कात्तिक १२ देखि काठमाडौं र पोखरामा स्मार्ट टेलिकमको फोरजी




काठमाडौं । स्मार्ट टेलिकमले कात्तिक १२ गतेदेखि फोरजी मोबाइल सेवा संचालन गर्ने भएकोछ । कम्पनीले पहिलो चरणमा काठमाडौं उपत्यका र पोखरा क्षेत्रबाट फोरजी मोबाइल फोन सेवा शुरु गर्न लागेको हो ।

कम्पनीका प्रमुख प्रशासकीय अधिकृत सजिन राजभण्डारीले पहिलो चरणमा काठमाडौं उपत्यका र पोखराबाट सेवा शुरु गर्न लागेको जानकारी दिए ।

‘हामी १२ गतेदेखि फोरजी मोबाइल सेवा शुरु गर्दैछौं, त्यसपछि थप बिस्तार गर्नेछौं,’ राजभण्डारीले क्लिकमाण्डूसँग भने ।

उनकाअनुसार उपत्यकामा मात्रै कम्पनीले १५० वटा बिटिएस टावरबाट सेवा संचालन गर्नेछ भने थप ८० वटा टावर राख्ने काम भईरहेको छ ।

त्यसैगरी, अन्य स्थानहरुमा पनि फोरजी मोबाइल सेवा संचालन गर्ने तयारीमा रहेको उनले जानकारी दिए ।

कम्पनीले सेवा संचालनका लागि नेपाल दूरसंचार प्राधिकरणलाई जानकारी गराएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।

‘प्राधिकरणलाई सेवा शुरु गर्नुभन्दा एक साता अघि जानकारी मात्र गराउने प्रावधान रहेको र कम्पनीले सोहीअनुसार सेवा संचालनको जानकारी गराएको छ,’ प्रवक्ता अर्यालले क्लिकमाण्डूसँग भने ।

प्राधिकरणका अनुसार स्मार्ट टेलिकमले फोरजी सेवा संचालन गर्न सम्पूर्ण राजस्व रकम बुझाएको हुनुपर्ने र प्राधिकरणका निर्देशन तथा सेवाका सर्तहरु पालना गर्नुपर्ने हुन्छ ।

कम्पनीले गत आर्थिक वर्षसम्मको रेभेन्यू फि, रोयल्टी र ग्रामीण दूरसंचार कोषका लागि तिर्नुपर्ने रकम तिरिसकेको छ । तर प्राधिकरणको फ्रिक्वेन्सी शाखाकाअनुसार भने कम्पनीले अझै फ्रिक्वेन्सी बापतको केहि रकम बुझाउन बाँकी रहेको छ ।

‘कम्पनीले तिर्नुपर्ने फ्रिक्वेन्सी दस्तुरको १६ करोड रुपैयाँ तिरेको छ तर त्यसको थप दस्तुर बापतको १ करोड रुपैयाँ तिरेको छैन, हामीले यसको लागि चिठी पठाएका छौं,’ प्राधिकरणका सम्बन्धित अधिकारीले भने ।

स्मार्ट टेलिकमले फोरजी सेवा संचालन गर्नका लागि १८०० मेगाहर्ज ब्याण्डमा १२ मेगाहर्ज फ्रिक्वेन्सी लिएको प्राधिकरणले जानकारी दिएको छ, जसमा प्रविधि तथस्टताको आधारमा फोरजी सेवा संचालन गर्नेछ । फोरजी सेवा संचालनको लागि कम्तिमा ५ मेगाहर्ज आवश्यक पर्दछ ।

कम्पनीले हाल सेवा संचालनका लागि काठमाडौं उपत्यकासहित मुलुकभर करिब साढे ३ सय बिटिएस टावर स्थापना गरिसकेको छ ।

कम्पनीको वेबसाइटका अनुसार हाल १३ लाख ग्राहकहरुले सेवा लिईरहेका छन् । सन् २००८ मा स्थापना भएको कम्पनीले सन् २०१० देखि जिएसएम मोबाइल सेवा संचालन गरिरहेको छ । कम्पनीले ३४ जिल्लाहरुमा सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।

स्मार्ट टेलिकमले सन् २०१३ अप्रिलमा यूनिफाईड लाइसेन्स अर्थात एकिकृत दूरसंचार अनुमति पत्र प्राप्त गरेको थियो । स्मार्ट टेलिकमलाई गत साउन १५ गतेदेखि नै फोरजी सेवा संचालन गर्न सक्नेगरी प्राधिकरणले अनुमति प्रदान गरेको थियो ।

यसअघि नै नेपाल टेलिकम र एनसेलले फोरजी सेवा संचालन गरिसकेका छन् । अब स्मार्टले यस्तो सेवा गरेमा नेपालमा तीनवटा मोवाइल सेवा प्रदायकले फोरजी सेवा संचालन गर्नेछन् ।


क्लिकमान्डु