुदानमा दिएको थियो ।

चिनियाँ जहाज ६ वटा किन्न ६ अर्व ६७ करोड १० लाख रुपैयाँ अनुदान तथा सहुलियत ऋणमा निगमलाई एक्जिम बैंक मार्फत ऋण उपलव्ध गराईएको हो । उक्त रकम मध्ये २ अर्व ९४ करोड १० लाख रुपैयाँ एमए–६० र एउटा वाई–१२ इ अनुदानमा लिन उपयोग गरिने सम्झौता भएको थियो । भने वाँकी ३ अर्व ७२ करोड ८० लाख रुपैयाँमा एउटा एमए ६० र तीनवटा वाई १२ इ जहाज ऋणमा खरिद गर्ने गरी ४ वर्ष अगाडी नेपाल सरकार र चीन सरकारबीच सम्झौता भएको थियो ।


पुष्प दुलाल