सामसुङ र एप्पलको मुद्दा पाँच वर्षपछि पुनः बल्झियो



दुई ठूला स्मार्टफोन उत्पादक कम्पनी सामसुङ र एप्पल पुनः अदालत गएका छन् ।

हाई इन्ड स्मार्टफोनमा चर्को प्रतिस्पर्धा गर्दै आएका विश्वका दुई ठूला स्मार्टफोन कम्पनीहरु फेरी अदालत गएपछि मुद्दाको विषयलाई लिएर पुनः चर्चा सुरु भएको छ ।

स्मार्टफोनको काम गर्ने तरिका र ढाँचाको विषयलाई लिएर भएको २०१२ को कानुनी मुद्दामा एप्पलले जितेको थियो । उक्त समयमा एप्पलले सामसुङबाट १ अर्ब डलरको क्षतिपूर्ति समेत पाएको थियो ।

सामसुङले एप्पलको स्मार्टफोनको केही पेटेन्ट उल्लंघन गरेको आरोपमा यो क्षतिपूर्ति तिराउने फैसला अदालतले गरेको थियो । तर उक्त रकम २०१५ को डिसेम्बरमा घटाइएको थियो ।

सामसुङले एप्पललाई ५४ करोड ८० लाख डलर तिर्न राजी भएको थियो । यद्यपि गत डिसेम्बरमा अमेरिकाको सर्वोच्च अदालतले २०१२ को निर्णयलाई उल्टाउने गरी आदेश जारी गर्यो । यो आदेशपछि उक्त मुद्दालाई पुन बिउताउने निर्णय जिल्ला अदालतले गर्यो ।

एप्पललाई दिइएको अघिल्लो क्षतिपूर्ति एप्पलको पेटेन्ट उल्लंघन गरी बनाइएको फोनबाट भएको कुल नाफामा आधारित थियो ।

तर, सर्वोच्च अदालतको आदेशले ढाँचाको पेटेन्ट उल्लंघनमा फोनको केही अंश मात्रै उल्लंघन भएको पुरै फोनकै नक्कल गरेको नभएको स्पष्ट पारेको थियो ।

उक्त निर्णयपछि अमेरिकी जिल्ला अदालतका न्यायधीश लकी कोहले उक्त मुद्दाको पुनः सुनुवाई हुनसक्ने बताए । यसको अर्थ एप्पललाई सुरुमा उपलव्ध गराइएको क्षतिपूर्तिलाई थप कम गर्न सक्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु